site stats
बाह्रखरी :: Baahrakhari
देश
नवनियुक्त प्रधानसेनापति सिग्देलले सम्हाले कार्यभार

काठमाडौं । कायममुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देल नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका छन् ।

प्रधानसेनापतिबाट प्रभुराम शर्माले सोमबारबाट अवकाश पाएपछि सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानसेनापति नियुक्त गरेका हुन् ।

Argakhachi Cement Island Ad

राष्ट्रपति पौडलले शीतलनिवासमा विशेष कार्यक्रमको आयोजना गरी कायममुकायम प्रधासेनापति रथी सिग्देललाई प्रधानसेनापति (महारथी) दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले सोमबार नै नवनियुक्त प्रधानसेनापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधान तथा अर्थमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपाली सेनाका रथी लगायतको उपस्थिति थियो ।

मन्त्रिपरिषद् बैठकले सिग्देललाई महारथी दर्जामा बढुवा गरी प्रधानसेनापतिमा नियुक्त गर्न गरेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम सोमबार महारथीको दर्ज्यानी चिह्न प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

सैनिक परम्पराअनुसार नवनियुक्त प्रधानसेनापति सिग्देललाई सोमबार जंगीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै जंगी अड्डामा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हालेका छन् ।

२०२३ माघ १९ गते रुपन्देही जिल्लामा जन्मेका प्रधानसेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । २०८१ साउन २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्