धर्मशास्त्रअनुसार भाद्र शुक्लपक्षको पञ्चमी तिथिको दिन सप्तऋषि काश्यप, भारद्वाज, अत्रि, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र उनकी पत्नी अरुन्धतिको पूजा आराधना गरिन्छ। यो पूजा मासिक धर्म अर्थात् रजस्वला सुरु भइसकेका महिलाले गर्छन् । ऋषि पञ्चमीको दिनलाई रजस्वलाको चौथो दिनको रूपमा लिने गरिन्छ। त्यसदिन बिहान सबेरै उठेर दतिउनले दाँत माझ्ने र ३६५ ओटा भेट्नासहितका दतिउनका डाँठ, तुलसीको मठको माटो, गाईको गोबर र खरानीले नजिकैको तालतलैया वा खोलानालामा ३६५ पटक डुबुल्कि मार्दै स्नान गर्ने चलन छ । चिट्टिक्क परेर ऋषेश्वर मन्दिरमा गई कुशको प्रतिमा बनाई सप्तऋषि र अरुन्धतिको पूजा गर्ने गरिन्छ।
रजस्वला हुँदा झुक्किएर कुनै पनि कीराफट्यांग्रा, बोटबिरुवा, पुरुष या कुनै प्राणी विशेषलाई छोएर पापको भागीदार भइयो भने त्यसको निवारणका लागि ऋषि पञ्चमीको दिन व्रत बसी पूजा गर्नाले पाप मुक्त पाइन्छ भन्ने किंबदन्ति छ । शास्त्रको ठेक्का लिएकापण्डितहरू भन्छन् - ३६५ चोटि दतिउन, माटो र खरानी शरीरमा दली नदीमा चोपलिएमा रजस्वलाको छाइछुइको पापबाट मुक्ति पाइन्छ । छुँदा कसरी पाप लाग्छ र दतिउन दाँतमा घोटेर कसरी निवारण हुन्छ भन्ने प्रश्न गरे अपत्यारिला किंवदन्तिका आधारमा उत्तर दिन्छन् । के साँच्चै नै त्यत्रा विद्वान् ऋषिहरुले नै रजस्वलाजस्तो नियमित जैविक चक्रलाई पापको दर्जा दिएकै हुन् त ?
संसारको हाम्रो भेगतिर भरखर मासिक धर्म सुरु भएकी किशोरीहरूलाई काहीँ १२ दिन त काहीँ २२ दिनसम्म सूर्यको किरण पनि पस्न नपाउने एउटा बन्द कोठामा राखिन्छ । उसलाई त्यो बन्द कोठामा राखेर बाहिर जान, आफ्नै बुवा र दाजुभाइलगायत कुनै पनि पुरुषलाई हेर्नसम्म नपाउने गरी लुकाइन्छ । के यो चलनको नाममा किशोरीलाई दिइएको यातना होइन ?
सुदुरपश्चिमको छाउपडी प्रथा त झन् दुनियामै बदनाम छ ।
‘छाउपडी’ भनेको घरभन्दा अलि पर रजस्वला र सुत्केरी भएकी महिलालाई राख्न बनाइएको सानो झुपडी हो । महिला अविवाहित भए सात दिन र विवाहित भए पाँच दिनसम्म त्यै झुपडीमा रात दिन गुजार्नुपर्छ। ती पाँच र सात दिन धारा कुवा, इनार, पुरुष, बोटबिरुवा अन्य केही छुन पाइँदैन । केही ठाउँमा त खानेकुरामा पनि दूधजन्य पदार्थ, माछामासु, फलफूल जस्ता पोसिला खानाबाट वञ्चित गराइन्छ।
छाउपडीमा बसिरहेकी महिलाको कहिले सर्पको टोकाइबाट, कहिले बाघले झम्टेर, कहिले निस्सासिएर मृत्यु भएको र कहिले कुनै नरपशुद्वारा बलात्कृत भएको समाचार बेलाबखत सुन्दै र पढ्दै आइरहेका छौँ । विसं २०७५ सालमा धेरै महिलाको अकालमै निधन भयो र शारीरिक दुर्व्यवहार बढ्यो भनेर गृह मन्त्रालयले छाउपडी प्रथालाई अपराध भनेर घोषणा पनि गरेको थियो। सुदूरपश्चिम र कर्णालीका दस हजारभन्दा बढी छाउगोठहरू भत्काउन पनि लगाएको थियो । तर, जति जति दिन ढल्दै गए, साता महिनामा परिणत हुन नपाउँदै कसैले त्रिपालको गोठ बनाउन थाले त कसैले त्यही भत्केको गोठलाई पुनःनिर्माण गर्न थाले । कथा र व्यथा फेरि दोहोरिन थाल्यो । गत असार महिनाको चार गते अछामको पञ्चदेवल विनायक नगरपालिकाकी सोह्र वर्षीया किशोरी छाउगोठ बस्दा बलात्कृत भएकी थिइन्। भोलिपल्ट बिहान अचेत अवस्थामा जिल्ला प्रहरीले उनको उद्वार गरेको थियो । उक्त घटनापश्चात् समिति गठन पनि गरिएको थियो ।
हुन त सर्वोच्च अदालतले विसं २०६२ सालमा छाउपडी प्रथालाई कुप्रथा घोषित गर्दै निर्देशात्मक आदेश पनि जारी गरेको थियो । त्यसपछि बालबालिका तथा महिला मन्त्रालयले छाउपडी उन्मूलनका लागि छाउपडी उन्मुलन निर्देशिका, २०६४ जारी गरेको थियो। जसमा सचेतना फैलाउने र उक्त कुप्रथाको अन्त्य गर्ने व्यक्ति, परिवार समुदाय जो कोहीलाई पनि उचित सम्मान गर्ने लेखिएको थियो । तर समाजमा सम्मानको आशाभन्दा पनि पापको डर धेरै भएर होला यो नीति खासै फलदायी हुन सकेन ।
मुलुकी ऐन (अपराध संहिता) २०७४ ले छाउपडी प्रथालाई गैरकानुनी घोषणा गरी आपराधिक कसुर मानेको छ ।
ऐनको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरी अवस्थामा छाउगोठमा राखिएको र छुवाछुतको भेदभाव गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई तीन महिनासम्म कारावास र तीन हजार रूपियाँ जरिवाना या दुवै सजाय हुने लेखिएको छ । सुरुसुरुमा त केही सम्बन्धित व्यक्तिले सजाय पनि पाएकै हुन् । तर कानुनभन्दा पहुँच ठूलो भएको देशमा त्यस्ता दफा र उपदफा कानुनका पानाबाट धेरै पल्टिन पाएनन् ।
बेलाबखत समिति बनेकै हो, नारा पनि घन्केकै हो र छाउगोठ पनि भत्केकै हो तर छाउपडीजस्तो कुरीतिले मानिसहरूको मस्तिष्कमा नै गहिरो जरा गाडेको हुनाले छाउगोठको जग भत्काउँदा पनि खासै केही परिवर्तन देखिएन ।
धर्म, संस्कृति वा चलिआएको चलन भनेर कुप्रथाका पक्षमा पापको डर देखाउनु पक्कै गलत हो । अब रोकिनुपर्छ ।