हामी फिदिम जान गुडेका थियौँ । दुई हजार सन्ताउन्न साल जेठ दश गतेको बिहानीको समय थियो । यता हामी आइपुग्दा फिक्कल सिमसिमे पानीमा मस्त रुझ्दै थियो ।
त्यसको तीन दिनपछि फर्केर आइपुग्दा पनि फिक्कल रुझेकै देखियो । सडक, छाना र बजारमा हल्लिरहेका कुकुरहरू भिजेका देखिन्थे । त्यस दिन पनि फिक्कल भरबिहान झरीले रुझेको रहेछ ।
हामी आइपुग्दाको अपराह्नको बेला पानी थामिइसकेको थियो । घरका छानाबाट झरीको शेष पानी बलेसीमा अझै तप्कँदै थियो । चियाको तलतलले पेलिएका हामी एउटा टिनछाप्रे होटलमा च्याउन पुगेका थियौँ ।
‘खुब पानी परेको थियो कि क्या हो बैनी ?,’ चिया होटलकी साहुनीसँग मेरो प्रश्न थियो ।
‘भर्खर हो घाम लागेको, बिनपुरी झरी थियो ।’
होटल सामुन्ने नै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय देखियो । विश्वम्भर दाइलाई पारि देखिएको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयतिर संकेत गर्दै मैले भनेको थिएँ, ‘ल दाइ, आज यैँ बसौँ । म बैंकको मैनेजरलाई भेटेर गेस्टरुम छ कि छैन सोध्छु । भए पनि नभए पनि म स्टाफको नाताले एक रात सुत्ने पाहुना त लाग्न सकिन्छ नै ।’
मेरो आधा प्रस्ताव स्वीकार्दै विश्वम्भर दाइले भन्नुभयो, ‘हैन, गणेश रसिकजीको घर पनि यतै छ । यदि उनी यतै छन् भने उनैकाँ बसौँला के भो र ?’
फिक्कल घुम्न उत्सुक मैले भनिहालेँ, ‘यो पनि ठिक हुन्छ ।’
तर, रसिकजी हुनुहुन्छ कि हुनु हुन्न ? हाम्रो संवादमा यो प्रश्न आयो । यसको जवाफ सहज पाउन मैले साहुनीसँग सोधेँ, ‘बैनी, तपाईं गणेश रसिकलाई चिन्नुहुन्छ ?’
‘ख्वै, मलाई त ख्याल भएन पो ।’
साहुनीको यस्तो जवाफ सुनेर विश्वम्भर दाइले आफ्नो ठट्टा मिसाउँदै भन्नुभयो, ‘रातो भाले क्वायाँ क्वायाँ सुत्केरीलाई ख्वायाँ... गाउने गायक के ! रेडियोमा सुन्या छैन ?’
‘ख्वै, सुनेको त होला, अलि हेक्का भएन पो । ऊ त्यता सोध्नोस् न ।’ पत्रपत्रिका झुन्डिएको पारिपट्टिको एउटा पसल देखाउँदै तिनले यस्तो सुझाइन् ।
चियाको पैसा तिरेर हामी त्यतै पारि लाग्यौँ । तिनले सुझाएको पसलको थाप्लोमा टिनको पाटोमा लेखिएको देखियो– मनकामना स्टेशनरी ।
मैले पसलको साहु केटोसँग सोधेँ, ‘ए भाइ, तपाईंलाई गणेश रसिकजीको घर यता कता हो थाहा होला ?’
‘अल्लि अगाडि त उहाँ यतै बजारमा देखिनुभएको थियो । यहाँ अखबार पनि हेर्न आउनुभएको थियो, सायद अहिले घर गइसक्नुभयो होला । यसो गर्नोस्, तपाईंहरूको मोटर रँदै रेछ, यताड तल्लो पिचरोड जानोस् । जाँदाजाँदै बरबोट अलि पर गएर सोध्नोस्, जसले पनि भनिदिन्छ ।’
यो सुझाव सुनेपछि हामी कारमा पशुपतिनगरको बाटो गुड्न थाल्यौँ । दुईतीन ठाउँमा चालक भाइ तपेन्द्रलाई कार रोक्न लगाउँदै पैदल हिँडदै गरेकाहरूसँग सोध्दैसोध्दै हामी एउटा छाप्रे पसलअगाडि अडियौँ ।
नाकमा बडे ढुंग्र्रेफुली लगाएकी पसल्नी महिलासँग मैले मोटरको झ्यालबाट टाउको बाहिर पारेर सोधेँ, ‘ए बैनी, यता गणेश रसिकको घर कता पर्यो ?’
हामी अलि अगाडि बढिसकेका रहेछौँ । पछिल्तिरको दाहिने कच्ची ओरालो बाटो देखाउँदै उनले भनिन्, ‘तेताड सिधा ओर्लंदै जानुभयो भने एउटा राम्रो, एक्लो घर देखिन्छ, त्यही नै उहाँको घर हो ।’
यै कुरो पछ्याउँदै हामी माथि नै कार साइडमा रोकेर तलको कच्चीबाटो ओर्लंदै रसिकजीको घरको दैलोमा पुग्यौँ । रसिकजी घरभित्र नै हुनुहुँदो रहेछ ।
आफ्नो नवजात चिया बगानको सुरुको पाटोमा रसिकजीले रिसोर्ट कदकाठीको सुविधाको च्यान्टे सुन्दर बंगला बनाउनुभएको रहेछ । बिनासूचना अचानक हामीलाई देख्दा रसिकजीको अनुहार छक पर्यो । साथमा खुसीका चमक पनि प्रकट भएका थिए ।
यस्तै भावमा रसिकजीले सोध्नुभयो, ‘ओहो, कताबाट हो ?’
मैले ठट्टामा भनेँ, ‘बास माग्न आएको ।’
कुनै समय साझाको अध्यक्ष तथा महाप्रबन्धक भइसकेका रसिकजीलाई हामीले त्यस प्रकाशनको इलाम तथा फिदिम शाखा हेर्दै आएको र अहिले तपाईंलाई नै भेट्न आएको भन्ने यथार्थ सुनायौँ ।
हाम्रो यो भनाइले रसिकजीको अनुहारमा हर्ष र स्वागतका भाव सम्प्रेषण एकसाथ प्रकट भएका थिए । रसिकजीको यो अनुहार पढेर हामीलाई पनि रसिकजीलाई यसरी भेट्न गएको एकदम ठिक गरिएछ भन्ने लाग्यो ।
रसिकजीको रम्फोकस्थित बंगला शान्त र रम्य पहाडी प्रकृतिबीच बनेको छ । घरभित्र पस्नेबित्तिकै परिष्कारपूर्ण सजावटको रूप पाएको बैठकको आनन्द पाइन्छ ।
बैठकको दायाँ उत्तरपट्टि ट्वाइलेट–बाथरुम छ । पश्चिमपट्टि यसो ओर्लन पर्ने उत्तरदक्षिण सोतो परेको भान्छाकोठा छ । लिस्नो चढेर माथ्लो तला जानुपर्छ । त्यसमा सानो मटान र शयनकक्ष छ ।
बैठकको ठिक देब्रे दक्षिणपट्टि लेखपढ गर्ने ठिकैको कोठा रेछ । बस्, यति भौतिक सुविधा भएको बंगलाभित्र शान्तिको सुव्यवस्थित सुविधा प्रशस्त देखियो । त्यस सुविधालाई एकान्त कुटीको जोगीले झैँ एक्लै भोग्दै लगभग सवा सय रोपनी पाखोमा तयार पारिएको आफ्नो नवजात चिया बगानको हेरचाहमा रसिकजीले दिन बिताउने गर्नुभएको रहेछ ।
हामी फेरि फिक्कल घुम्ने निधो गरेर निस्क्यौँ । पाहुनाको सत्कारको लागि जो पनि श्रद्धा प्रकट गर्दै पथप्रदर्शक बन्छ नै । त्यस बेला रसिकजी पनि हामीलाई फिक्कल घुमाउने रसिलो पथप्रदर्शक हुनुभएको थियो ।
रसिकजीले हालको फिक्कलको नयाँ बाटो मास्तिरको पुरानो बजार उकाल्नुभयो । कुनै समय मनग्गे व्यस्त रहने त्यस उजाड बजारका धेरै व्यापारिक खापाहरू सदाका लागि बन्द भइसकेका रहेछन् ।
चल्तापुर्जा हुँदाको सुखद स्मृति बोकेर उदास देखिएको माथ्लो फिक्कलको यो पुरानो बजार एकतमासको च्याउँतिलो देखिइरहेको थियो । दायाँबायाँ घर र बीचमा साँघुरो ढुंगे बाटो हुँदै हामी त्यस सुकेको पुरानो बजारको उदासी महसुस गर्दै माथि सिरानमा भएको हाइस्कुलको चउरसम्म पुग्यौँ ।
सवा पाँच बजेको हुँदो हो । आकाश फेरि बादलले ढाकिँदै थियो । समय र वातावरणको रूपरङ फेरिँदै थियो । हामी चउरको छेउतिरको एक ढिस्कोमा बस्यौँ ।
रसिकजी हामीलाई नजिक र टाढाका विशेष महत्त्वका स्थान औँल्याउँदै देखाउन थाल्नुभयो । दक्षिण–पूर्वतिर देखाउँदै रसिकजी भन्दै हुनुहुन्थ्यो, ‘ऊ त्यता मिरिक पर्छ । त्यसको धेरै वर यता हाम्रै पशुपतिनगर हो ।’
त्यताको बखानपछि रसिकजीले पश्चिमपट्टिको निकै परको डाँडाका दुई जोडी रुख देखाउँदै जिउ सिरिङ्ङ पार्ने खबर भन्नुभयो, ‘ती वरपिपलका बोट हुन्, देख्नुभयो ? हो, त्यहीँनिर पर्छ सामन्त चन्द्रकान्त भट्टराईको घर, तिनलाई माओवादीले यसपालि नराम्रोसँग काटेर मारे ।’
फिक्कलको त्यस सिरानमा हामीले साहित्य, राजनीति, प्रकाशन त्यसमा पनि विशेष गरी साझा प्रकाशनबारे र त्यताको आह्लादक प्रकृतिको खिच्रिमिच्री गफ गरेर तीस–चालिस मिनेट बितायौँ ।
फर्कंदा रसिकजीले हामीलाई अर्को बाटो भएर स्थानीय पुस्तक व्यापारी प्रभाकर प्रधानको घर हुँदै राजमार्गमा बसेको नयाँ बजार ओराल्नुभयो । हाम्रो खातिरदारीको लागि दुईतीन पसल डुल्दै ब्वाइलर कुखुराको एक किलो मासु, दुई बोतल सानमिगेल बियर, एक हाफ म्याकडोयल्स ह्विस्की र कट्याककुटुक किनमेल गर्नुभयो ।
किनमेलको राखनधरन गरेपछि रसिकजीले फेरि हामीलाई आफ्नो माछापोखरी र चिया बगान देखाउन तलमाथिका पाटाहरूमा लैजानुभयो । बदलीले छेकिरहेको साँझको उदास उज्यालो छउन्जेल रसिकजीले आफ्ना नवजात चिया बगानका सम्पूर्ण भिराले पाटा घुमाउनुभयो ।
चिया बगानको आर्थिक महत्त्व, त्यसबाट प्राप्त हुने आनन्द र प्रेरणाबारे सुनाउँदै रसिकजीले छ भने केही रकम यस क्षेत्रमा लगानी गर्ने सल्लाह दिँदै हामीलाई घुमाइरहनुभएको थियो । हामी मुन्टो हल्लाइरहेका थियौँ ।
साँझको बक्यौता उज्यालो पनि अँध्यारोमा चुर्लुम्मै डुबेपछि हामी घरभित्र पस्यौँ । हामी लुगा फेरफार गरेर हातखुट्टा धुने तरखरमा लाग्यौँ ।
‘पहिले तपाईंहरूलाई स्न्याक तयार पारिदिऊँ’ भन्दै रसिकजी भान्छातिर झर्नुभयो ।
बाथरुमबाट बाहिर निस्केपछि मैले भान्छातिर च्याउँदै ग्यासचुलोमा लाइटर झोस्न लाग्नुभएका रसिकजीलाई भनेँ, ‘सघाउन ओर्लौँ कि क्या हो !’
‘हैन हैन, तपाईंहरू आराम गर्नोस् पाहुनाझैँ । म स्न्याक पाटपुट पार्छु अनि तपाईंहरू...।’
यस्तो भनेर रसिकजीले मलाई भान्छामा ओर्लन रोक्नुभयो ।
‘लौ त’ भन्दै म फेरि बैठकतिर लागेँ ।
बैठकको चकटीमा बसेर हामी रसिकजीको जाँगर, स्वाभिमान, गीत, गायन, बंगला र बैठकबारे समीक्षा र तारिफ गर्न लाग्यौँ । यसैबीच, बैठकमै बसेर विश्वम्भर दाइले भन्नुभएको थियो, ‘ए रसिकजी, तपाईंलाई दुःख भयो है !’
रसिकजीले भान्छाबाटै भन्नुभएको थियो, ‘हैन हैन, केही दुःख छैन । यस्तो मौका म पनि त पाउँदिनँ फेरि ।’
फेरि विश्वम्भर दाइले ढोकानेर थपक्क बसिरहेको हाम्रो यात्राको सारथि साझाको ड्राइभर तपेन्द्र थापालाई भन्नुभयो, ‘ए तपेन्द्र, जा जा रसिकजीलाई सघाइ दे त !’
‘हस सर’ भन्दै तपेन्द्र जुरुक्क उठेर भान्छातिर लाग्यो पनि । तर, रसिकजीले उसलाई पनि फिर्ता पठाइदिनुभयो ।
भान्छाभित्र पसेको करिब आधा घण्टापछि रसिकजी बैठकमा आउनुभयो । रसिकजीको हातमा ढलोटको थाल थियो । र, बाफ मास्तिर उडिरहेको कुखुराको भुटेको तात्तातो मासु पनि ।
हाम्राअगाडि स्न्याक भरिएको त्यो थाल राख्दै रसिकजीले भन्नुभयो, ‘लौ सुरु गर्नुहोस् ! तेतिन्जेलमा म भात पकाइसक्छु । बरु, गुन्द्रुकभात खाऔँ कसो ?’
‘ओहो, गजब हुन्छ ! एकदम ठिक ।’
हाम्रो यो जवाफ सुनेर रसिकजीको मुद्रा आश्वस्त देखियो । यस मुद्रामा ढुक्कले भान्छातिर फर्कन लाग्दै गर्दा मैले रसिकजीलाई हत्तपत्त भनेँ, ‘हैन, तपाईं पनि आउनुस् न ।’
‘तपाईंहरू सुरु गर्नुस्, म आउँछु ।’ यो भन्दै रसिकजी भान्छामा झर्नुभयो । प्रतिक्रियामा विश्वम्भर दाइले भन्नुभयो, ‘यो त भएन नि !’
भान्छैबाट रसिकजीले भन्नुभयो, ‘हैन हैन, तपाईंहरू सुरु गर्नुस्, म आउँछु ।’
गिलास, पानीको मग, म्याकडोयल्स ह्विस्की र बियरको बोतलले हामीलाई पर्खिरहेका थिए ।
तर, हामीले तिनलाई खोल्न थालेनौँ । भान्छामा रसिकजी तेलमा भटमास भुट्न थाल्नुभयो । त्यसपछि एकछिन बास्ना चलाउँदै गुन्द्रुक भुट्नुभयो । रसिकजीका यी सब क्रियाकलाप हामी बैठकमै बसेर जान्दै थियौँ । बुझ्दै थियौँ ।
रसिकजीले कराइको गुन्द्रुक भटमासमाथि झ्वाईं पार्दै पानी हालेको पनि सुन्यौँ । केही बेर ती काममा अलमलिएर हल्का हुँदै रसिकजी फेरि भान्छाको खबर लिएर हामीतिर आउनुभयो । र, भन्नुभयो, ‘ल, राइसकुकर पनि अन गरेँ, गुन्द्रुक पनि ग्यास सानो गरेर चुलोमा उम्लन छोडेको छु । तपाईंहरूले सिध्याउँदा सब तयार हुन्छ ।’
तर, रसिकजीले त्यसरी भनेअनुसार सिध्याउन हामीले सुरु नै गरेका थिएनौँ । बोतलहरू नखोलिएको, गिलासहरू रित्तै रहेको र हामीलाई मौनव्रत साधिरहेको देखेर रसिकजीले भन्नुभयो, ‘ल, तपाईंहरू त क्या हो !’
मैले म्याकडोयल्स र बियरका बोतलतिर इसारा गर्दै भनेँ, ‘तपाईंलाई नै कुरेको ।’
‘हैन, म त लिन्नँ नि यो ।’
‘किन ?’
‘धेरै भयो छोडेको । फेरि, मलाई यसले निको पनि गर्दैन । उहिले पनि म धेरै खाने होइन ।’
रसिकजीले यसो भनेपछि जोड गर्ने, कर गर्ने अशिष्ट काम गर्ने कुरै थिएन । त्यसकारण हामी आ–आफ्नो छनोटको बोतल खोल्न थाल्यौँ । विश्वम्भर दाइले आफ्नो च्वाइसको बियरको बोतल खोल्नुभयो । मैले म्याकडोयल्सको बोतल खोलेँ । रसिकजीले कुखुराको स्न्याकमा हामीलाई साथ दिन थाल्नुभयो ।
हाफ बोतलको आधा ह्विस्की पेटमा ओराल्ने मौका पाएपछि म अलि आनन्दित हुन थालेँ । अनि, बाँकी हाफमध्येको केही ह्विस्की गिलासमा खन्याउँदै मैले रसिकजीलाई भनेँ, ‘तपाईंलाई मन पर्ने आफ्ना गीतमध्ये एकाध गाउनुस् न, सुनौँ ।’
तर, रसिकजीले बुझ्न नसकिने किसिमले अप्ठेरो मान्नुभयो । र, विस्तारै भन्नुभयो, ‘धेरै भयो नगाएको, त्यसको लागि अलि तयार हुनैपर्छ । बरु, छिट्टै म स्टेज शोमा – त्यसका लागि काठमाडौंमा भाइहरू तयारी गर्दै हुनुहुन्छ ।’
बरु, रसिकजीले आफ्ना जीवनका र गीतसंगीतमा आफ्नो प्रवेशबारेका पुराना कुरा सुनाउन थाल्नुभयो । यसक्रममा भोजपुरदेखि फिक्कलसम्म बस्न आइपुग्नाका आफ्ना गाथा, उपगाथाहरू सुनाउनुभयो ।
रसिकजीको सुखदुःखका अतीत गाथा सुन्दै मैले बोतलमा बाँकी ह्विस्की पनि रित्याएँ । विश्वम्भर दाइले पनि सज्जनताका साथ बियरको बोतल रित्याइसक्नुभएछ ।
सवा नौ बजिसकेको थियो । बाहिर निष्पट अँध्यारोमा बर्सात किराहरू गुन्जिन थालेका थिए ।
हाम्रा बोतल र प्लेट टकटकिएको देखेपछि रसिकजीले भन्नुभयो, ‘अब खाना खाऊँ कि कसो ?’
बाँकी बोतलको सम्भावना नहुने भएपछि मैले भनेँ, ‘हुन्छ ।’
रसिकजी भान्छातिर लाग्नुभयो ।
एकछिनपछि रसिकजी दुवै हातले अँठ्याएर एकएकवटा थाल बोकेर आउनुभयो । र, क्रमशः हाम्रो अगाडि राखेर जानुभयो । फेरि त्यही शैलीमा दुईवटा थाल ल्याउनुभयो । एउटा थाल अलि छुट्टै बसेको तपेन्द्रको अगाडि राखिदिनुभयो । र, अर्को थाल लिएर हामी अगाडि आएर बस्नुभयो र भन्नुभयो, ‘ल, सुरु गरौँ गुन्द्रुकभात ।’
थालको भातमाथि भटमास, गुन्द्रुक र स्न्याकबापत भुटेका कुखुराका बाँकी चौटा छन् । त्यसपछि थालको भातको डिलमुनि गुन्द्रुकको झोलको लोभलाग्दो आकर्षण छ ।
फेरि रसिकजीले भन्नुभयो, ‘मैले त सबथोक एकै ठाउँमा राखेर यसरी ल्याएँ ।’
‘यै त मजा,’ मैले भनेँ ।
हामी रसिकजीको पाककलाले तिक्खर बनेको गुन्द्रुकको झोलसँग पटापट भात खान थाल्यौँ । दुईचार गाँस निलेपछि रसिकजीले भन्नुभयो, ‘ख्वै, मिठोसिठो के भो ?’
विश्वम्भर दाइले भन्नुभयो, ‘एकदम काइदाको भयो ।’
खाइसकेपछि त मेरो शरीरमा गुन्द्रुकको झोल र ह्विस्कीको ककटेलको मजा झन् चढ्न थाल्यो । त्यही तालमा मैले फेरि रसिकजीलाई भनेँ, ‘हैन, मजा आएन, केही त गाउनैपर्यो ।’
‘बरु मुक्तक सुनौँ’ भन्दै रसिकजी चोटामा चढ्नुभयो र मखैलो डायरी लिएर ओर्लनुभयो । अनि, पलेटी कसेर त्यसबाट दशआठ केही मिठा, केही ठिकठाकका मुक्तक सुनाउनुभयो ।
हाम्रा प्रतिक्रियाहरू पनि त्यही किसिमका मिश्रित थिए । रातको तेस्रो प्रहरसम्म हामी नेपाली साहित्य र लोकसंगीत, गीतका एक तारा रसिकजीका रसिला कुरा सुन्दै, लट्ठिँदै प्रेमवत् गफ्फिरह्यौँ ।
(रचनाकाल – २०५७)