काठमाडौं । केही समययताका चलचित्र हेर्ने हो भने एउटैमा दुई वा सोभन्दा धेरै स्टार कलाकार अनुबन्ध भएको पाइन्छ । केही समयअगाडि रिलिज गरिएको चलचित्र ‘पुजार सार्की’मा प्रदीप खड्का, पल शाह र आर्यन सिक्देल थिए ।
हाल छायांकनमा रहेको चलचित्र ‘पिताम्बर’मा सौगात मल्ल, प्रदीप खड्का, दयाहाङ राई, आँचल शर्मा, सुरक्षा पन्तलगायत कलाकार छन् ।
छायांकनमै रहेको अर्को चलचित्र ‘के घर के डेरा : घर नम्बर–२’ मा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरीलगायत कलाकारले अभिनय गरिरहेका छन् ।
यी त भए केही उदाहरण, यस्ता थुप्रै चलचित्र छन् – जसमा मल्टिस्टार छन् । अथवा, दुईभन्दा धेरै कलाकार एउटै चलचित्रमा छन् । निर्देशक मनोज पण्डित सिनेमामा मल्टिस्टार राख्नुको मुख्य कारण कलाकारको स्टारडमले चलचित्र चल्छ भन्ने लोभ भएको टिप्पणी गर्छन् ।
“अहिले हेर्ने हो भने कतिपय निर्माता तथा निर्देशकले आफ्नो चलचित्रमा मल्टिस्टार राख्न खोजेको देखिन्छ । यसका पछाडिको मुख्य कारण स्टारडम नै हो,” उनी भन्छन्, “स्टार कलाकारका कारण चलचित्र चल्छ भनेर नै हो ।”
विशेष गरी निर्मातामा स्टारडम भएका कलाकारको ठूलो फ्यान फलोइङ हुन्छ र उनीहरू सिनेमा हेर्न आइदिए चल्छ भन्ने बुझाइ रहेको मनोज बताउँछन् । धेरै स्टार राख्दा उनीहरूका फ्यान हलमा आए चलचित्र सफल हुन्छ भन्ने मान्यता निर्मातामा रहने गरेको उनको भनाइ छ ।
“वास्तवमा कलाकारको होइन, चलचित्रको फ्यान भइदिँदा राम्रो हुन्छ । फ्यानहरू कलाकार हेर्न जान्छन् कि चलचित्र भन्ने हो,” मनोज भन्छन्, चलचित्र क्षेत्रको विकास र कलाकार स्वयंको ग्रोथका लागि पनि व्यक्तिभन्दा सिनेमाको फ्यान हुनुपर्छ ।”
जुन देशमा सिनेमा लिट्रेसी उच्च हुन्छ र दर्शक शिक्षित हुन्छन्, त्यस्तो मुलुकमा व्यक्तिविशेषको नभई चलचित्रको फ्यान हुने गरेको उनी बताउँछन् । सिनेमा लिट्रेसी धेरै भएका देशमा मेरिटका आधारमा दर्शकले चलचित्र हेर्ने गरेको मनोज सुनाउँछन् ।
“जब मेकरले स्टारपावरमा विश्वास गर्छ, तब चलचित्रको कथा कमजोर र गन्जागोल बन्छ,” उनी अगाडि भन्छन्, “जब दुईभन्दा धेरै कलाकार एउटै सिनेमामा हुन्छन्, तब त्यो सिनेमाले कसको कथा भनेको भन्ने प्रस्ट हुँदैन ।” यसले चलचित्रलाई कमजोर बनाउने उनको बुझाइ छ ।
चलचित्रमा कथाअनुसारको क्यारेक्टर हुन्छ । चरित्र जस्तो छ त्यही सुहाउँदो कलाकार छनोट गर्ने हो । तर, चलचित्रको कथा वा चरित्र जस्तोसुकै भए पनि हाल बजारमा स्टारडम भएका कलाकार राख्ने गरिएको छ ।
कथाले ननपपुलर फेस मागे पनि दयाहाङ राई, प्रदीप खड्का, अनमोल केसी, सौगात मल्ल, विपीन कार्की नै निर्देशक तथा निर्माताको रोजाइमा पर्ने गरेका छन् । उनीहरूसँग पारिश्रमिकमा कुरा नमिले वा समय नभएमा मात्र विकल्पमा अरू कलाकारलाई अफर गर्ने गरिएको छ ।
कलाकार दीपकराज गिरी सुन पसलको बाहिर सुन वा हिराका राम्राराम्रा गहना राखेर ग्राहकलाई पसलभित्र छिर्न आकर्षण गर्न सकिने टिप्पणी गर्छन् । तर, पसलभित्र प्रवेश गरेपछि गहना गुणस्तरको नै हुनुपर्ने उनको भनाइ छ ।
गहना राम्रो नभएमा ग्राहकले खरिद गर्दैनन् । चलचित्रको हकमा पनि यही कुरा लागु हुने उनी बताउँछन् । चलचित्र आफैँमा राम्रो नभए जतिसुकै स्टार भए पनि नचल्ने उनको धारणा छ । स्टारले दर्शकलाई आकर्षण भने गर्ने उनी सुनाउँछन् ।
“स्टार भनेको पसलमा राखेको सोकेसजस्तै हो । स्टारलाई किन धेरै पेमेन्ट गर्नेभन्दा उनीहरूका चलचित्र चल्छन्, उनीहरूलाई दर्शकले माया गर्छन्,” दीपक भन्छन्, “तर, जति धेरै स्टार भए पनि अन्ततः चलचित्र नै बलियो हुनुपर्छ । नभए चलचित्र चल्दैन ।”
भारतमा रजनीकान्तको सिनेमा रिलिज हुँदा राज्यले बिदा दिने गरेको उनी उल्लेख गर्छन् । उनी प्रश्न गर्छन्– त्यही चलचित्र अर्को कुनै कलाकारलाई दिए राज्यले बिदा दिन्छ ? ‘पठान’ शाहरुख खानले नखेलेर अर्को कुनै कलाकारले गरेको भए त्यति धेरै व्यापार गर्थ्यो कि गर्दैन थियो ?
राजकुमार राव, आयुष्मान खुरानाका चलचित्र जतिसुकै राम्रो भए पनि अपबादबाहेक एउटा लेवलभन्दा माथि नचल्ने र व्यापार नगर्ने गरेको यथार्थलाई स्वीकार गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
“उनीहरूका चलचित्र र कथा जतिसुकै राम्रा भए पनि शाहरुख, सलमान खानका जस्ता चल्दैनन् । उनीहरूलाई लो बजेटका स्टार भन्छन्,” दीपक भन्छन्, “चलचित्र व्यापार हो । व्यापारमा लगानी हुन्छ । लगानीअनुसारको प्रतिफल आउँछ । हुनु पनि पर्छ ।”
व्यावसायिक होइन, त्यस्तो उद्देश्य छैन, मनैदेखि चलचित्र बनाउँछु, नाफाघाटा जेसुकै होस् भन्ने हो भने त्यहीअनुसारको सिनेमा निर्माण हुने उनको भनाइ छ । “हाम्रो कथा नै नायक हो भनेर पनि सिनेमा बनाउन सकिन्छ । तर, त्यस्ता सिनेमामा व्यावसायिक उद्देश्य राख्नु भएन । त्यसैले उद्देश्य के हो भन्ने कुरा महत्त्वपूर्ण हो,” दीपक भन्छन् ।
व्यावसायिक चलचित्रले स्टार राख्नु राम्रो भएको दीपकको तर्क छ । स्टारले दर्शकलाई आकर्षण गर्ने तथ्यलाई नकार्न नसकिने उनी स्पष्ट पार्छन् ।
स्टार जम्मा गर्ने तर भित्र गुदी गायब हुने ‘ट्रेन्ड’ देखिएको भन्न दीपक हिचकिचाउँदैनन् । “स्टार जम्मा गर्ने तर हलभित्र गएर हेर्दा माल (राम्रो कन्टेन) गायब हुने देखिएको छ । त्यसैले एकाध निर्माताबाहेक अरू सफल छैनन्,” दीपक प्रस्ट भन्छन्, “एकाध सफल हुनु सिनेमाभित्र गुदी भएरै हो ।”
यो तथ्यलाई धेरै स्वीकार भने नगर्ने गरेको उनी सुनाउँछन् । “हाम्रै चलचित्र पनि लगातार चलिरहेका छन् । कसैले स्वीकार गर्नु÷नगर्नु अलग कुरा हो, पक्कै त्यसभित्र केही राम्रो चिज भएरै चलिरहेको हो भन्ने लाग्छ,” दीपक भन्छन्, “हाम्रा मात्रै होइन, अरूका पनि केही चलचित्र चलिरहेका छन् । त्यसको कारण दुवै पक्ष भएर हो । सोकेस पनि भयो, त्यसभित्रको कन्टेन पनि राम्रो भयो । त्यसैले चले ।”
नायिका केकी अधिकारी स्टारडम र स्टारपावरले मात्र चलचित्र क्षेत्रको विकास नहुने बताउँछिन् । कन्टेनले गुणस्तर निर्धारण गर्ने र समग्र योगफलले यो क्षेत्रको विकास र विस्तारमा योगदान पु¥याउने उनी टिप्पणी गर्छिन् ।
“जहिले पनि चलचित्रमा कन्टेन नै स्टार हुनुपर्छ । र, हुन्छ पनि । कथा बग्यो भने नै जसले चरित्र निर्वाह गरेको हो, उसले न्याय गर्न सक्छ र अन्ततः स्टार बन्ने हो,” केकी भन्छिन्, “स्टारले पनि दर्शकलाई आफ्नो कामले नै जित्ने हो । स्टारको काम त्यति बेला मात्र राम्रो हुन्छ, जति बेला कन्टेन बलियो हुन्छ ।”
हिरोयिक पावर भएको व्यक्तिले सुरुका एकदुई दिन आफ्नो हार्डकोर फ्यानलाई हलसम्म ल्याउने तर त्यसपछि उसको काम र बलियो कथा नै प्रधान हुने केकीको भनाइ छ । “यसको उदाहरण नेपालमा मात्र होइन, वर्ल्डवाइड नै देखिरहेका छौँ,” उनी भन्छिन्, “जहाँ कथा बलियो छैन र स्टारको काम राम्रो छैन, त्यहाँ लामो समय हिराइजमले काम गर्दैन ।”
संसारभरका चलचित्र उद्योगमा स्टारहरूलाई एउटै सिनेमामा राखेर काम गराउने प्रयास हुने गरेको केकी बताउँछिन् । चलचित्रबाट नै स्टार जन्मिने हो । तर, सधैँ एउटै चलचित्रमा धेरै स्टार हुँदैमा राम्रो हुन्छ भन्ने नरहेको उनको बुझाइ छ ।
“धेरै स्टार हुँदा सिनेमाको ओपनिङ र इनिसियल बिजनेस राम्रो हुन्छ । कथा ठिकठाक मात्रै र काम पनि ठिकै मात्र छ भने पनि लगानी रिकभर गर्ने र फाइदामा जाने सम्भावना हुन्छ भन्ने सामान्यतः मेकरको बुझाइ हुन्छ,” उनी भन्छिन्, “यो फ्यान फलोइङ र उनीहरूको लोकप्रियता हेरेर मेकरले बजार हेरेर बनाउने गरेको धारणा हो ।”
तर, एउटै चलचित्रमा दुई वा त्योभन्दा धेरै स्टार राख्दा चलचित्र बिग्रने सम्भावनालाई नकार्न नसकिने उनी बताउँछिन् । स्टारले आफ्नो भ्यालुअनुसारको उपस्थिति खोज्दा समस्या हुन सक्ने उनको धारणा छ ।
“बजारमा आफ्नो माग र उपस्थिति, फ्यान फलोइङ हेरेर यो स्टोरीमा मेरो उपस्थिति यति हुनुपर्छ भन्ने सम्भावना हुन्छ । जति धेरै स्टार भए पनि सिनेमाको लेन्थ उही नै हो,” केकी स्पष्ट पार्छिन्, “सबैलाई समान भूमिका दिने र पु¥याउने नाममा स्क्रिप्ट लेखक, निर्माता र निर्देशक अलमलिएको हामीले धेरै देखेका छौँ ।”
यसको अलमल र गन्जागोलको दुर्घटनामा चलचित्र पर्ने गरेको उनी बताउँछिन् । निर्माता, निर्देशक र कलाकार दुर्घटनामा पर्नु भनेको समग्रमा चलचित्र उद्योग नै दलदलमा फस्नु हो भन्ने तथ्यलाई भुल्न नहुनेमा उनी जोड दिन्छिन् ।
“त्यसैले राम्रो कथा खोजेर कथाअनुसारको कास्टिङ गर्नेतर्फ लाग्नुपर्छ भन्ने हो,” उनी अगाडि थप्छिन्, “बजारमा चलेको फेस राखेर स्टोरी टेलिङ गर्दा दर्शकलाई कन्भिन्स गर्न सकिन्छ भने यसले ओपनिङमा सहयोग नै गर्छ । तर, हामीले पहिलो प्राथमिकतामा कथालाई नै राख्नुपर्छ । कथालाई स्टार मान्नुपर्छ । हामीले कथालाई स्टार मानेर काम गर्ने हो भने दर्शकमा पनि यसको प्रभाव पर्दै जान्छ ।”