site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विभागले छाप्न सकेन लाइसेन्स : वाग्मतीले ‘डिजिटल’ र कोसीले प्रिन्ट गर्दै 

काठमाडौं । यातायात व्यवस्था विभागले समयमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को व्यवस्था गर्न नसक्दा लाखौं सेवाग्राही लाइसेन्स पाउनबाट बञ्चित भएका छन् । 

विभागले अझै करिब १७ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । ‘आपत्कालीन’ कारण वा भनसुनका आधारमा कसैलाई लाइसेन्स पर्ने हुँदा विभागले करिब तीन सय कार्ड दैनिक प्रिन्ट गर्दै आएको थियो । 

स्मार्ट लाइसेन्स प्रिन्ट एवं वितरण गर्ने भनी विभागले अघि बढाएको योजना दीर्घकालीन हुन नसक्दा लाइसेन्स प्रिन्ट नहुने स्थिति बनेको हो । हाल लाइसेन्ससम्बन्धी सबै काम प्रदेश मन्त्रालयअन्तर्गत गएसँगै विभागले प्रदेशले नै लाइसेन्स प्रिन्ट गर्नुपर्ने भन्दै आएको छ । 

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार, प्रदेश सरकारहरूले लाइसेन्स छापेर वितरण गर्नुपर्छ । विभागले आवश्यक पर्दा प्राविधिक काममा सहयोग गर्नेछ ।

प्रदेश सरकारहरूले भने स्मार्ट कार्ड छाप्न विभागबाट प्राविधिक सहयोगका लागि समन्वय नभएको गुनासो गरेका छन् । सिस्टम सबै विभागकै नियन्त्रणमा हुँदा आफूहरूले स्र्माट कार्ड छाप्न नसक्ने भन्दै प्रदेश सरकारले विकल्प खोजेका छन् ।

विकल्पका रुपमा प्रदेशहरूले क्यूआरसहितको लाइसेन्स वितरण गर्नेदेखि ‘डिजिटल’ लाइसेन्सलाई नै प्राथमिकता दिने किसिमले अघि बढेका छन् । केही प्रदेश भने अझै विभागकै भरमा बसेका छन् । प्रदेशहरूको अवस्था यस्तो छ ।

वाग्मती प्रदेश

वाग्मती प्रदेशले नागरिक एपमा रहेको लाइसेन्सलाई नै मान्यता दिने किसिमले काम गरिरहेको बताएको छ । वाग्मतीका श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले नागरिक एपमा देखिने लाइसेन्ससँगै क्यूआर पनि देखिने बताए ।

उक्त क्यूआरलाई ट्राफिक प्रहरीले स्क्यान गर्दा थप विवरण दिने र त्यसैलाई मान्यता दिने उनले बताए । “स्मार्ट लाइसेन्सको सिस्टमको कन्ट्रोल विभागसँग छ । यो प्रिन्ट गर्न प्राविधिक पाटो र समन्वय झन्झटिलो छ । त्यसैले हामी नागरिक एपको डिजिटल लाइसेन्सलाई प्राथमिकता दिइरहेका छौं,” प्रदेश सचिव निरौलाले भने ।

ट्राफिक प्रहरीलाई यसका लािग स्मार्टफोन वितरण गरिने जानकारी उनले दिए । उनका अनुसार, क्यूआर डिटेक्ट गर्न ट्राफिकलाई सुरुमा ५०० वटा स्मार्टफोन दिनेगरी तयारी भइरहेको छ ।

उनले भने, ‘‘लाइसेन्सको हार्डकपी भन्दा पनि हामी सफ्ट कपीलाई भ्यालिडिटी दिएर काम गर्न खोजिरहेका छौं । यसका लागि नागरिक एप र ट्राफिक प्रहरीसँग वाग्मती प्रदेश सरकारले समन्वय गरेर काम गरिरहेको छ ।’’

यो सहज र भरपर्दाे विकल्प हुने र हार्ड कपी नै चाहियो भन्नेलाई क्यूआरसहितको लाइसेन्स दिने उनको भनाइ छ । 

स्मार्ट लाइसेन्स नभएर क्यूआरसहितको लाइसेन्स दिने र त्यो क्यूआर स्क्यान गर्दा सबै विवरण देखिने सचिव निरौलाले बताए । स्वदेशविदेश जहाँबाट पनि क्यूआर स्क्यान गर्दा लाइसेन्सको वास्तविक विवरण देखिने उनको भनाइ छ ।

कोसी प्रदेश

कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक हप्ता÷दश दिनभित्रै लाइसेन्स प्रिन्टिङ सुरु हुने जनाएको छ । मन्त्रालयका सूचना अधिकारी सुवास कार्कीले सबै तयारी पूरा भइसकेको र प्रदेशअन्तर्गतका कार्यालयले करिब दश दिनभित्रै लाइसेन्स प्रिन्टिङ सुरु गर्ने बताए ।

कोसी प्रदेशले पनि क्यूआरसहितको परीक्षणकालीन भनिएको तर अर्काे विकल्प नहुन्जेल चलाउन मिल्ने लाइसेन्स प्रिन्ट गर्न लागेको हो । “मेसिन, कार्ड सबै खरिद भइसकेको छ । शुक्रबारसम्ममा कार्यालयहरूलाई हस्तान्तरण गरेर एक हप्ता वा दशदिन भित्र प्रिन्टिङ सुरु हुन्छ,” मन्त्रालयका सूचना अधिकारी कार्कीले भने ।

कोसी प्रदेशका ८ वटा यातायात कार्यालयमध्ये ७ वटाबाट लाइसेन्स प्रिन्ट हुने उनले बताए । यसरी कोसी प्रदेशले पनि स्मार्ट कार्डको झन्झटभन्दा सहज तरिकाले लाइसेन्स प्रिन्टिङको प्रक्रिया अघि बढाएको छ ।

अन्य प्रदेशको अवस्था 

अन्य प्रदेशले भने लाइसेन्स प्रिन्टिङको काम खासै अघि बढाएका छैनन् । मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र पौडेलले यो विषयमा छलफल भइरहेको बताए ।

विभागको नियन्त्रणमा सिस्टम हुँदा प्राविधिक पाटो सहज नभएको उनको भनाइ छ । प्रदेश सचिव पौडेलले भने, “हामीले बजेट छुट्याएका छौं । कस्तो लाइसेन्स छाप्ने, के गर्ने भनेर विकल्प पनि हेरिरहेका छौं । हामी छलफलमै छौं ।”

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका उपसचिव प्रदिपकुमार रेग्मीले पनि प्रिन्टिङको काम अघि नबढेको जानकारी दिए । प्रदेशमा जिल्लामा लाइसेन्स विभागबाट प्रिन्ट भएर आएको तर कास्कीको भने रोकिएको जानकारी उनले दिए ।

“कास्कीको लाइसेन्स ३२÷३३ महिनादेखि रोकिएको छ । अरु जिल्लाको लाइसेन्स छापिएर आएको पनि छ । प्रदेशले नै छाप्ने विषय अघि बढेको छैन,” उपसचिव रेग्मीले भने ।

लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले लाइसेन्ससम्बन्धी बजेट नै नछुट्याइएको बताएको छ । मन्त्रालयका प्रदेश सचिव उमेश ढुङ्गानाले बजेट नछुट्यिाइएको र यो विषय खासै अघि नबढेको बताए ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले गत वर्ष र यस वर्ष पनि लाइसेन्स प्रिन्टिङका लागि बजेट छुट्याएको जनाएको छ । मन्त्रालयका प्रदेश सचिव विष्णु भण्डारीले विभागको नेतृत्वसहितको समन्वय गरेमा आफूहरूले प्रिन्ट गर्नसक्ने बताए ।

“बजेट छुट्याएका छौं, तर के कसरी अघि बढ्ने भन्ने स्पष्ट छैन । सकेसम्म विभागले ‘लिड’ गरेर समन्वय भयो भने प्रिन्टिङ गर्न सकिएला,” सचिव भण्डारीले भने ।

सुदूरपश्चिम प्रदेशमा भने बजेट नै पास भएको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालयले यो विषय समेटिएको तर बजेट पास नभएको जनाएको छ ।

मन्त्रालयका प्रदेश सचिव सुरतकुमार बमले यातायात व्यवस्था विभागको सहकार्य भएमा आफूहरूले लाइसेन्स प्रिन्ट गर्न तयार रहेको बताए । “प्राविधिक पाटोमा प्रदेशलाई सहयोग चाहिन्छ, त्यो भयो भने चिपसहितको स्मार्ट लाइसेन्स प्रिन्ट गर्न हामी तयार छौं । बजेट पास भएर सबै कुरा अघि बढ्यो भने वैकल्पिक क्यूआरसहितको कार्ड छाप्न पनि हामी तयार छौं,” प्रदेश सचिव बमले भने ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro