स्वर्गद्वारी (प्युठान) । प्युठानको माण्डवी गाउँपालिका–२ अधेरीमा रहेको एउटा पुरानो घरमा मानव कंकाल भेटिएको छ । स्थानीय दलबहादुर खत्रीको घरमा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।
स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा गएका थिए । ओत लागेको समयमा मानव कंकाल देखिएको स्थानीयले बताएका छन् । कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कंकाल भेटिएको प्रहरीले जनाएको छ ।
मानव कंकाल भेटिएको घर सात वर्षदेखि खाली थियो । घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ ।
सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली आज घटनास्थलमा पुगेको हो । प्रहरीले कंकाललाई प्युठान अस्पताल ल्याई डीएनए प्रोफाइल जाँच तथा शव परीक्षण गरिने जनाएको छ । त्यसपछि रिपोर्टका आधारमा अनुसन्धान सुरु हुने प्रवक्ता केसीको भनाइ छ । रासस