
काठमाडौं । खेतमा काम गरी दहीचिउरा खाएर आइतबार (असार १५) धान दिवस मनाइँदै छ ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका निम्ति दहीचिउरा खान्छन् । यस बेला दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीचिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि यस दिन दहीचिउरा खाई असार १५ मनाउँछन् ।
नेपाली संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका निम्ति घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण कार्य गर्नुअघि दहीअक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला पनि यो लाभदायक हुन्छ । दहीचिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद रूप लिएको छ ।
धान दिवस
वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी ०६२ असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
किसान वर्षभरिका निम्ति छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा छ । रासस