site stats
बाह्रखरी :: Baahrakhari
खेल
पलेशालाई पारालम्पिकमा ऐतिहासिक पदक

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिसमा जारी पारालम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति भएको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् । उनले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराउँदै पदक पक्का गरिन् ।

ओलम्पिकको इतिहासमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो । नेपालले सन् १९६४ को टोकियोदेखि ग्रीष्मकालीन ओलम्पिकमा तथा सन् २००४ एथेन्सबाट पारा ओलम्पिक खेल्न थालेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको पहिलो चरणमा भेनेजुयलाकी भलेरिया मोराल्सविरुद्ध ३१–० को स्कोर जित निकाले पनि पलेशा क्वार्टरफाइनलमा शीर्ष वरीयताकी ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित हुँदा सेमिफाइनल पुग्न असफल भएकी थिइन् । तर, रिपिचेजमा पहिलो खेलमा फ्रान्सकी चौथो वरीयताकी सोफी कार्भजनलाई २–१ स्कोरले हराएपछि पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।

पलेशा चीनमा भएको एसियाली पारा खेलकुदकी काश्य विजेता समेत हुन् । पलेशा कविराज नेगीको प्रशिक्षणमा छिन् ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्