site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कोही छ विष्णु माझीलाई मैले गायिका बनाएको हुँ भन्ने ? च्यालेन्ज गर्छु’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पाल्पाको रामपुरस्थित मटेरी ठूलोटारमा ०५८ सालमा लोकदोरी प्रतियोगिता आयोजना गरियो । प्रतियोगिता आयोजना गरेका थिए, स्थानीय शिक्षक समेत रहेका लोक तथा दोहोरीगायक एवं निर्णायक नारायण लेकालीले । नारायण स्वयंले स्पोन्सर खोजे । उनी आफू व्यापारी पनि थिए । त्यसैले स्पोन्सर खोज्न सहज भएको थियो ।

प्रतियोगितामा १२ टिमले भाग लिए । प्रतिस्पर्धा सुरु भयो । एउटा टिम – जसमा थिए दुई युवक र एक युवती । युवती उमेरले सानै थिइन् । कद सानो थियो । तर, स्वर यति कोकिलकण्ठ – नारायण तीनछक परे । स्वर जति मिठो थियो, शब्द चयन पनि त्यति नै अब्बल । आफैँ पनि उम्दा दोहोरीगायक भएकाले उनको स्वरले नारायणको ध्यान खिच्यो ।

“उनको ज्यानमारा स्वर थियो । शब्द पनि त्यसरी नै चयन गर्न सक्ने । पुरुष साथीहरूका कारण उनको टोली दोस्रो भयो,” नारायण २३ वर्षअगाडि फर्किए, “एक्लै व्यक्ति फर्स्ट हुने भए उनी फर्स्ट नै हुन्थिन् ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनी उद्घोषण समेत गरिरहेका थिए । ती युवतीको जादुमयी स्वर सुनेर मोहित भएका नारायणले स्टेजबाट ओर्लने बेला उनलाई भने, ‘बहिनी, जानुभन्दा अगाडि मलाई भेटेर मात्रै जानु है ।’

कार्यक्रम सकियो । उनलाई पर्खिरहेकी युवतीलाई भेटे । दाइभाउजूसँग आएकी रहिछन् । नारायणले सोधे– नाम के हो ? भनिन्– विष्णु माझी ।

Royal Enfield Island Ad

“मैले पारिवारिक पृष्ठभूमि सोधेँ । उहाँहरूले साहुको घरमा जोतेर खाने परिवार हो भन्नुभयो,” नारायण सम्झिन्छन्, “विष्णुले पाँच कक्षा पढेर ६ कक्षामा पढ्ने बेला आर्थिक अवस्था कमजोर भएर छोडेको उहाँको दाइभाउजूले बताउनुभयो ।”

लगत्तै पाल्पा र बुटवल महोत्सव हुँदै थियो । अरू पनि थुप्रै महोत्सव आयोजनाको चरणमा थिए । नारायणको नाम दोहोरीगायनमा निकै लोकप्रिय थियो । उनले विष्णुको दाइभाउजूलाई भने– यी बहिनीलाई अब गायिका बनाउनुपर्छ ।

“बहिनीको शब्द सिर्जना बडो गज्जबको छ । स्वर असाध्यै मिठो छ । दोहोरीमा हुने केही छलकपट र अर्को पक्षले झुक्याउने शब्दमा चनाखो भए मात्रै दोहोरीमा बहिनीलाई कसैले जित्न सक्दैन, यो सिकाउने जिम्मा मेरो भयो भनेँ,” नारायण सुनाउँछन्, “मलाई चिन्नुभएकै छ, म महोत्सवमा जाने बेलामा बोलाउँछु भनेर उहाँहरूको ठेगाना लिएँ ।”

बुटवल महोत्सवभन्दा अगाडि एउटा सामान्य कार्यक्रम थियो । त्यसमा सहभागी हुन विष्णुलाई बोलाए । केही सिकाए । विष्णु थप टाठो भइन् । केही समयपछि हजारौँ दर्शकको उपस्थिति रहने बुटवल महोत्सव हुँदै थियो ।

बुटवल महोत्सव सुरु भयो । नारायणले विष्णु माझीलाई बोलाए । मजाले सिकाए । सम्भावित शब्द र छलकपट, जवाफलगायत धेरै कुरा सिकाए । आफ्नो टिममा राखे ।

पोखराबाट सुन्दरमणिसहितको टिम आयो । प्रतियोगितामा ३२ टिम सहभागी थिए । पुस ६ गते यातायात कार्यालयको हलमा पहिलो दिन सुन्दरमणिहरूलाई नारायण र विष्णुको टिमले हरायो ।

त्यो प्रतियोगिताबाट स्थानीयस्तरमा विष्णुको चर्चा सुरु भयो । स्वर र शब्द मिठो भनेर उनको प्रशंसा हुन थाल्यो । धेरै प्रतियोगितामा उनीहरूको टिम सहभागी भयो । तानसेनको प्रतियोगितामा पनि नारायण र विष्णु सहभागी हुने निधो भयो । पोखरा, लेखनाथबाट सिर्जना खड्कालाई लिएर सुन्दरमणि पनि आइपुगे ।

बुटवलमा हारेको पीडा सुन्दरमणिको दिमागबाट उत्रिएको रहेनछ । उनले नारायणलाई भने– हामी सँगै एउटा हल लिएर बसौँ ।

नारायणसँग उनको तँतँ र ममको सम्बन्ध थियो । नारायणले ‘हुन्छ’ भने । यसमा पनि सुन्दरमणि र सिर्जनासँग नारायण र विष्णुको टिमको प्रतिस्पर्धा भयो । सन्तोष पौडेलको टिम पहिलो, नारायण र विष्णु दोस्रो हुँदा सुन्दरमणिको टिम तेस्रो भयो ।

सुन्दरमणिले विष्णुको क्षमता गहिरोसँग पहिचान गरिसकेका रहेछन् । उनले नारायणसँग प्रस्ताव गरे– लेखनाथमा लोकदोहोरी प्रतियोगिता हुँदै छ, म कहिल्यै पहिलो हुन सकिनँ । तँ जहाँ पनि फर्स्ट भएकै छस्, विष्णु माझीलाई मेरो टिममा पठाइदे, म एकपटक फर्स्ट हुन्छु ।

नारायणले भने– विष्णुको परिवारले मेरो भरोसा गरेर टिममा मसँग पठाएको हो, रामपुर गएर उनका दाइभाउजूलाई मनाएर लैजाने हो भने ठिकै छ, म पनि सँगै जाउँला । म जमानत बसौँला ।

नारायणले ‘सुन्दरमणि मेरो साथी हो, केही हुँदैन, मेरो जिम्मा’ भनेर विष्णुका दाइभाउजू र बुवाआमासँग भने । उनको परिवार राजी भयो । रामपुर ल्याएर बस चढाएर विष्णुलाई पोखरा पठाए ।

वैशाखमा लेखनाथ महोत्सव भयो । सुन्दरमणि र विष्णुको टिम प्रथम भयो । त्यो बेला विष्णुको उमेर १५ वर्ष थियो ।

पुसमा विष्णु र सुन्दरमणि बुटवल आए । त्यो बेलासम्म नारायणले प्रतियोगिता लड्न छोडिसकेका थिए । निर्णायकमा बस्न थालेका थिए ।

पहिलो दिन नै ‘कला’ भन्ने टिमसँग हार्दै विष्णु र सुन्दरमणि पोखरा फर्किए । “०६१ सालको पुस महिना थियो । पहिलो दिन नै उहाँहरू पराजित भएपछि पोखरा फर्किने भए । फर्किनलाई गाडी भाडा समेत नभएपछि मैले हजारको नोट सुन्दरमणिको हातमा थमाएँ,” नारायण भन्छन्, “त्यसयता मैले आजसम्म उहाँहरूको अनुहार देखेको छैन ।”

०६७ मा नारायणले विष्णुलाई गीत गाउन लगाउन जमर्को गरे । ‘रोधी घरमा गाँस र बास...’ बोलको गीत थियो । खोजी गर्दा ‘विष्णुले तपाईंको गीत गाउँदिनन्’ भन्ने अरूबाट सुने । “मेरै गीत नगाउने भइन् भने ठिकै छ, किन खोज्नु भन्ने भयो,” नारायण भन्छन् ।

नारायणको भनाइ विश्वास गर्ने हो भने ०६२ देखि आजसम्म उनको फोन सुन्दरमणिले उठाएका छैनन् । सुन्दरमणि र विष्णुले बिहे गरे रे, दुई सन्तान पनि छन् रे, विष्णु करिबकरिब नजरबन्दजस्तै छिन् रे, विष्णु आफ्ना बुवाआमा परलोक हुँदा पनि अन्तिम संस्कारमा गइनन् रे भन्ने उनले सुने ।

“यो सबै अरेका कुरा हुन् । किनभने, केही मिडियाबाट सुनेँ, केही साथीभाइले भनेका हुन्,” नारायण भन्छन्, “आफैँले नदेखेपछि र कुरा नभएपछि अरे नै त भन्नुपर्‍यो ।”

भलै, नारायण खुसी नै छन् । “दुवैजना खुसी छन् भने अरू दुःखी हुनुपर्ने कारण छैन,” उनी भन्छन्, “कसैको गीत गाउनु वा नगाउनु व्यक्ति स्वयंको अधिकारको कुरा हो । व्यक्तिले स्वेच्छाले गाउँदिनँ भन्छ भने पाउँछ ।”

विष्णुको गायकीको क्षमता आफूले पहिचान गरेको नारायण बताउँछन् । “विष्णु गाउन सक्छिन् भनेर पहिचान गरेर गाउन प्रेरित मैले गरेको हो,” उनी भन्छन्, “विष्णुलाई गायिका बनाएको मैले हो । मेरा अगाडि आएर कसैले च्यालेन्ज गरोस्, मैले विष्णु माझीलाई गायिका बनाएको हो भनेर । कसैले च्यालेन्ज गर्न सक्दैन । किनभने, विष्णु माझीलाई गायिका बनाएकै मैले हो ।”

विष्णु अहिले सार्वजनिक कार्यक्रममा जाँदिनन् । जाने भनेको एकाधपटक स्टुडियो मात्र हो । त्यहाँ पनि बोल्दिनन् । स्टुडियोमा एकाध गीत गाउन जाँदा पनि भेट भएकासँग बोल्दिनन् । 

पहिला पनि त्यस्तै थिइन् ? 
“होइन, उनी ओपन स्वभावकी थिइन् । सबैसँग बोल्ने, हँसमुख स्वभाव थियो उनको । मिठो बोल्ने, हाँस्ने, सानी भए पनि छुरा गाउने,” नारायण नोस्टाल्जिक हुन्छन्, “हाटबजार जाने, केलादी बजार हुन्थ्यो । हाम्रै घरमा आएर जान्थिन् ।”

विष्णु मात्र होइन, उनकी बहिनी जीवन माझी पनि उस्तै छुरा थिइन् गायनमा । “विष्णुको भन्दा पनि उनकी बहिनीको राम्रो स्वर थियो । शब्दमा भने विष्णु माझी अगाडि हुन् । तर, स्वरमा जीवन माझीको स्वर राम्रो थियो,” नारायण भन्छन् ।

जीवन पनि दोहोरी प्रतियोगितामा हिँड्थिन् । रामपुरमै आयोजित दुई दोहोरी प्रतियोगितामा जीवन फर्स्ट नै भएको नारायणको सम्झनामा ताजै छ । ती प्रतियोगितामा निर्णायक नारायण नै थिए ।

जीवनले दुईतीन गीत रेकर्ड पनि गराइन् । उनको स्वर दिदीको भन्दा राम्रो सुनियो । तर, त्यसपछि उनको विवाह भयो । अनि, घरगृहस्थीले किचेर गाउने मौका पाइनन् वा उनलाई यसमा जम्न मन लागेन त्यो त उनैलाई थाहा हुने कुरा भयो । तर, यसमा नारायण कसैको खराब नियतले काम गरेको हुन सक्ने आशंका व्यक्त गर्छन् ।

विष्णुले अरूका गीत नगाएको थुप्रै भयो । दुई लाख रुपैयाँ पारिश्रमिक लिएर उनले गीत गाउन थालेकी थिइन् । पारिश्रमिक बढाएपछि उनलाई गाउन लगाउन हिम्मत गर्नेहरू पनि भएनन् । लगानी महँगो तर रिटर्न्स आउने सम्भावना कमै हुने भएपछि गाउनका निम्ति बोलाउने नै हुन छोडे ।

तीन वर्षअघि विष्णुले शिव हमालको ‘भीरमा सेती गाई...’ बोलको गीत गाएकी थिइन् । त्यसपछि उनले अरूका गीत गाएकी छैनन् ।

कारण के हो ? 
विष्णु सधैँकी चुप, केही भन्ने कुरा भएन । सुन्दरमणि यसबारे बोलेका छैनन् ।

तर, उनीसामु अफर गर्न पुगेका एक गायक तथा संगीतकारले यसबारे आफ्ना कुरा सुनाए । “सुरुमा काम गर्दा दुई लाख पारिश्रमिक मैले दिएको हो । पछि काम गरौँ भन्दा उसले दुई लाखमा नगाउने भन्यो,” सुन्दरमणिसँग तँतँ मम सम्बोधन चल्ने सम्बन्ध भएका उनी भन्छन्, “दुई लाखभन्दा बढी कति हो पारिश्रमिक मैले पनि सोधिनँ । त्योभन्दा बढी नतिर्ने भएपछि मैले कति हो त भनेर सोधिनँ ।”

उनले अरूबाट सुनेअनुसार पाँच लाखभन्दा माथि पारिश्रमिक भन्ने गरिएको छ । “आठ लाखसम्म लिन्छु भन्ने गरेको छ रे भन्ने मैले सुनेको छु,” ती गायक तथा संगीतकार भन्छन्, “हामीसँग कुरा गर्दा शब्द, लय चित्त बुझेन भनेजस्तो मात्रै गर्ने हो, तर पैसामा बार्गेनिङ गर्न खोजेको स्पष्टै थाहा हुन्छ ।”

ती गायक तथा संगीतकारले विष्णुलाई भेटेको दोहोरी प्रतियोगितामा भाग लिँदादेखि नै हो । सुन्दरमणि र विष्णुले प्रतियोगितामा भाग लिँदा उनी पनि प्रतिस्पर्धी थिए ।

“त्यति बेला नै विष्णु माझीले राम्रो दोहोरी गाउँछिन् रे भनेर हामी सुन्थ्यौँ । कस्ति रहिछन् भनेर हामी हेर्न, भेट्न खोज्थ्यौँ,” ती गायक तथा संगीतकार भन्छन्, “त्यति बेलै उनी गाउन मञ्चमा आउने बेला मात्रै देखिन्थिन् । त्यसपछि कहाँ जान्थिन्, कहाँ बस्थिन्, के गर्थिन् थाहै हुँदैन थियो ।”

पछि विष्णु स्थापित गायिका बनिन् र उनी पनि । दुवैले एकार्कालाई नचिन्ने कुरै भएन । 

बोलचाल हुँदैन थियो ? 
“दोहोरो संवाद कमै भयो । नमस्ते भन्यो भने नमस्ते फर्काउने मात्रै हो,” उनी भन्छन्, “सन्चै छ भन्यो भने सन्चै छ भन्नेबाहेक लामो संवाद भएन ।”

जति बेला विष्णु अरूका गीत गाउँथिन्, त्यसको सम्पूर्ण ‘डिल’ सुन्दरमणि आफैँले गर्थे । गाउने कि नगाउने, गाउँदा कहिले गाउने, कति पारिश्रमिक लिने भन्ने निर्णय सुन्दरमणिले गर्थे । विष्णु कसैसँग बोल्दिनन् ।

विष्णु आएपछि स्टुडयोमा पर्दा लगाइन्थ्यो/लगाइन्छ । (हाल आफ्नो गीत रेकर्ड गराउँदा पनि यसै गरिन्छ ।) उनी स्टुडियोमा बोल्ने भनेको डोयट गाउने गायकसँग गीतबारे एकदुई शब्द मात्र हो । डेमो अगाडि नै पाइसकेकी भए त्यति पनि बोल्दिनन् । मुसुक्क मुस्कुराउँछिन् । हेडफोन लगाउँछिन् । डेमो ट्रयाक आधादेखि एक घण्टा निरन्तर सुन्छिन् । अर्को एक घण्टा गाउने अभ्यास गर्छिन् । र, अर्को एक घण्टा लगाएर रेकर्ड गराउँछिन् । सकेसम्म डोयट एकैपटक गाउँदिनन् । आफ्नो पार्ट मात्र छुट्टै गाउँछिन् ।

यो तीन घण्टा सुन्दरमणि स्टुडियोमै हुन्छन् । गाइसकेपछि – पैसा लिएको छैन भने लिन्छन्, जसरी गाडीमा आएको हो, उसैगरी विष्णुलाई लिएर हिँड्छन् । यो तीन घण्टाको अवधिमा स्टुडियो सुन्दरमणिले बुक गरेका हुन्छन् । सुरुमै उनले स्डुडियोमा भनेका हुन्छन्– यो अवधिमा कसैलाई स्टुडियोमा नबोलाउनू, आउन नदिनू ।

संयोगले कोही आए पनि विष्णुसँग बोल्ने मौका उसले पाउँदैन । तस्बिर र सेल्फी खिच्न सख्त मनाही ।

विष्णुको तस्बिर हालसम्म एउटा मात्र सार्वजनिक छ । उनको एल्बम तथा युट्युबमा त्यही तस्बिर देखिन्छ । स्टुडियोमा कसैले तस्बिर खिचौँ भनिहाले सुन्दरमणि भन्छन्– तस्बिर नखिचौँ होला ।

स्याङ्जाको चापाकोटस्थित खोरियाघाटकी विष्णु माझी सुन्दरमणिसँग काठमाडौंमा बस्दै आएकी छन् । उनले विष्णुलाई नजरबन्दमा राखेको गाइँगुइँ हल्ला चलेपछि प्रहरीले सोधपुछका निम्ति करिब ६ वर्षअगाडि बोलाएको थियो ।

तर, कालो वस्त्र र मास्क लगाएर प्रहरी कार्यालय पुगेकी विष्णुले आफू स्वयं बाहिर निस्कन नचाहेको बताएकी थिइन् । सुन्दरमणिमाथि उठाइँदै आएको प्रश्न त्यसपछि केही मत्थर भयो । भलै, विष्णुलाई आफू स्वयं बाहिर निस्कन नचाहेको बताउन बाध्य पारिएको त होइन ? भन्नेहरूको संख्या सानो छैन ।

सुन्दरमणि आमसमाजले आशंका गरेजस्तै व्यक्ति हुन् ? “मलाई त्यस्तो लाग्दैन । उहाँ (सुन्दरमणि)सँग गफ गरेर बस्दा विष्णुजीको फोन आइरहेको हुन्छ । उहाँ रेस्पेक्ट गरेर बोलेको सुन्छु,” सुन्दरमणिसँग घण्टौँ गफिएर बस्ने एक गीतकार तथा गायक भन्छन्, “कति बेला आउनुहुन्छ भनेर सोधेको सुन्छु, उहाँ (सुन्दरमणि) अब आउँछु भन्नुहुन्छ । पटकपटक आएको फोन र संवाद सुन्दा दबाब दिएर राखेजस्तो लाग्दैन ।”

ती गीतकार तथा गायकले विष्णु माझीलाई चिनेको उनी गायनमा आएदेखि नै हो । उनी भन्छन्, “विष्णुजीको व्यक्तित्व सुरुदेखि कन्फिडेन्स लुज भएको हो भन्ने लाग्छ । त्यसैले पब्लिकमा घुलमिल हुन नचाहेको हो कि भन्ने लाग्छ ।”  

सुन्दरमणि उनलाई निष्कपट सल्लाहसुझाव दिने संगीतकर्मी लाग्छ । नेपाली लोक तथा दोहोरीगीतको विकासबारे चिन्ता गर्ने र केही गर्नुपर्छ भन्ने भावना सुन्दरमणिमा पाएको उनी सुनाउँछन् ।

“अन्तरमनदेखि कसैले सल्लाह दिन्छ भने त्यो सुन्दरमणि नै हो,” ती गीतकार तथा गायक अगाडि थप्छन्, “कुनै अपेक्षा नगरी राम्रो गरोस् भनेर कसैले मलाई सल्लाह दिन्छ भने उहाँ (सुन्दरमणि) मात्रै हो ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro