site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘अर्धभूमिगत’ विष्णु माझीको कसरी तयार गरिन्छ गीत र भिडियो ?
SkywellSkywell

साउन ३० गते मौसम (हिमाली)को मोबाइलमा सुन्दरमणि (अधिकारी)को फोनको घण्टी बज्यो । 
‘हजुर दाइ, नमस्कार !’
‘नमस्ते बाबु, के छ खबर ?’ 
‘ठिकै छ, दाइ ।’
‘बाबु, अर्जेन्ट छ, हामी भेटिहाल्नुपर्‍यो ।’ 
किन र केका लागि भेट्ने हो, त्यो त सुन्दरमणिले खुलाएनन्, तर मौसमलाई अनुमान लगाउन समय लागेन । उनले अनुमान लगाए, विष्णु माझी (सुन्दरमणिकी श्रीमती)को गीतको भिडियोको कामका लागि होला । तिज आउँदै छ, तिजको गीतको म्युजिक भिडियो बनाउनुपर्‍यो होला ।

मौसम काठमाडौंबाहिर थिए । त्यसको भोलिपल्टै मौसम काठमाडौं आए । सुन्दरमणिसँग भेट भयो । मौसमको अनुमान मिल्यो । 

भेट्न खोज्नुको उद्देश्य तिजगीतको भिडियो निर्माणको थियो । दुईजनाले योजना बनाए । सुन्दरले भिडियो कसरी बनाउने र मौसमले गीतका शब्द र लयानुसारको योजना बनाए । 

Dabur Nepal
NIC Asia

भेटेको दुई दिनमै काम सुरु गर्नु थियो । मौसमको डिपार्ट कोरियोग्राफीको थियो । गीत सुने पटक–पटक । किनकि, शब्द, सुर, लय, भाव र रेन्जको आधारमा कोरियोग्राफी गर्नुपर्छ । यसकै आधारमा स्टेप तयार पार्नुपर्छ । मुख्य कलाकार र कोरसलाई स्टेप दिने हो । नृत्य गराउने हो ।

सुन्दरमणिसँग भेटेको दुई दिनमै सुटिङ युनिट गीतको भिडियो छायांकनका निम्ति निस्कियो । सुरुमा बालाजुको एउटा डान्सबारमा छायांकन थियो । त्यसपछिको सुटिङ सेड्युल नुवाकोटमा थियो । त्यहाँ कगाउँको परिवेश खिच्नु थियो ।

सुन्दरमणि आफैँ सर्जक हुन् । उनी स्टोरीको पार्ट सम्हाल्छन् । आफैँ स्टोरीको स्क्रिप्ट लेख्छन् । सेट डिजाइन, कलाकारको ड्रेस मौसमले तयार पारे । मौसम आफैँमा म्युजिक भिडियो निर्देशक हुन् । उनलाई म्युजिक भिडियो निर्देशन गर्न टाउको समाएर घोरिइरहनु पर्दैन । त्यसमाथि सुन्दरमणिले स्क्रिप्ट र स्टोरी बनाएपछि हल्का हुने नै भयो ।

विष्णुको लोकप्रियताको दबाब
कतिपय यस्ता स्रोतादर्शक छन्, जो विष्णु माझीको गीत नआएसम्म तिज लाग्दैन भन्छन् । यस्ता स्टाटस र कमेन्ट सामाजिक सञ्जाल र तिजका अरूका गीतको युट्युब कमेन्टमा थुप्रै भेटिन्छ ।

मौसलाई यस्तो प्रतीक्षाले भने केही दबाब दिन्छ । “दर्शक विष्णु माझीको गीत कहिले आउँछ भनेर पर्खिएर बस्ने भएकाले उहाँहरूको अपेक्षा कसरी पूरा गर्ने भन्नेचाहिँ हुँदो रहेछ,” मौसम भन्छन्, “त्यसैले अरूले भन्दा कसरी फरक गर्ने, आइरहेका भन्दा फरक भिडियो कसरी बनाउने भन्ने प्रेसर हुँदो रहेछ ।”

यो वर्ष बजारमा अधिकांश तिजगीत कस्ता छन्, स्रोतादर्शकले मूल्यांकन गरिरहेका छन् । आफ्नो पहुँचको प्लेटफर्ममा प्रतिक्रिया जनाइरहेकै छन् । त्योभन्दा पर रहेर विष्णुको गीत तयार गरिएको छ । सभ्य भएर पनि दर्शकको ध्यान खिचेर वाहवाही बटुल्नु विष्णुका गीतको विशेषता हो । त्यही विशेषतालाई निरन्तरता दिएर तिजको मर्मलाई विष्णुको गीतले बोलेको छ । आमनेपाली महिलाको कथा र व्यथा भनेको छ । भिडियोले गीतलाई साथ दिएको छ ।

‘आइन आमा यो तिजमा’ बोलको गीतमा विष्णु माझीको स्वर छ । शब्दरचना तथा संगीत सुन्दरमणि अधिकारीको छ ।

गीतमा तिजमा माइत आउन नसकेको चेलीले आमालाई पठाएको सन्देश छ । गीतमा वर्ष दिनभरी घरमा आफूले भोगेका समस्या समेटिएका छन् । आमाले पीर नलिउन् भन्नका लागि आफ्नो पीडा लुकाएर ठिकठाक छ भन्ने सन्देश आमालाई सञ्चार गरेको भिडियोमा देखाइएको छ ।

सेटमै सेक्रेट
धेरैले आफ्नो तिजगीत आउँदै छ भनेर पहिल्यै हो–हल्ला गर्छन् । सके गीतको अंश, त्यो सम्भव नभए म्युजिक भिडियोको तस्बिर र थमनेल सार्वजनिक गर्छन् । तर, विष्णुका गीत कहिले आउँछ भन्ने थाहै हुँदैन । आउँछ कि आउँदैन भन्ने पनि थाहा हुँदैन । अरूले महिना, दुई महिनाअगाडिदेखि बजारमा तिजगीत सार्वजनिक गर्दा विष्णुको आउने/नआउने पत्तो हुँदैन ।

यो वर्ष पनि त्यस्तै भयो । अधिकांश स्रोतादर्शक विष्णुको गीतको प्रतीक्षामा त थिए, तर आउने/नआउने थाहा थिएन । जसरी विष्णु माझी सार्वजनिक जिन्दगीबाट टाढा छिन्, उनका गीत आउनुअगाडिको अवस्था पनि त्यस्तै हुन्छ । शान्त तलाउजस्तै । जब तलाउको बीचमा कसैले अनायासै ढुंगा फ्याँकिदिन्छ, तब पानीको छाल शान्त तलाउको चारैतिरको छेउछेउसम्म पुग्छ । विष्णुका गीत पनि त्यस्तै हुन् । ढिलो आउँछन्, तर आएपछि सिंगो सांगीतिक क्षेत्र तरंगित हुन्छ । उनका गीतको चर्चा हुन्छ ।

“विष्णु माझीको गीतको भिडियोको फोटो पनि सार्वजनिक हुँदैन । यसको कारण, एकैपटक गीत र भिडियो आओस् भन्ने हो,” मौसम भन्छन्, “कडा मिहिनेत गरेर सेट डिजाइन गरेका हुन्छौँ, कस्ट्युम डिजाइन गरेका हुन्छौँ । त्यसको फोटो बाहिर आयो भने हाम्रो गीत नआउँदै अरूले कपी गरिदिन्छन् भनेर पनि टिमबाहिरको मान्छेलाई फोटो खिच्न दिँदैनौँ ।”

विष्णुबारे निर्देशक नै बेखबर 
मौसमले एक हजारभन्दा धेरै म्युजिक भिडियो निर्देशन गरिसके । कतिपयले गीतको भाव बुझ्न उनलाई स्टुडियोमा रेकर्डिङमै बोलाउँछन् । कति गायकगायिका आफैँ सुटिङ सेटमा पुगेर लागेको कुरा बताउँछन्, आइडिया हुनेले सुझाव दिन्छन् ।

विष्णु माझीको हकमा त्यो हुँदैन । गायनबाहेक जेजे गर्नुपर्ने हो, गायिकाको तर्फबाट सुन्दरमणिले नै गर्छन् । अडियो फाइनल भएपछि गीत सुनाउँछन् । आफैँ निर्देशक भएकाले भिडियोमा त उनी नै क्याप्टेन अफ दि सिप भइगए ।

“सायद अरू गायकगायिकाको गीत हुन्थ्यो भने र क्रिएटिभ मान्छे छ भने उसको पनि भिडियोमा केही सोच छ कि भन्ने हुन्थ्यो,” मौसम भन्छन्, “तर, विष्णु दिदी सार्वजनिक कार्यक्रम र स्थलमा नहिँड्ने भएकाले सेटमा आउनुहोला कि, हामीसँग भन्दा केही राम्रो आइडिया होला र सेयर गर्नुहोला कि भन्ने अपेक्षा नै हुँदैन ।”

सेटमा आजसम्म मौसमले विष्णु माझीलाई देखेका छैनन् । त्यो अपेक्षा पनि छैन उनलाई । संयोगले कति वर्षअगाडि हो, एउटा स्टुडियोमा मौसमले झुलुक्क विष्णु माझीलाई देखेको । त्यसयता उनले देखेका छैनन् । दशक नाघिसक्यो विष्णु सार्वजनिक कार्यक्रममा सहभागी हुन छोडेको । साथीभाइ र छरछिमेकसँग टाढिएको । त्यसैले उनी सुटिङ सेटमा आउने कुरै भएन ।

गौण बजेट, प्राथमिकतामा भिडियो
अक्सर अरूका गीतमा काम गर्दा ‘बाँधिनुपरेको’ मौसमको अनुभव छ । तर, विष्णु माझीका गीतको भिडियोमा काम गर्दा बजेट गौण विषय हो । 

“पैसा कति लाग्छ भन्दा पनि कसरी भिडियो राम्रो बनाउने भन्ने प्रयासमा सुन्दरमणि दाइ काम गर्नुहुन्छ,” मौसम भन्छन्, “यसले गर्दा पनि भिडियो राम्रो बन्छ ।”

अर्को कारण, समयको पावन्दी नहुनु पनि हो । प्रायः अधिकांश गीतका सर्जक एक दिनमा भिडियो छायांकन सकाउने योजनामा हुन्छन् । एक हजारभन्दा धेरै भिडियो निर्देशन गर्दा मौसमले गरेको अनुभव पनि यही हो । तर, सुन्दरमणि समयको बन्देज राख्दैनन् । यो गीतको भिडियो पनि तीन दिन एक रात लगाएर खिचिएको मौसमले सम्झिए । भलै, विष्णु माझीका गीत प्रायः लामै हुन्छन् ।

बाटो बदलिँदा निर्देशक
मौसम अचानक बाटो बदलिएर निर्देशन र कोरियोग्राफीमा आइपुगेका सर्जक हुन् । सुर्खेतबाट काठमाडौं ओर्लंदा उनको लक्ष्य यसलाई ‘ट्रान्जिट’ बनाएर कोरिया पुग्ने थियो । कोरियन भाषाको परीक्षाका निम्ति उनले तयारी पनि गरेका थिए । परीक्षा नजिक थियो ।

एक दिन मौसमलाई बब्बु थापाले भने– गीतको भिडियोलाई हेर्ने तिम्रो दृष्टिकोण अलग छ । म विदेशको तयारीमा छु, तिमीले मेरो ठाउँ लिनुपर्छ । बुझ्नका लागि मेरो असिस्ट गर ।

त्यो समय म्युजिक भिडियोमा बब्बुको ठूलो नाम थियो । नाम हुने, दाम पनि ठिकठिकै । मौसम कोरियन भाषा परीक्षा दिनै गएनन् । भिडियो निर्देशनतिर लागे । त्यसपछि सुरु भयो मौसमको कोरियोग्राफी र भिडियो निर्देशन करिअर । कोरियोग्राफी त उनले धेरै गरेनन्, संख्या त्यस्तै डेढ सयजति छ । नौ वर्षको दौरानमा म्युजिक भिडियो भने एक हजारभन्दा धेरै निर्देशन गरिसकेका छन् ।

पछिल्लो समय मौसमले निर्देशन गरेका र मन पराइएका म्युजिक भिडियोमा प्रकाश दुतराजको ‘रिमै’, रीता थापामगरको ‘ए आमा जाम भन्यो मलाई’, विमल परियारको ‘कहाँको साइनो...’ आदि हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu