काठमाडौं । अगष्टयता दैनिक एक सयभन्दा बढी डेंगी संक्रमित थपिइरहेको तथ्यांकले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार अगष्टका २३ दिनमा (१ देखि २३ अगष्ट) सम्म दुई हजार पाँचजनामा डेंगी पुष्टि भएको छ ।
यही अवधिमा संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । हाल ७५ जिल्लामा सीमित रहेको संक्रमितको संख्या आगामी सेप्टेम्बरमा झनै थपिनसक्ने ईडीसीडीको आकलन छ ।
गण्डकी प्रदेश बन्यो डेंगीको हब, काठमाडौं पनि रेड जोनमा
सन् २०२३ मा कोसी प्रदेशअन्तर्गत सुनुसरीको धरानमा सबैभन्दा धेरै १६ हजार जना संक्रमित भएका थिए । यो वर्ष भने गण्डकी प्रदेश डेंगीको हब बनेको छ । तनहुँमा सबैभन्दा धेरै एक हजार ४५ जनामा डेंगी पुष्टि भएको छ । तनहुँमा नै साउन अन्तिम साता ५० वर्षीय एक पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको ईडीसीडीको रेकर्ड छ ।
कास्कीमा पनि संक्रमितको संख्या ४०८ पुगेको छ । मनाङमा दुईजनामा डेंगी देखिएको छ । गण्डकीका मुस्ताङबाहेक सबै जिल्लामा डेंगी फैलिएको ईडीसीडीको तथ्यांक छ ।
गण्डकीपछि वाग्मतीमा संक्रमण बढी फैलिएको छ । वाग्मतीको चितवनमा ४६८ र काठमाडौंमा ४२१ जना संक्रमित भएका छन् । यीबाहेक मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेमा पनि संक्रमित निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ । भक्तपुरका पाँच वर्षीय बालकको गत साउन २५ गते डेंगी संक्रमणकै कारण मृत्यु भएको ईडीसीडीको रेकर्ड छ ।
कोसी प्रदेशका झापा, भोजपुर, धनकुटा, ओखलढुंगा, संखुवासभा लगायतका जिल्लामा पनि डेंगी संक्रमण बढ्दो क्रममा छ । झापामा साउन अन्तिम साता ४० वर्षीया एक महिलाको डेंगी संक्रमणका कारण मृत्यु भएको थियो । कर्णाली प्रदेशको हुम्लाबाहेक सबै जिल्लामा डेंगीका बिरामी देखिएको ईडीसीडीले जनाएको छ ।
सन् २०१९ यता १२ महिनै देखिइरहेको छ डेंगी
नेपालमा पहिलोपटक सन् २००४ मा एक व्यक्तिमा डेंगी संक्रमण पुष्टि भएको थियो । त्यसयता २००६ मा ३२, २००७ मा २७, २००८ मा १०, २००९ मा ३०, २०१० मा ९१७, २०११ मा ७९, २०१२ मा १८३, २०१३ मा ६८६, २०१४ मा ३५६, २०१५ मा १३ जना संक्रमित भए ।
सन् २०१६ देखि भने संक्रमितको संख्या हजारमा देखिन थाल्यो । सन् २०२६ मा एक हजार ५२७, २०१७ मा दुई हजार १११, २०१८ मा ८११, २०१९ मा १७ हजार ९९२, २०२० मा ५३०, २०२१ मा ५४० र २०२२ मा ५४ हजार ७८४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । सन् २०२२ मा पछिल्लो १८ वर्षयताकै सबैभन्दा धेरै संक्रमित भई ८८ जनाको डेंगीका कारण मृत्यु भएको थियो ।
सन् २०२३ मा ५२ हजार ७९० जना संक्रमित हुँदा २० जनाको मृत्यु भएको थियो । नेपालमा सन् २०१९ यता कुनै पनि वर्ष डेंगी केस शून्य नभएको ईडीसीडीका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।
“मनसुन र पोष्ट मनसुनमा धेरै केस देखिए पनि कुनै महिना केस शून्य भने भएको छैन, सन् २०१९ यता फाट्टफुट्ट केस बाह्रै महिना देखिएको छ,” उनले भने ।
सेप्टेम्बरमा संक्रमण उच्च हुनसक्ने, अझै दुई महिना जोखिम
विगतका वर्षहरूको रेकर्डलाई हेर्दा अगष्ट र सेप्टेम्बरमा सबैभन्दा धेरैमा डेंगी संक्रमण देखिएको छ । अझै दुई महिना जोखिम रहने डा. दाहाल बताउँछन् । सन् २०२३ मा अगष्टमा सबैभन्दा धैरै १४ हजार ५३२ जना संक्रमित थपिएका थिए ।
यस्तै, सेप्टेम्बरमा १३ हजार ५४७, अक्टोबरमा १२ हजार ४८८ जना संक्रमित भएकोमा नोभेम्बरदेखि भने यो संख्या घट्दै गएको ईडीसीडीको तथ्यांक छ ।
यो तथ्यका आधारमा अगष्ट र सेप्टेम्बरमा संक्रमितको संख्या अझै उच्च हुनसक्ने डा. दाहाल बताउँछन् । “तर, जोखिम भने अझै दुई/तीन महिना रहन्छ, मौसमले पनि यसलाई फेभर गर्छ,” उनले भने ।
उनका अनुसार मनसुनको सुरुआतमा त्यसअघिदेखि नै जम्मा भएर बसेका लामखुट्टेका अण्डा प्रजनन् हुने भएकाले त्यो मौसममा संक्रमण बढी देखिन्छ । ठूलो पानी पर्दा लार्भाहरू बगाएर लैजाने भए पनि पानी पर्ने घाम लाग्ने भइरहँदा लार्भा विकास हुन अनुकूल तापक्रम बन्ने भएकाले अगष्ट, सेप्टेम्बरमा लामखुट्टेको वृद्धि विकास बढी हुन्छ । तर, डेंगीको जोखिम भने पोष्ट मनसुनसम्म नै रहने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको अनुभव छ । यसअघिका वर्षहरूमा काठमाडौंमा मंसिर–पुसमा समेत डेंगीका बिरामीको उपचार गरेको उनी सुनाउँछन् ।
डेंगी संक्रमण सार्ने एडीस प्रजातिको लामखुट्टे २० डिग्री सेल्सियससम्मको तापक्रममा बाँच्नसक्छ । यो बिहान घाम उदाएको दुई घण्टापछिसम्म र साँझ घाम अस्ताउनुभन्दा दुई घण्टाअघि बढी सक्रिय हुन्छ ।