अमेरिका कुनै बेलायत, स्पेन, नेदरल्यान्ड, फ्रान्सजस्ता देशको उपनिवेश रहेको देश हो । सन् १७७६ मा स्वतन्त्र हुँदै गर्दा अमेरिका बेलायती उपनिवेश थियो । सन् १७७९ मा संविधान जारी भएपछि जर्ज वासिङटन पहिलो राष्ट्रपति भए । अमेरिकाको संविधान संसारको सबैभन्दा पुरानो संविधान हो । जनताको अधिकार सुनिश्चित गरेर जनतालाई शक्तिशाली बनाएको संसारको पहिलो संविधान हो ।
सामन्ती प्रथामा गुज्रेको अमेरिकामा संविधान बन्दै गर्दा अमेरिकी राष्ट्रपतिलाई सम्माननीय, माननीय, महामहिमजस्तो मानार्थ शब्दले सम्बोधन नगरेर सबैलाई सम्बोधन गरिने शब्द ‘मिस्टर’बाट सम्बोधन गर्ने निर्णय गरेका हुन् । यतिखेर सामान्य लाग्न सक्छ तर तत्कालीन समय हेर्ने हो भने यो क्रान्तिकारी पहलकदमी थियो ।
अमेरिका रातारात संसारको धनी, शक्तिशाली र दुनियाँका लागि त्यसै सपनाको देश बनेको होइन । अमेरिका, अमेरिका बन्नुमा लाखौँलाख अमेरिकी जनताको बलिदान छ । लाखौं लाख जनताको देशप्रतिको अतुलनीय माया, सम्मान र बलिदान छ ।
सन् १७७६ मा अमेरिका पनि गरिबमध्येकै देश थियो । सबै जनता र लिङ्गलाई मतदान गर्ने अधिकार पनि थिएन । सुरुमा गोरा जातिमा समेत सबैलाई मतदानको अधिकार थिएन ।
अमेरिका संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको सन् १८९० मा हो । अमेरिका पूर्णरूपमा विकसित मुलुक भएको २० सौं शताब्दीको मध्यबाट हो । आजको दिनमा अमेरिका संसारको आर्थिक र सामरिकरूपमा सबैभन्दा शक्तिशाली देश बनेको छ । सन् १९९० मा सोभियत युनियनको अवसानपछि एकध्रुवीय शक्तिशाली देश बन्न पुग्यो अमेरिका ।
संसारका सबै देशको अर्थतन्त्र अमेरिका र अमेरिकी नीतिको वरिपरि घुम्छ । दोस्रो विश्वयुद्धपछि अमेरिकाको अर्थनीतिले युरोप र जापानजस्ता देशलाई समृद्ध बनायो । सन् ९० को दशकमा अमेरिकाले चीनप्रति लिएको नीतिले २१ सौं शताब्दीको दोस्रो दशकमा चीनको अर्थतन्त्र संसारको दोस्रो शक्तिशाली बन्न पुग्यो ।
आजको दिनमा अमेरिकाले चाहना राख्यो भने कुनै पनि देशको अर्थतन्त्रलाई धराशयी गराउन सक्छ । कुनै पनि देशमा अस्थिरता ल्याउन सक्छ । यसो गर्दा उसले पनि मूल्य चुकाउनुपर्ने हुनसक्छ । तर, त्यस्तो मूल्यले ऊ आफैँ चाहिँ आर्थिक र सामरिकरूपमा धराशायी भने हुनेछैन ।
अमेरिकी राष्ट्रपतिलाई स्वतन्त्र विश्वको नेता पनि भनिन्छ । संसारको सबैभन्दा शक्तिशाली पद मानिन्छ । संसारको सबैभन्दा बढी खटिनुपर्ने र हरदम दबाबमा रहनुपर्ने पद हो यो । अमेरिकाको राष्ट्रपति ४ घन्टामात्र सुत्छन् भनिन्छ । सत्ताले अमेरिकाको राष्ट्रपतिलाई ४ वर्षमा १५ वर्ष बूढो बनाइदिन्छ ।
राष्ट्रपति हुँदा ४६ वर्षका बिल क्लिन्टन र बाराक ओबामाको अनुहार र राष्ट्रपति भएको ४ वर्षपछिको अनुहारलाई तुलना गर्दा ४ वर्षमा १५ वर्ष बूढो भएको देख्न सकिन्छ । देश र जनताप्रति २४ सैं घन्टाको चिन्ताले अमेरिकाको राष्ट्रपतिलाई यसरी बूढो बनाइदिएको हुनुपर्छ ।
हाम्रो देशमा यसको ठीक विपरीत चित्र देखिन्छ । बुढ्यौली लागेका र रोगले निर्बल भएकाहरूलाई रातोपिरो बनाउनु छ भने नेपालमा प्रधानमन्त्री बनाइदिनुपर्छ । हाम्रालाई देश र जनताको चिन्ता हुँदैन । पटकपटक आलोपालो सत्तामा आउँछन् । सत्ता र शक्तिको मातले तिनलाई रातोपिरो बनाइदिन्छ ।
आउँदो नोभेम्बर ५ तारिख रिपब्लिकन पार्टीको उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीचमा अमेरिकामा ४७ औं राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ ।
डोनाल्ड ट्रम्प २०१६ को निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएर राष्ट्रपतिमा निर्वाचित भएका र २०२० को निर्वाचनमा जो बाइडेनसँग पराजित भएका व्यक्ति हुन् । पेसाले डोनाल्ड ट्रम्प व्यापारी हुन् ।
कमला ह्यारिस २०२० मा विजयी राष्ट्रपति जो बाइडेनकी उपराष्ट्रपति हुन् । कमला ह्यारिस जमैकन पिता (काला जाति) र दक्षिण भारतीय आमाबाट जन्मिएकी महिला हुन् । उपराष्ट्रपति हुनुपूर्व कमला ह्यारिस सनफ्रानसिस्कोको डिस्ट्रिक्ट एटर्नी (जिल्ला न्यायाधिवक्ता), क्यालिफोर्निया राज्यको एटर्नी जेनरल (महान्यायाधिवक्ता) र क्यालिफोर्नियाबाट सिनेटर भएकी थिइन् ।
अमेरिकामा २०२४ मा हुने राष्ट्रपति निर्वाचनले इतिहास रच्दैछ । डोनाल्ड ट्रम्पले जितेमा उनी ४ वर्षको राष्ट्रपतिको कार्यकालपछि दोस्रोपटकको निर्वाचनमा हारेर अर्को पटक पुनः राष्ट्रपति बन्ने दोस्रो व्यक्ति हुनेछन् ।
कमला ह्यारिस कालाजातिकी महिला पहिलो राष्ट्रपतिको उम्मेदवार भएर इतिहास बनाइसकेकी छिन् । नोभेम्बर ५ को निर्वाचनमा विजयी भइन् भने अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति भएर अर्को इतिहास रच्नेछिन् ।
अमेरिकाको राजनीतिमा अप्रत्याशित घटना भएका छन् । अमेरिकी इतिहासमा अनेक व्यक्ति अप्रत्यासित घटनाको परिणामबाट राष्ट्रपति बनेका छन् । अमेरिकाको राजनीतिक मार्ग परिवर्तन भएको छ र अमेरिकाको इतिहास बदलिएको छ ।
सन् १९६३ मा जोन एफ. केनेडीको हत्या नभएको भए लिन्डन जोन्सन अमेरिकाको राष्ट्रपति बन्ने थिएनन् । सन् १९६४ को निर्वाचनमा जोन एफ केनेडी पुनः निर्वाचित हुने थिए । त्यसो हुनपाएको हुँदो हो त लिन्डन जोन्सनलगायत त्यसपछिका जति राष्ट्रपति भए तिनमा एक दुईजना पनि राष्ट्रपति हुने थिएनन् ।
सन् १९६८ मा रबर्ट केनेडी (जोन एफ केनेडीका भाइ) को हत्या नभएको भए १९६८ मा उनी राष्ट्रपति निर्वाचनमा विजयी हुने निश्चित जस्तै थियो । रवर्ट केनेडी राष्ट्रपति हुन पाएको भए त्यसपछिका जति राष्ट्रपति भए तिनमा एक दुई जना पनि राष्ट्रपति हुने थिएनन् ।
जिमी कार्टर राष्ट्रपति भएको समयमा इरानले ५२ जना अमेरिकनलाई बन्धक बनायो । अप्रिल १९८० मा कार्टरले इरानबाट अमेरिकन बन्धकलाई मुक्त गर्न सञ्चालन गरिएको सैनिक कारबाही असफल भयो । यही असफल सैनिक कारबाही कार्टरका लागि १९८० को राष्ट्रपति निर्वाचनमा हार्ने कारण बन्न पुग्यो । कार्टरको बन्धक मुक्त गर्ने सैनिक कारबाही सफल हुन्थ्यो भने १९८० मा रोनाल्ड रेगन राष्ट्रपति हुने थिएनन् । रोनाल्ड रेगन राष्ट्रपति हुँदैन थिए भने त्यहाँ पछिका जति राष्ट्रपति भए तिनमा एक दुई जना पनि राष्ट्रपति हुने थिएनन् ।
सन् २००० निर्वाचनमा फ्लोरिडा राज्यको मतगणना सम्बन्धमा विवाद भएको थियो । विवाद सर्वोच्च अदालतमा पुग्यो । सर्वोच्च अदालतले ५–४ को मतमा बुसको पक्षमा फैसला दियो । बुसको पक्षमा फैसला दिने ५ न्यायाधीश जर्ज डब्लु बुसको पिता जर्ज डब्लु एच बुसले नियुक्त गरेकाहरू थिए ।
त्यस समयमा सर्वोच्च अदालतमा डेमोक्रेटिक राष्ट्रपतिले नियुक्त गरेको न्यायाधीशहरूको बहुमत हुन्थ्यो भने डेमोक्रेट उम्मेदवार एल गोरको पक्षमा फैसला आउँथ्यो । त्यसो हुन्थ्यो त जर्ज डब्लु बुस राष्ट्रपति नभएर एल गोर राष्ट्रपति हुने थिए । अमेरिकाको राजनीतिक मार्ग अर्कै हुन्थ्यो ।
अमेरिकाको राजनीतिक मार्गमात्र होइन, अमेरिकाको इतिहास नै मोड्ने र इतिहास बनाउने ‘कन्सिक्वेन्सियल’ राष्ट्रपतिको नाम लिनु पर्दा १८६० मा निर्वाचित अब्राहम लिंकन र १९०१ उपराष्ट्रपतिबाट राष्ट्रपतिमा पदोन्नति भएका थियोडर रुजवेल्टको नाम लिन सकिन्छ ।
अब्राहम लिंकन गरिब परिवारमा जन्मेका हुन् । राष्ट्रपति हुनु पूर्व अब्राहम लिंकनको राजनीतिक अनुभव भनेको १८४७–१८४९ सम्म हाउस (तल्लो सदन) को सदस्यमात्र थियो । अब्राहम लिंकन कुनै चमत्कारी व्यक्तित्व थिएनन् । लिंकन त सार्वजनिकरूपमा भाषण गर्दा समेत घबराउँथे, आत्तिन्थे ।
अब्राहम लिंकन सन् १८६० मा राष्ट्रपतिको लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार हुन सक्छन् भनेर लिंकन स्वयंले विश्वास गरेका थिएनन् । उनीभन्दा तीनजना लामो समय राजनीति गरेका, पदीय अनुभव हासिल गरेका र लोकप्रिय व्यक्तिहरू प्रतिस्पर्धामा थिए । यी तीनजनामध्ये दुई जनामात्रको बीचमा सहमति हुन्थ्यो भने अब्राहम लिंकन राष्ट्रपतिको उम्मेदवारसमेत हुन सक्दैनथे । तर, उनी अन्ततोगत्वा राष्ट्रपतिको उम्मेदवारमात्र भएनन् निर्वाचित समेत भए ।
अब्राहम लिंकन राष्ट्रपति हुँदा अमेरिका चरम गृह युद्धमा प्रवेश गर्दै थियो । अमेरिका एउटै देशको रूपमा रहन सक्छ कि सक्दैन भन्ने संशय थियो । अब्राहम लिंकनले देशलाई गृहयुद्धबाट मुक्त गराउन सक्छन् भनेर खासै आशा गरिएको थिएन ।
अब्राहम लिंकनले आफ्नो क्याबिनेटको प्रमुख पद सेक्रेटरी अफ स्टेट, सेक्रेटरी अफ ट्रेजरी र एटोर्नी जनरलमा तिनै मान्छेलाई नियुक्त गरे जो उनको सबैभन्दा कट्टर विरोधी र आलोचक थिए । आफ्नो पहिलो कार्यकालभरि अब्राहम लिंकनले गृहयुद्ध झेले । देश चरम गृहयुद्धमा रहेका बेला जनवरी १, १८६३ मा काला जातिलाई दासत्वबाट मुक्त गरिएको घोषणा गरे र लागु गरे । जब कि गृहयुद्धको प्रमुख कारण काला जातिलाई दासत्वबाट मुक्त गर्ने र नगर्ने भन्ने विषय नै थियो ।
लिंकनले काला जातिलाई दासत्वबाट मुक्त गर्ने बिल (विधेयक) लाई कसरी कंग्रेसबाट बहुमत जुटाउन समर्थ भए भन्ने पढ्दा रोमाञ्चित होइन्छ । सन् १८६८ बाट मात्र काला जातिलाई नागरिकता दिन थालिएको हो । काला जातिले १८७० बाट मतदानको अधिकार पाएका हुन् ।
दोस्रो कार्यकालको आरम्भसँगै अप्रिल ९, १८६५ मा अमेरिकामा गृहयुद्ध अन्त्य हुन्छ । राष्ट्रपतिको निर्वाचन जित्ने होइन राष्ट्रपतिको उम्मेदवार पनि बन्न सक्दैनन् भनिएको मान्छेको अप्रत्याशित विजयले अमेरिका एकीकृतमात्र रहँदैन, आधुनिक अमेरिकाको जग बस्न पुग्छ । अब्राहम लिंकन अमेरिकी इतिहासमा युगपुरुष भनेर चिनिन्छन् ।
अन्त्यमा उनको सफलता घृणा गर्नेको हातबाट उनको दुःखद हत्या हुन जान्छ । लिंकनपछिका नेताहरूले उनले बचाएको देशलाई समृद्धको बाटोमा डोराएर विश्वको सबैभन्दा धनी, आधुनिक र बलियो राष्ट्र बनाउँदै लगे ।
अब्राहम लिंकनले बचाएको देशले सामान्य र सजिलो बाटोबाट समृद्ध प्राप्त गरेको भने होइन । अमेरिकाले प्रशस्त कठिनाइको र बलिदानको बाटो हिँड्नु परेको इतिहास छ ।
उन्नाइसौं शताब्दीको अन्तिम दशकमा पुग्दा अमेरिका आर्थिकरूपमा समृद्ध त हुँदैथियो तर देशमा भ्रष्टाचार व्यापक थियो । इन्धन, रेलवे, बैंक, इनस्योरेन्स, खाद्य तथा औषधी, खानीजस्ता व्यवसाय निजी क्षेत्रको कब्जामा थियो । यिनैताका तेल व्यापारी रकफेलर विश्वको पहिलो अर्बपति हुने स्थानमा पुग्दै थिए । निजी क्षेत्रमा रहेको उद्योग तथा व्यवसायमा प्रतिस्पर्धाको गुञ्जायस थिएन । नयाँ कम्पनीलाई टिक्न नै दिइँदैनथ्यो । तिनले कि बन्द गर्नुपर्थ्यो कि रकफेलरजस्ताको कम्पनीसँग गामिनुपर्थ्यो ।
राज्यका सबै निकाय नगरपालिका, पुलिस विभाग, लोकसेवा, गभर्नर अफिस, सिनेट, हाउस, अदालत, राजनीतिक दल भ्रष्टाचारमा चुर्लुम्म डुबेका थिए । राजनीतिक दलको नेता व्यापारीका लागि काम गर्थे । सिनेट र हाउसमा ‘पोलिटिकल मेसिन’ (पैसा र पदका लागि मात्र काम गर्ने समूह) को बाहुल्य हुनेगर्थ्यो । कुनै पनि सुधारको योजनामा भाँजो हाल्ने काम गर्थ्यो सिनेट र हाउसले ।
त्यस समयको अमेरिकामा केकस्तो विकृति र विसंगति विद्यमान थियो भनी इतिहास पढ्ने हो भने अमेरिका अर्को ५० वर्षमा प्रगतिको त्यो उचाइमा पुग्न सक्ला भनेर कल्पना गर्न सकिँदैन ।
यसै समयमा थियोडर रुजवेल्ट नामका व्यक्ति सार्वजनिक जीवनमा उदाउन पुग्छन् । उनी सुधारवादी नेता थिए । देशको राजनीतिमा निजी क्षेत्रको पकड र निजी क्षेत्रलाई नियमनको सीमामा राखेर व्यापार व्यवसायमा केही सीमित समूहको एकहट्टीको अन्त्य गराएमात्र जनताप्रति न्याय गर्न सकिन्छ भन्नेमा उनी दृढ थिए ।
रुजवेल्ट सुरुको सार्वजनिक जीवनमा हाउस (तल्लोसदन) को सदस्य हुन्छन् । न्यु योर्क सहरको पुलिस विभागको प्रमुख हुन पुग्छन् । नेभीको असिस्टेन्ट सेक्रेटरी हुन्छन् । क्युबालाई स्पेनबाट मुक्त गराउन युद्धका लागि सरकारलाई मनाउँछन् र आफैँ युद्धमा कर्नेलको पद लिएर सेनालाई हाँक्न पुग्छन् । युद्धमा अमेरिकाको विजय हुन्छ र उनको लोकप्रियता ह्वात्तै बढ्न जान्छ ।
रिपब्लिकन पार्टी कर्पोरेट हाउसको नियन्त्रणमा हुन्थ्यो । सुधारवादी सोच भएको व्यक्ति रिपब्लिकन पार्टीका लागि स्वीकार्य थिएन । रुजवेल्टलाई रिपब्लिकन पार्टीमा स्थान नदिन भरमग्दुर प्रयास हुन्थ्यो ।
क्युबाको युद्धबाट लोकप्रियताको शिखरमा पुगेका रुजवेल्ट न्यु योर्क राज्यको गभर्नरको प्रत्याशी हुने योजना बनाउँछन् । उनलाई रिपब्लिकन पार्टीले टिकट दिने सम्भावना नभएकाले जनताले स्वतन्त्र उम्मेदवार हुन आह्वान गरे । तर रुजवेल्टलाई टिकट नदिएमा न्यु योर्कको गभर्नरमा रिपब्लिकन पार्टी हार्ने निश्चित भएपछि रुजवेल्टले सन् १८९८ को निर्वाचनमा टिकट पाउँछन् र विजयी हुन्छन् । सिनेट र हाउसमा पोलिटिकल मेसिनको बाहुल्य रहेकाले रुजवेल्टले कुनै सुधारको काम गर्न सक्छन् भन्ने कुरामा संशय थियो ।
यही समयमा सामान्य परिवारमा जन्मेको हुर्केको स्यामुयल म्याक्क्लोर भन्ने व्यक्तिको प्रेस जगतमा उदय हुन पुग्छ । खासगरी देशमा व्याप्त भ्रष्टाचार र घुसखोरीका विषयमा खोजमूलक समाचार प्रकाशित गर्ने र जनतालाई सचेत गराउने ‘मिसन’ लिएर म्याक्क्लोर म्यागेजिनको जन्म हुन्छ ।
म्याक्क्लोरले आफ्नो म्यागेजिनमा तीनजना पत्रकार इडा टार्वेल, रे बेकर र लिंकन स्टेफेनलाई आबद्ध गराउँछन् । यी तीन जनाको पृष्ठभूमि र यिनलाई कसरी कहाँबाट म्याकक्लोरले भित्र्याउँछन् भनेर लेख्न धेरैवटा लेख चाहिन्छ । म्याकक्लोर म्यागेजिनले गरेको कामलाई विस्तृतरूपमा लेख्न एउटा किताब नै पढ्नुपर्छ ।
न्युयोर्क राज्यमा भइरहेको अनियमितता र स्क्यान्डललाई तथ्य र प्रमाणसहित म्याक्क्लोर म्याग्याजिनले प्रकाशित गर्ने काम गर्छ । जनता जागरुक हुन पुग्छन् । जसको बलमा गभर्नर रुजवेल्टले सुधारको कानुन नियम बनाउन सफल हुन्छन् । न्युयोर्कको सुधार कार्यले अमेरिकाको अन्य राज्यमा समेत सुधारवादी नेताहरूको उदय हुन पुग्छ ।
गभर्नर रुजवेल्टको सफलताले अमेरिकाको राष्ट्रपतिका लागि उनको वातावरण बन्न पुग्छ । तर कर्पोरेटको पकडमा रहेको रिपब्लिकन पार्टी रुजवेल्टलाई राष्ट्रपतिमा होइन न्यु योर्कको गभर्नर पदमा समेत दोहोरिन दिने पक्षमा हुँदैन ।
रुजवेल्टलाई न्यु योर्कको गभर्नर पदमा फेरि उम्मेदवार हुन नदिन उनका पार्टीका नेता दृढ थिए । तर उनी फेरि स्वतन्त्र उम्मेदवार बनेर रिपब्लिकन पार्टीको उम्मेदवारलाई हराउने कुरामा भय पनि थियो । त्यसैले रुजवेल्टलाई उपेक्षा गर्न पनि नसकिने र कार्यकारी भूमिका पनि दिन सकिने स्थितिमा पार्टी थियो ।
अमेरिकामा तत्कालीन अवस्थामा उपराष्ट्रपति पदलाई निस्क्रिय मानिन्थ्यो । त्यसबेलासम्म एउटा घटनाबाहेक उपराष्ट्रपति राष्ट्रपति भएको दृष्टान्त पनि थिएन । उपराष्ट्रपति बन्नु भनेको राजनीतिबाट सन्यास लिनु सरह हुन्थ्यो, मानिन्थ्यो ।
रुजवेल्ट १९०४ को राष्ट्रपतिको उम्मेदवार बन्नुपर्छ भन्नेमा जनताको बलियो धारणा थियो । रुजवेल्ट पनि त्यसको चाहना राख्थे तर उनलाई थाहा थियो पार्टीले यो हुन दिनेछैन । रुजवेल्टको लोकप्रियता र महत्त्वाकांक्षाले उनलाई राष्ट्रपतिको उम्मेदवारबाट वञ्चित गर्न सकिन्न कि भन्ने संशय पनि त्यत्तिकै थियो ।
त्यसैले रुजवेल्टलाई ४ वर्षसम्म कुनै प्रतिष्ठित तर कार्यकारी अधिकार नभएको पदमा राख्ने र बिस्तारै गुमनाम बनाउने उद्देश्यका साथ सन् १९०० को राष्ट्रपति निर्वाचनमा उपराष्ट्रपति पदको प्रत्याशी बनाउने पार्टीले निर्णय गर्छ । रुजवेल्टले पार्टी नेताको षड्यन्त्र बुझेका थिए तर उपराष्ट्रपति पद अस्वीकार गर्न सक्ने अवस्था भने थिएन ।
सन् १९०० मा उनी उपराष्ट्रपतिमा निर्वाचित हुन्छन् । उपराष्ट्रपति भएको दिनदेखि नै उनी अब कहिल्यै राष्ट्रपति पदको प्रत्याशी बन्न सकिन्न भनी निराश थिए । यो निराशा उनी आफ्ना परिवार र शुभचिन्तकसँग हरेक दिन व्यक्त गर्थे ।
तर नियतिले अर्कै खेल खेल्दै थियो । सन् १९०० मा राष्ट्रपति बनेका विलियम म्याकिन्लेको सेप्टेम्बर १४, १९०१ मा हत्या हुन्छ । पार्टीले राजनीतिबाट गुमनाम बनाउने चेष्टाका साथ उपराष्ट्रपति बनाइएका थियोडर रुजवेल्ट सेप्टेम्बर १४, २००१ मा ४२ वर्षको उमेरमा (सबैभन्दा कान्छो) राष्ट्रपति बन्न पुग्छन् ।
रुजवेल्टको पहिलो ३ वर्ष ६ महिना र दोस्रो ४ वर्षको कार्यकालमा म्याक्कलेर म्यागेजिनमा तेल, रेलवे, कोइला खानी र अन्य कर्पोरेट क्षेत्रमा भइरहेका भ्रष्टाचार, अनियमिततालाई जनता सामु ल्याउने काम गर्छ । म्यागेजिनमा प्रकाशित समाचारको आधारमा सबै उद्योग व्यवसायको अनियन्त्रित सञ्चालनलाई सरकारी अनुगमन र नियमनको परिधिमा ल्याउन रुजवेल्टले विभिन्न कानुन बनाउन र कंग्रेसबाट पास गराउन सफल हुन्छन् ।
पानामा क्यानल र सल्ट नदीमा संसारको सबभन्दा अग्लो ड्याम (१२० वर्षअघि) जस्ता पूर्वाधार निर्माणको कामसमेत राष्ट्रपति रुजवेल्टको कार्यकालमा आरम्भ हुन्छ । रुजवेल्टको राष्ट्रपतीय कार्यकालमा ऐतिहासिक सुधारका कार्यहरू सम्पन्न हुन्छन् र अमेरिकाको आधुनिक विकासको जग यही समयमा आरम्भ हुन्छ ।
अमेरिकाको २०२४ को राष्ट्रपतिको निर्वाचनमा फेरि एकपटक कन्सिक्वेन्सियल राष्ट्रपति बन्ने देखिँदैछ । अमेरिकाको राजनीतिक मार्ग परिवर्तन गर्दै इतिहास बन्ने देखिँदैछ ।
डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका लागि वर्तमान राष्ट्रपति जो वाइडेन लगभग अनुमोदित भइसकेका थिए । जो वाइडेन ३० वर्षमा सिनेटर बनेका हुन् भने ३० वर्ष लगातार सिनेटर बनिरहे । काला जातिका पहिला राष्ट्रपति बाराक ओबामाको मातहतमा उपराष्ट्रपति बन्न स्वीकार गरेर इतिहास बनाएका गोरा हुन् जो वाइडेन ।
सन् २०२० को राष्ट्रपति निर्वाचनमा उम्मेदवार हुँदै गर्दा आफ्नो उपराष्ट्रपतिमा कालाजातिको भारतीय आमाबाट जन्मिएकी कमला ह्यारिसलाई चयन गरेर अर्को इतिहास बनाए जो वाइडेनले । अमेरिकाको इतिहासमा कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बनिन् ।
जो वाइडेन ८१ वर्षको हुँदै गर्दा उनमा उमेरको असर देखिन थालेको थियो । उनी हिँड्दा लड्खडाउन थालेका थिए । आफूसँग काम गर्ने मान्छेको नाम बिर्सिन थालेका थिए । मान्छेहरूको नाममा भ्रमित हुन थालेका थिए । डेमोक्रेटिक पार्टीका नेताहरू र शुभचिन्तकहरू वाइडेनको शारीरिक र मानसिक अवस्थाको कारण चिन्तित हुँदै थिए । यसैबीच यही जुन २७ मा डोनाल्ड ट्रम्प र वाइडेनको बहसमा वाइडेनको प्रस्तुति टिठ लाग्दो हुन गयो । ट्रम्पको अगाडि वाइडेन शारीरिक र मानसिकरूपमा कमजोर देखिए ।
पूर्वहाउस स्पिकर न्यान्सी पेलोसीदेखि पूर्वराष्ट्रपति बाराक ओबामासम्म वाइडेनले निर्वाचन जित्न नसक्ने निर्क्योलमा पुगे । यसैबीच ट्रम्पको हत्याको प्रयास भयो । ट्रम्पलाई सहानूभुतिको समर्थन बढ्न गयो । रिपब्लिकन पार्टीको नेसनल कन्भेनसन सकिँदै गर्दा ट्रम्पको ह्वाइट हाउस यात्रा निश्चितजस्तै देखिन थाल्यो ।
सन् २०१६ पछिको ४ वर्षको ट्रम्पको कार्यशैली विवादित र अमेरिकी जनतालाई विभाजन गर्ने प्रकृतिको रह्यो । ट्रम्पमा अधिानायकवादी चरित्र उजागर भयो । भ्यादिमिर ट्रम्प पुटिन र किम जोङ उनको प्रशंसक बन्न पुगे । सन् २०२० को पराजयपछि जनवरी ६, २०२१ मा निर्वाचन परिणाम उल्टाएर आफ्नो पक्षमा विजय घोषणा गराउने उद्देश्यले आफ्ना ६० हजार समर्थकलाई क्यापिटल हिल (संसद भवन) कब्जा गर्न उक्साउन पुगे । क्यापिटल हिलमा अराजक भिडले आक्रमण गर्यो ।
जनवरी ६ तारिखको दिन ५ जना नागरिकको मृत्यु भयो भने ७४९ जना माथि मुद्दा चल्यो । यस्तै, ४६७ जनालाई जेल सजाय हुन्छ । सन् २०२१ जनवरी ६ तारिख अमेरिकाको इतिहासमा लोकतन्त्रमाथिको आक्रमण भएको दिनका रूपमा दर्ज भएको छ । ट्रम्पको ४ वर्षे कार्यकाल र जनवरी ६ को घटनाले ट्रम्प पुनः राष्ट्रपति हुने स्थितिले डेमोक्रेटिक पार्टीका नेता चिन्तित हुन पुग्छन् ।
यही चिन्ताको फलस्वरूप वाइडेनलाई राष्ट्रपतिको दौडबाट हट्न सार्वजनिक र व्यक्तिगतरूपमा दबाब पर्न जान्छ । अन्ततोगत्वा वाइडेन प्रतिस्पर्धाबाट हट्न पुग्छन् । आफ्नै उपराष्ट्रपति काला जाति र भारतीय आमाकी छोरी कमला ह्यारिसलाई आफ्नो पार्टीको राष्ट्रपतिको उम्मेदवारमा अघि सार्छन् ।
अमेरिकी जनतालाई दुई भिन्न व्यक्तिलाई चुन्ने अवसर प्राप्त भएको छ । एकातिर अहंकारी, मिसोजिनिष्ट (महिलालाई अपमानित गर्ने), यौन दुर्व्यवहारी, कर छली मुद्दा र अन्य ३६ मुद्दामा दोषी प्रमाणित भएका, अश्लील चित्रकी अभिनेत्री (पोर्न स्टार)सँगको सम्बन्ध लुकाउन घुस दिएको आरोपमा दोषी ठहर भएका, आप्रवासीलाई घृणा गर्ने, युद्धमा घाइते भएका र मृत्यु भएका सैनिकको अपहेलना गर्ने, धनीको कर घटाउने र मध्यम वर्गलाई कर बढाउने डोनाल्ड ट्रम्प छन् । अर्कोतिर काला जातिकी महिला, प्रशंसनीय सार्वजनिक जीवन भएकी, सधैँ गरिब र सर्वसाधारणका लागि लडेकी, आवाजविहीनको आवाज बनेकी, सुखद भविष्यको आशा जगाउने कमला ह्यारिस छिन् ।
वाइडेनको यो ऐतिहासिक निर्णयले सारा डेमोक्रेटिक पार्टीलाई ऊर्जा प्रदान गरेको छ । कमला ह्यारिसको उम्मेदवारीमा एकजुट हुन पुगेका छन् । कमलाको उम्मेदवारीले अमेरिकामा ऊर्जा, आशा, खुशी, हाँसो र सुरक्षित लोकतन्त्रको परिवेश सिर्जना गरेको छ । कुनै अप्रत्याशित घटना भएन भने सम्भवतः अमेरिकामा प्रथम महिला, त्यो पनि काला जातिकी भारतीय आमाबाट जन्म लिएकी कमला ह्यारिस राष्ट्रपति बन्नेछिन् ।
अमेरिकाको पहिलो कालो जातिका राष्ट्रपति बाराक ओबामाकी आमा गोरा जातिकी थिइन् । ओबामालाई गोरा जातिका हजुरबुबा हजुरआमाले हुर्काएबढाएका हुन् । ओबामा गोरा जातिको समाजमा हुर्के बढेका हुन् । ओबामाले कोलम्बिया र हार्वर्ड जस्ता सम्भ्रान्तहरू अध्ययन गर्ने विश्वविद्यालयबाट स्नातक गरेका छन् ।
कमला आप्रवासी काला बाबुआमा (आमा दक्षिण भारतकी थिइन्) बाट जन्मेकि हुन् । एकल आमाले हुर्काएकी पढाएकी हुन् । त्यतिमात्र होइन, कमलाले काला जाति पढ्ने विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी हुन् । यस अर्थमा बाराक ओबामाभन्दा कमला ह्यारिसले बढी काला जातिलाई प्रतिनिधित्व गर्छिन् ।
अमेरिकामा महिलाले मतदानको अधिकार सन् १९२० को अगस्टमा प्राप्त गरेका हुन् भने महिलाले पहिलो पटक १९२० को निर्वाचनमा मतदानमा भाग लिएका हुन् । अमेरिकामा महिलाले मतदानमा भाग लिने अधिकार पाएको १०४ वर्षपछि महिला राष्ट्रपति बन्ने देखिएको छ । हिलारी क्लिन्टन २०१६ मा राष्ट्रपतिको पहिलो महिला उम्मेदवार हुँदै गर्दा महिलाले मतदानमा भाग लिन पाउने अधिकार पाएको ९६ वर्ष भएको थियो ।
वाइडेन र ट्रम्पको बहस हुँदैनथ्यो भने वा त्यही बहस यही अगस्ट २२ मा सम्पन्न डेमोक्रेटिक पार्टीको नेसनल कन्भेसन पछि हुँदो हो त वाइडेन राष्ट्रपतिको उम्मेदवारबाट हट्ने थिएनन् । एकदिनको ९० मिनेटको डिबेटले अमेरिकाको राजनीतिको मार्गमात्र परिवर्तन गरेको छैन अर्को इतिहास पनि बन्दैछ । कमला ह्यारिस कन्सिक्वेन्सियल राष्ट्रपति बन्दैछिन् ।
देशको जीवनमा यस्तो आकस्मिक र अप्रत्याशित घटना हुन पुग्छ, भएको छ । देशको इतिहासले कोल्टे फेरेको छ । नेपाल पनि यसको अपवाद होइन । विसं २०४८ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराई हार्दैनथे भने २०५० सालमा मदन भण्डारीको मृत्यु हुँदैनथ्यो भने २०५९ सालमा राजा वीरेन्द्रको र उनको परिवारको हत्या हुँदैनथ्यो भने नेपालको राजनीतिक मार्ग अर्कै हुनेथियो । नेपालको जुन अवस्था छ र दूर भविष्यमा समेत अवस्थामा सुधार हुने आशा देखिँदैन । मैले यहाँ लेखेको आकस्मिक र अप्रत्याशित घटना नभएका भए नेपालको अवस्था सायद भिन्न र सुखद हुन्थ्यो कि ?
दोस्रो विश्वयुद्धमा जापानमा खसालिएको एटम बम यहुदी वैज्ञानिकहरूले बनाएका हुन् । हिटलरले यहुदीहरूमाथि अत्याचार नगरेको भए उनीहरू जर्मनी छाडेर अमेरिका पलायन हुने थिएनन् । त्यसो हुन्थ्यो भने एटम बम अमेरिकामा हैन जर्मनीमा बन्थ्यो अनि जापानमा नभएर बेलायत, रसिया, फ्रान्स अनि सम्भवतः अमेरिकामा खस्थ्यो । अहिलेको विश्वको भूगोल र देशहरूको सिमाना तथा इतिहास भिन्नै हुने थियो । संसारमा भएका संयोगपूर्ण घटनाले देशको मात्र होइन विश्वको राजनीतिक मार्ग र इतिहास पनि बदलिएको छ ।
( नेपाल सरकारका पूर्वसचिव)