site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा सर्पको डसाइबाट दुई बालिकाको मृत्यु, एक घाइते
प्रतीकात्मक तस्बिर ।

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–७, महुलिया गाउँमा शुक्रबार राति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ । बालिकाकी हजुरआमा अन्दाजी ७२ वर्षीया रिजु घर्तीमगरलाई पनि सर्पले डसेको र उनको उपचार भइरहेको छ ।

मूलढोकामा रहेको प्वालबाट राति घरभित्र पसेको करेत नामक सर्पको डसाइबाट स्थानीय पाँच वर्षीया बालिका लिजा र ६ वर्षीया काजल घर्तीमगरको मृत्यु भएको वडाध्यक्ष आशाराम डगौरा थारुले जानकारी दिए ।

करेतले पहिले ओछ्यानमा सुतेका दुवै बालिकालाई शरीरका दुई–तीन ठाउँमा डसेको थियो । त्यसपछि बालिकाकी हजुरआमा रिजुको काँधमा डसेको देखिएको छ ।

Argakhachi Cement Island Ad

शरीरमाथि हिँडिरहेको थाहा पाएपछि वृद्धा रिजुले सर्पलाई हातले समातेर फ्याँक्न खोजेकी थिइन् । त्यति बेला उनको हातमा समेत डसेको घटनास्थल पुगेका डगौरा थारुले बताए ।

“सुतिरहेका बालिकालाई सर्पले डसेको रहेछ भन्ने थाहा नहुँदा घाइते हुनुभएकी वृद्धालाई मात्र राति नै नेपाली सेनाको कैलालीको बडैपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्‍याइएको थियो,” वडाध्यक्ष डगौरा थारुले भने, “पछि दुई बालिकाले घरमा अचानक बान्ता गर्न थालेपछि उनीहरूलाई पनि सोही सर्पले डसेको थाहा भएको हो ।”

घाइते वृद्धालाई सर्पदंश उपचार केन्द्रबाट थप उपचारका निम्ति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याई भर्ना गरिएको छ । दुई बालिका घरमा आफ्ना हजुरआमा र हजुरबासँगै बस्ने गरेका थिए । बालिकाका बुवाको पहिले नै मृत्यु भइसकेको र आमा कामको खोजीमा जिल्लाबाहिर रहेको बताइएको छ ।

गर्मीयाममा खासगरी तराईका जिल्लामा विषालु सर्पको डसाइले धेरै व्यक्तिको मृत्यु हुने गरेको छ । सर्पले डसेपछि घरमै झारफुक गराउने र अन्तिम अवस्थामा मात्र अस्पताल लैजाने कतिपयको प्रवृत्तिले बिरामीको मृत्यु हुने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बताउँछन् । सर्पको डसाइका बिरामीको निःशुल्क उपचार हुने गरेको छ ।

खानाको खोजीमा मानिसको घर वरिपरि आइपुग्ने सर्प काठ, इँटा वा ढुंगाको थुप्रो, दुलो, झाडी भएको ठाउँमा लुकेर बस्ने गर्छ । घर वरिपरि सरसफाइ गर्न लापरवाही गर्दा लुकेर बसेको सर्पले मानिसलाई डस्ने जोखिम रहन्छ । हिउँदयाममा सर्प जमिनमुनि लुकेर बस्ने गर्छ । गर्मीयाममा जमिनको सतहमा निस्कने गर्छ । 

गर्मी मौसममा तराईका जिल्लामा गोमन, करेत, पानीसर्प, धामन, अजिंगरको बिगबिगी हुने गर्छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्