काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा यतिखेर भारत भ्रमणमा छिन् । पाँचदिने भारत भ्रमणको सिलसिलामा उनी भदौ २ गते त्यहाँ गएकी थिइन् । उनी बिहीबार स्वदेश फर्कँदैछिन् ।
परराष्ट्रमन्त्री राणाले भदौ ३ गते भारतका विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी थिइन् ।
जयशंकर र मोदीसँग भेटवार्ता गरेका तस्बिर सार्वजनिक भएपछि केहीले सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री राणाको भारत भ्रमण सफल भएको दाबी गरिरहेका छन् । भारतले उच्च सम्मान दिएको भन्दै राणालाई भावी प्रधानमन्त्रीका रूपमा पनि चित्रण गर्न उनीहरू पछि परेका छैनन् ।
परराष्ट्रमन्त्रीको भ्रमण सफल भएको भन्दै रमाउनेमा बढी सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरू छन् ।
सत्तारूढ दलका कार्यकर्ताले गरेको प्रशंसाप्रति व्यङ्ग्य गर्दै पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले बुधबार सामाजिक सञ्जाल एक्समा अप्रत्यक्ष रूपमा लेखेका छन्, “उहिले एकजना मन्त्री थिए, जो मिडियामा उनले बोलेको वा कसैलाई भेटेको खबर आएपछि भन्थे, ‘देख्नु भो, काम यसरी गर्नुपर्छ ।’ अर्थात् समाचार निस्कनु नै काम भएको हुन्थ्यो उनका लागि । अहिले त सबै त्यस्तै भए ! जमाना अनुसार !!”
भदौ ३ गते भारतीय विदेश सचिव र परराष्ट्रमन्त्री राणाबीच नयाँदिल्लीमा नेपाल–भारत द्विपक्षीय बैठक बसेको थियो । बैठकपछि परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षीसँगका भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदान–प्रदानका विषयमा छलफल भएको बताइन् ।
“यस भ्रमणबाट सदियौँ पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु,” परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेखेकी छन् ।
भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्रीका रूपमा पहिलो औपचारिक विदेश भ्रमणमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । द्विपक्षीय बैठकमा उर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक नेपाल–भारत सहकार्यबारे छलफल भएको उनले जनाए ।
“नेपालले भारतलाई एक हजार मेगावाट विद्युत् निर्यात गर्ने भएकाले खुसी लागेको छ, यो एउटा नयाँ कोसेढुंगाको रूपमा रहेको छ,” नेपाली समकक्षीलाई भेटेपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा लेखेका थिए, “हाम्रो छिमेकी पहिलो नीति र विशिष्ट जनता–जनताबीचको एवं सांस्कृतिक नाताले हाम्रो सम्बन्धलाई अघि बढाएको छ ।”
जुन दिन राणा र जयशंकरबीच भेटवार्ता भएको थियो, त्यही दिन भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय सार्वजनिक गरेको थियो । यो निर्णयसँगै भारतले अब नेपालबाट ९४१ मेगावाट विद्युत् आयात गर्नेछ । यो सहमति भदौ ३ गतेको नेपाल–भारत द्विपक्षीय बैठकमा भएको भने होइन ।
नेपालले थप विद्युत् भारत निर्यात गर्ने प्रक्रिया धेरै अघिदेखि अगाडि बढेको थियो, तर भारतले गरेको निर्णय उक्त दिन सार्वजनिक गरेको थियो । यसैकारण नयाँदिल्लीस्थित नेपाली दूतावासले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणलाई लिएर विज्ञप्ति जारी गर्दा थप विद्युत् खरिद गर्ने निर्णयलाई समेटेन् ।
भदौ ३ गते नै परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गरेकी थिइन् । भेटमा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उनले बताएकी छन् ।
“नेपालको परराष्ट्रमन्त्रीका रूपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु,” परराष्ट्रमन्त्री राणाले भनेकी छन् ।
भेट हुँदा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजकीय भ्रमणका लागि भारतीय समकक्षीलाई पठाएको निम्तो हस्तान्तरण गरेकी थिइन् । यो निम्तो प्रधानमन्त्री ओलीले यही साउन अन्तिम साता भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदा उनलाई थमाएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले पनि परराष्ट्रमन्त्री राणासँगको भेटबारे सामाजिक सञ्जालमा उल्लेख गरे, “नेपालका परराष्ट्रमन्त्री आरजु राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको छ । भारत र नेपालबीच गहिरो सभ्यतागत सम्बन्ध तथा प्रगतिशील एवं बहुआयामिक साझेदारी रहेको छ । हाम्रो विकास साझेदारीले निरन्तर गति पाउने कुरामा आशा राखेको छ ।”
पूर्वपरराष्ट्र सचिव आचार्यका अनुसार, कुनै पनि भ्रमण कति सफल वा असफल भन्ने त्यसको उद्देश्य के थियो भन्नेमा निर्भर हुन्छ ।
भारतले परिचयात्मक भ्रमण भनेर गत साउनको अन्तिम साता विदेश सचिव विक्रम मिश्रीलाई नेपाल पठाएको थियो । त्यसैकारण उनी नेपाल आउँदा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक बसेन । उनले समकक्षी सेवा लम्साललाई सामान्य रूपमा मात्र भेटेका थिए ।
तर, परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा हुँदा नेपाल–भारत विदेशमन्त्री स्तरीय द्विपक्षीय बैठक बसेको छ । द्विपक्षीय बैठकपछि नयाँदिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै मन्त्रीले व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधार लगायतका नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गरेका थिए ।”
दुवै पक्ष नियमित द्विपक्षीय संयन्त्रलगायत विभिन्न तहमा संलग्नतालाई निरन्तरता दिन सहमत भएको नेपाली दूतावासले जनाएको छ । “यदि भ्रमणमा जाने व्यक्तिले वा जारी विज्ञप्तिमा ‘भ्रमण सफल भयो, सौहार्दपूर्ण रूपमा छलफल भयो, सम्बन्ध थप मजबुत भयो’ भन्छ भने कूटनीतिमा यसलाई असफल भ्रमण हो भन्ने बुझ्नुपर्छ,” पूर्वपरराष्ट्र सचिव आाचार्यले भने, “सफल भ्रमणमा– यस्तो सहमति तथा सम्झौता भयो, यस्तो काम गर्ने निर्णय भयो भन्ने जस्ता कुरा आउँछन् ।”
एउटा परराष्ट्रमन्त्रीले विदेश भ्रमण गर्दा सम्बन्धित देशको विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता गर्नु र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नु सामान्य कूटनीतिक अभ्यास मानिन्छ । सामाजिक सञ्जालमा यस्तै भेटवार्तालाई आधार बनाएर भ्रमण सफल भयो भनिएको छ ।
“विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक बसेको छ, तर दुई देशका गम्भीर मुद्दाहरू जहाँको त्यहीँ छन् । नेपाल र भारतबीच रहेका उच्चस्तरीय संयन्त्रले पनि काम गर्न सकेका छैनन् । यस्तो अवस्थामा भ्रमण के आधारमा सफल भयो भन्ने ?,” पूर्वपरराष्ट्र सचिव आचार्यले प्रश्न गरे ।
नेपाल र भारतबीच सुल्झाउन बाँकी धेरै मुद्दा छन् । सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, ईपीजी प्रतिवेदन बुझ्ने कार्य, कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायतका क्षेत्रमा रहेका सीमा विवाद, नेपालमा रहेका भारतीय नोटको सटही, नेपालको अनुमति नलिई भारतले सीमामा निर्माण गर्ने पूर्वाधार, भारतीय सुरक्षा वलको ज्यादती, यस्ता विषय थुप्रै छन् जसले भ्रमणका स्थान नै पाएनन् ।
जुन विषय र मुद्दाले पछिल्ला वर्षहरूमा नेपाल–भारत सम्बन्धमा चिसो पसेको छ ती विषय र मुद्दा सुल्झाउनेतर्फ छलफल नै अघि बढ्न सकेको छैन । परराष्ट्रमन्त्री राणाको यसपटकको भ्रमणमा पनि यी विषय र मुद्दाले स्थान पाएनन् ।
“भ्रमण सफल भयो भन्नु नै असफल हुनु हो । भ्रमण सफल भए त यो यो गरियो, सहमति तथा सम्झौता गरियो भनेर सूची नै प्रस्तुत गर्न सकिन्छ,” पूर्वपरराष्ट्र सचिव आचार्यले भने ।
यस्ता भ्रमणहरू बाहिर जति राम्रो भयो भनिन्छ भित्र त्यति नै नराम्रो भयो भन्ने बुझ्नुपर्ने उनी बताउँछन् । भ्रमण सफल भए कामका सूची बाहिर आउँछ भने भ्रमण असफल भए लामा–लामा अमूर्त भाषण ।