site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुकुल ढकालको २४ घण्टे स्पष्टीकरणबारे के गर्दै छ रास्वपा ?  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निवर्तमान महामन्त्री मुकुल ढकालको स्पष्टीकरणबारे कुनै निर्णय लिइसकेको छैन । रास्वपाले गत साउन ३० मा साधारण सदस्यबाट किन निष्कासित नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । 

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सोधेका थिए, “पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेस गर्नुहुन सूचित गरिन्छ ।” 

उक्त स्पष्टीकरणको जवाफ मुकुलले साउन ३१ गते दिइसकेका छन् । उनले जवाफ सामाजिक सञ्जालमा पनि राखेका छन् । 

ढकालले स्पष्टीकरणको जवाफमा तीन वटा प्रश्न तेर्साएका छन् । 

उनले सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेमाथि छानबिनका लागि पार्टीबाट स्वतन्त्र समिति किन गठन नहुने भन्दै सोधेका छन् ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीले स्पष्टीकरणबारे थप निर्णय भइनसकेको बताए । रास्वपाको केन्द्रीय समिति बैठक बुधबार बस्दै छ । बैठकको एजेन्डामा सो विषय उल्लेख छैन । 

“स्पष्टीकरण प्राप्त भएको छ । छलफल भइरहेको छ । केही निर्णय गरिसकेका छैनौँ,” उनले भने, “भोलिको केन्द्रीय समितिमा पेस गर्ने कि नगर्ने भन्ने टुंगो भइसकेको छैन ।”

मुकुलले स्पष्टीकरणभन्दा पनि आक्रोश पोखेको एक पदाधिकारी बताउँछन् । कानुनी परामर्श गरेर निर्णय लिने वा केन्द्रीय समितिमा लैजाने भन्ने टुंगो नलागेको एक नेताले जानकारी दिए । “उहाँको जवाफ स्पष्ट छैन । सफाइको अवसरभन्दा पनि आक्रोश पोख्नुभएको छ । केन्द्रीय कमिटी बैठकमा प्रवेश गराउने वा नगराउने भन्ने निधो भइसकेको छैन,” ती पदाधिकारीले भने । 

स्रोतका अनुसार केन्द्रीय कमिटीको अर्को बैठकमा निर्णयमा लागि लैजाने सम्भावना छ । रास्वपाले असार २५ गते ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट पदमुक्त गरेको थियो । 

ढकाललाई पार्टी निर्णय चित्त नबुझे पुनरावेदन गर्न ३५ दिनको समय दिएको थियो । तर, उक्त समयमा पुनरावेदन नदिएर सञ्चार माध्यमहरूमा नेताहरूको छवि, इज्जत र प्रतिष्ठा धमिल्याउन खोजेको, पार्टीका शुभचिन्तक भड्काउन खोजेको आरोप रास्वपाको छ । 

सोही आरोप लगाउँदै रास्वपाले ढकाललाई साधारण सदस्यबाट किन नहटाउने भनि स्पष्टीकरण सोधेको थियो ।

रास्वपाले ढकाललाई महामन्त्री र प्रवक्ता पदबाट हटाएर केन्द्रीय समिति अद्यावधिकका लागि निर्वाचन आयोग पनि पठाएको थियो । तर, आयोगले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन । 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro