site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पोखरा उद्योग वाणिज्य संघमा पोखरेलको टिम घोषणा, अर्को टिम रणनीति बनाउँदै

पोखरा । यसपटक पनि पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि अर्जुन पोखरेल भिड्ने भएका छन् । अघिल्लोपटक प्यानल नै बनाएर पवनकुमार प्रजापतिसँग निर्वाचनमा होमिएका पोखरेलले त्यतिबेला भने सफलता पाउन सकेनन् । प्रजापतिको प्यानल नै निर्वाचित भयो ।

पोखरेलले यसपटक फेरि यही भदौको अन्तिममा हुने निर्वाचनका लागि टिम घोषणा गरिसकेका छन् । उनीविरुद्ध हालका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की प्रतिष्पर्धामा उत्रिने चर्चा छ ।

तर, कार्की समूहका भनेर चिनिएका केही व्यवसायी शनिबार पत्रकार सम्मेलन गरेका पोखरेललको टिमबाट उमेदवार बनेका छन् । यसले गर्दा पोखरा उद्योग वाणिज्य संघको निर्वाचन रोचक हुने देखिएको छ ।

Argakhachi Cement Island Ad

यही भदौ महिनाको २८ र २९ गते संघको ३५औँ अधिवेशन हुँदै छ । त्यसका लागि पोखरेलले आफ्नो टिमका पदाधिकारी घोषणा गरेका छन् । उनको टिमबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र उपमहासचिवमा बालकृष्ण कोइरालाले उमेदवारी घोषणा गरेका छन् ।

बलराम आचार्य, दिनेशचन्द्र बास्तोला र मनोजकुमार श्रेष्ठ गोकर्ण कार्की प्यानलबाट निर्वाचन लड्ने चर्चा थियो । तर, निर्वाचनको चार हप्ताअघि नै प्यानल घोषणा गरेका पोखरेलले पदाधिकारीमा यी अनुहारहरू समेटेका हुन् ।

आफ्नो उमेदवारी घोषणा गर्दै पोखरेलले पूर्वअध्यक्षहरूको सल्लाहअनुसार तयारी गरेको बताए । अघिल्लो निर्वाचनमा प्राविधिक कारण आफू पराजित भए पनि व्यावसायिक मुद्दा उठाउन भने नछाडेको उनको भनाइ छ ।

सबैभन्दा पुरानो संस्थाको प्रभावकारिता कम हुँदै गएको, व्यवसायीहरूको गुनासो सम्बोधन गर्न नसकेको, आर्थिक मन्दीको अवस्थामा पोखराका व्यवसायीहरूको धारणा, माग र सुझाव सरकारसमक्ष प्रभावकारीरूपमा राख्न नसकेको, पोखराको समग्र विकासमा सरकारले ध्यान नदिँदा संघले जोडदार आवाज उठाउन नसकेको र उद्यमशीलताको विकास गरी युवालाई स्वरोजगार बनाउनेतर्फ उन्मुख नभएको उनको भनाइ छ ।

उनले निर्वाचनमा व्यवसायीहरू आफ्ना व्यवसायलाई निरन्तरता दिन नपाइरहेको अवस्था, घरभाडा, तलब, ब्याज, कर तिर्न ऋण लिनुपर्ने अवस्था रहेको, व्यापार, व्यवसाय, कारोबार गिर्दो अवस्थामा रहेको हुँदा यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

हालका अध्यक्ष पवन प्रजापतिको निकट मानिएका कार्की समूहले भने हालसम्म औपचारिक प्रतिक्रया त दिइसकेको छैन । तर, मतदाता रिझाउन भने भित्रभित्रै सक्रिय छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्