
काठमाडौं । यशोदा फुड्स र चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सबीच चाउचाउको ट्रेडमार्क सम्बन्धी विवाद चर्किएको छ । यशोदा फुड्सको ‘करेन्ट’ चाउचाउले ‘वाइवाइ’ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै सीजी फुड्स अदालत गएको थियो ।
यशोदा फुड्सले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागमा करेन्ट चाउचाउको ट्रेडमार्क दर्ता गरेको थियो । कम्पनीले करेन्ट नामको ट्रेडमार्क र लेबल उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई कानुनभित्र रहेर उत्पादन र बिक्री गर्दै आएको बताएको छ ।
कसरी भयो विवाद ?
यशोदा फुड्सको आवेदन नम्बर ०९८२२९ मा रहेको २० रुपैयाँमा बिक्री गर्ने ५ प्याकको करेन्ट चाउचाउको लेबल दर्ता एवम् उत्पादन तथा बिक्री वितरण रोक्न माग गर्दै विभागमा सीजी फुड्सले निवेदन दिएको थियो ।
सीजी फुड्सको निवेदनविरुद्ध उद्योग विभागले दाबी नपुग्ने भन्दै यशोदाको ट्रेडमार्क दर्ता हुने भनेर २०८० सालको जेठ २९ गते फैसला गरेको यशोदा फुड्सले जनाएको छ ।
विभागको फैसलाविरुद्ध सीजी फुड्स उच्च अदालत पाटन गएको थियो । सीजीले उक्त आवेदनको लेबलको चाउचाउको उत्पादन तथा विक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गर्दै निवेदन दिएको थियो ।
उक्त रिट निवेदनमा उच्च अदालत पाटनको संयुक्त इजलासले मुद्दाको फैसला नहुँदासम्म यो प्रक्रिया यथास्थितिमा राख्ने फैसला गरेको थियो ।
“यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं. ०९८२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा सुरू तहले गरेको निर्णयको न्यायिक परिक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट मिति २०८०/०२/२९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो,” उच्च अदालतको फैसला भएको यशोदा फुड्सले जनाएको छ ।
उच्चको आदेशविरुद्ध यशोदा फुड्स सर्वाेच्च अदालत गएको थियो । साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले ‘कानुन बमोजिम गर्नू’ भन्दै फैसला गरेको छ ।
सीजीले भन्छ– नक्कल नगर्न आदेश
सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको सीजीले जनाएलगत्तै यशोदा फुड्सले पनि विज्ञप्ति जारी गर्दै खण्डन गरेको छ ।
करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो ।
उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको र उक्त आदेश विरुद्द यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनुपर्ने दाबीका साथ सर्वोच्च अदालत गएको सीजीले जनाएको छ ।
सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको सीजीको दाबी छ ।
यस्तो छ सीजीको भनाइ
सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायधिश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।
उक्त आदेश विरुद्द यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्ने दावीका साथ सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो ।
यशोदा फुड्सद्वारा उत्पादीत करेन्ट चाउचाउले विश्वभर ख्यातीप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरि वाइवाइ जस्तै देखिने ¥यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको छ ।
चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको थियो ।
यशोदा फुड्सले वाइवाइको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको थियो । उच्च अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको थियो ।
यस आदेशले वाइवाइको नक्कल गरि बजारमा पठाईएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने हुन्छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा विक्रिवितरण गरिएमा अदालतको मानहानी गरेको मानिनेछ किन भने आदेशले यस्तो कार्य नगर्न भनेको छ ।
अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरि चौधरी ग्रुपद्वारा उत्पादीत वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखिको पहिलो रोजाईमा रहदै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ करेन्टले वाइवाइको ट्रेडमार्क नक्कल गरेको थियो । यसबाट उपभोक्ताको अधिकारमाथि समेत प्रत्यक्ष प्रहार गरिएको थियो ।
अदालतको यस आदेशले वौद्विक सम्पत्ति चोरि गरि नाजायज फाइदा उठाउन खोज्ने प्रवृत्तीलाई निरुत्साहित गरेको छ । करेन्टले वाइवाइको ख्यातीलाई भजाएर आप्mनो व्यापारिक स्वार्थमा प्रयोग गर्ने चेष्टा गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय जगतमा यस्तो कार्य गर्ने कम्पनीलाई घृणा गरिन्छ भने यस्ता कम्पनीद्वारा उत्पादित वस्तुको गुणस्तर माथि गम्भिर प्रश्न उठाइन्छ । स्थापित ब्राण्डको नक्कल गरि आप्mनो गुणस्तरहिन उत्पादन विक्रि गरि केही समयमा नै पैसा कमाउने र बजारबाट गायब हुने प्रवृत्तिका कम्पनीका रुपमा यस्ता कम्पनीलाई लिने गरिन्छ ।
के भन्छ यशोदा फुड्स ?
यशोदा फुड्सले विपक्षीले विरोध गरेकोले एक आवेदन नम्बरको लेबलका विषयमा उच्च अदालतले यथास्थितिमा राख्नु भनि गरेको आदेशलाई सिरोधार्य गर्दै उक्त आवेदन नम्बर ०९८२२९ को लेबलबाट कुनै मालवस्तु उत्पादन नगरेको बताएको छ ।
उद्योग विभागबाट ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त अन्य लेबलको मालवस्तु उत्पादन एवं बिक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।
यस विषयलाई गलत व्याख्या गर्दै विक्री वितरणमै रोक लगाएको र बजारमा गएको सामान समेत फिर्ता लिनुपर्ने भन्ने भ्रामक समाचारमा सत्यता नरहेको कम्पनीको भनाइ छ । “त्यस्ता भ्रामक समाचारमा कुनै सत्यता नरहेको हुँदा यस्ता हल्लाको पछाडि नलागी निर्वाद रुपमा हाम्रा उत्पादनहरु विक्री वितरण गर्न तथा उपभोग गर्न आर्म उपभोक्ता महानुभावहरु, व्यापारी वर्ग तथा डिलरहरुसमक्ष अनुरोध गर्दछौँ,” कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।