site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
किन जुधाइयो दीपक–दीपा र जितुको चलचित्र, सम्बन्ध पानी बाराबार हो ? 
SkywellSkywell

काठमाडौं । अभिनेता जितु नेपालले आउँदो असोज २४ गते चलचित्र ‘ज्वाइँ साब’ रिलिज गरिनेमा आफ्नो कुनै भूमिका नरहेको बताएका छन् । आफू सिनेमाको कलाकार मात्र भएको उनले प्रस्ट पारेका छन् ।

जितुले यसो भने पनि धेरैजना यो स्वीकार गर्न तयार छैनन् । व्यक्तिगत ‘इगो’का कारण धेरैले जितुको चलचित्र ‘ज्वाइँ साब’ ‘छक्का पञ्जा’सँग जुध्न आएको बताइरहेका छन् । 

“म यो चलचित्रको कलाकार मात्र हो । पारिश्रमिक लिएर काम गरेको मात्र हुँ,” जितुले बाह्रखरीसँग भने, “सिनेमाको रिलिज डेटमा कलाकारको कुनै भूमिका हुँदैन । यो सिनेमा रिलिजमा पनि मेरो हात छैन ।”

KFC Island Ad
NIC Asia

निर्माण टिमबाहिर जसले जसरी बुझे पनि ‘ज्वाइँ साब’को रिलिज डेटमा निर्माता र निर्देशकको भूमिका रहेको उनको भनाइ छ । “बाहिरबाट देख्दा पहिला सँगै एउटै टिममा काम गरेका तर पछि छुट्टाछुट्टै काम गरेपछि सिनेमा जुधाउन ल्यायो भन्ने परेको छ,” जितु भन्छन्, “तर, बुझ्नेलाई थाहा हुन्छ – रिलिजमा कलाकार होइन, निर्माता र निर्देशकको मात्र हात हुन्छ ।”

‘ज्वाइँ साब’को रिलिज डेटमा विशेष गरी निर्माताको भूमिका रहेको उनी बताउँछन् । “सुरुमा तिहारमा आउने तयारी थियो । त्यो समय पनि अरू चलचित्र छन् । त्यसपछि जाँदा फागुनमा पुग्नुपर्छ,” उनी भन्छन्, “फागुनमा पुग्दा पनि सोलो रिलिज नपाउने भएपछि किन फागुनसम्म कुर्ने, बिदाको मौकामा दसैँमा आउने भन्ने निर्माताको कुरा रह्यो ।”

दसैँमा ‘छक्का पञ्जा–५’ आए पनि लामो बिदा हुँदा योबाहेक अरू चलचित्र हेर्न चाहनेका निम्ति ‘ज्वाइँ साब’ हुने सोचेर निर्माताले असोज २४ लाई रिलिज मिति रोजेको जितु सुनाउँछन् । “साथीहरूको चलचित्र आउँदै छ, ‘छक्का पञ्जा’को आफ्नै ठूलो ब्रान्ड छ, त्यसैले सँगै नआऊँ भनेको हुँ । तर, निर्माताले लामो बिदा हुन्छ, ‘छक्का पञ्जा’बाहेकका सिनेमा हेर्नेलाई हाम्रो चलचित्र हुन्छ भन्नुभयो,” जितु भन्छन्, “सोलो रिलिज नहुने भएपछि लगानी उठे अहिल्यै उठ्छ, नउठे पनि ठिकै छ, तर फागुनसम्म कुर्दिनँ भन्ने कुरा भयो ।”

दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा–५’ र जितुको ‘ज्वाइँ साब’ असोज २४ गते एकैदिन रिलिज गरिँदै छ । ‘छक्का पञ्जा–५’ मा दीपकराज गिरी, केदार घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । उनीहरू ‘छक्का पञ्जा–३’ सम्म जितुका सहकर्मी हुन् । ‘छक्का पञ्जा–३’ सम्म जितुले पनि सँगै काम गरेका थिए ।

‘ज्वाइँ साब’मा जितु मुख्य भूमिकामा छन् । लामो समय सँगै काम गरेका सहकर्मीका चलचित्र किन एकैदिन ल्याउन लागियो, कतै व्यक्तिगत ‘इगो’ त मुख्य कारण होइन ? भन्ने प्रश्नमा जितु भन्छन्, “हामीले रिलिज डेट घोषणा गर्दा ‘छक्का पञ्जा–५’ मात्रै थियो । ‘१२ गाउँ’ पछि आएको हो । दुईवटा चलचित्र आउनु त सामान्य पनि हो । ‘१२ गाउँ’ आएपछि तीनवटा भए र यसले थप चर्चा पाएको हो ।”

हल र स्क्रिनको संख्या धेरै रहेकाले एकैसाथ दुई चलचित्र रिलिज गरिँदा बक्सअफिसमा ठूलो असर नपर्ने स्वयं हल सञ्चालक नै बताउँछन् ।

चलचित्रको रिलिजमा कलाकारको कुनै भूमिका हुँदैन भन्ने धेरैलाई बुझाउन बाँकी रहेकामा जितु जोड दिन्छन् । गलत बुझाइको मारमा आफू परेको उनको गुनासो छ ।

सँगै नआउने सम्भावना छ ?
‘ज्वाइँ साब’ले रिलिज डेट लिएकै दिन ‘छक्का पञ्जा–५’ का कार्यकारी निर्माता समेत रहेका कलाकार केदार घिमिरे (माग्ने बुढा)ले फेसबुकमा लेखे, ‘हास्यकलाकारहरूका बीचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म कहिल्यै भएको छैन । यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ ।’

हास्यकलाकारबीच द्वन्द्व नरहेको भन्दै केदारले लेखेको उक्त स्टाटसले संवादमार्फत यी दुई चलचित्र छुट्टाछुट्टै समयमा ल्याइने संकेत गरेको थियो । तर, उनले त्यो स्टाटस लेखेको केही समयमै डिलिट गरे ।

जितु नेपालले पनि अब ‘ज्वाइँ साब’को रिलिज मिति परिवर्तन नहुने पक्का भएको बताएका छन् । “अब रिलिज मिति परिवर्तन हुँदैन । यति धेरै प्रचारप्रसार भइसक्यो, अब रिलिज मिति परिवर्तन हुने सम्भावना छैन,” उनी भन्छन्, “प्रदर्शन मिति पछाडि वा अगाडि सार्ने मनस्थितिमा निर्माता हुनु हुन्न । त्यसैले अब असोज २४ मा नै हाम्रो चलचित्र पनि आउँछ ।”

जितुको भनाइ र ‘वार्ता र संवादमार्फत हल खोजिनेछ’ भन्ने केदारले आफ्नो ‘स्टेटमेन्ट’ मेटाउनुले ‘छक्का पञ्जा’ टिम अरूलाई प्रदर्शन मिति परिवर्तन गराउन धेरै जबरजस्ती नगर्ने मनस्थितिमा रहेको बुझिन्छ । त्यसैले यी दुई चलचित्र बक्सअफिसमा एकले अर्कोको सामना गर्ने निश्चितजस्तै छ । यद्यपि, अन्तिम समयमा रिलिज डेट सारिएका चलचित्र धेरै छन् । दसैँलक्षित प्रदर्शन मिति लिएर सारिएका उदाहरण पनि प्रशस्तै छन् ।

अलग हुनुको कारण 
जितु नेपालले सञ्चालन गर्दै आएको टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्री निरौलालाई हटाएयता उनी दीपक–दीपाको टिममा छैनन् । ०७७ सालमा ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्रीलाई हटाएर नायिका करिष्मा मानन्धरलाई ल्याइएको थियो । त्यसयता जितु दीपक–दीपासँग चलचित्रमा सहकार्यबाट वञ्चित हुँदै आएका छन् ।

यो विषयमा त्यति बेला दीपकराज गिरीले बाह्रखरीसँग ‘सँगै एउटै टिममा काम गरिरहेको व्यक्तिलाई हठात् हटाउनुभन्दा सल्लाह नै गरेको भए राम्रो हुन्थ्यो’ भनेका थिए । त्यसले मन केही कुँडिएको उनको भनाइ थियो ।

आफूहरूले टिममा हरेक काममा सल्लाह गर्ने गरेको तर ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष परिवर्तन गर्दा केही घण्टाअगाडि मात्र खबर गरिएकाले असहज महसुस भएको दीपकले बताएका थिए ।

जितुले पनि यस विषयमा आफूबाट अन्जानमा केही कमजोरी भएको स्वीकार गरेका थिए । टिमसँग सल्लाह नगर्नु आफ्नो गल्ती भएको उनले बताएका थिए । तर, त्यो कार्यक्रम स्पोन्सर गरेको एडभरटाइजिङ एजेन्सीको निर्णय भएको जितुको स्पष्टीकरण थियो ।

यद्यपि, उनले आफूबाट कमजोरी भएको भन्दै नैतिक जिम्मेवारी लिएका थिए । हतारमा कमजोरी भएको स्वीकार गरेका गरेका थिए ।

त्यसपछि निर्मित चलचित्र ‘छक्का पञ्जा–४’ मा यही कारण जितुले खेल्न नपाएको धेरैले बताए । दीपकराज गिरीले भने सबै चलचित्रमा सम्पूर्ण कलाकार नहुने प्रतिक्रिया दिएका थिए । कथाअनुसार जितु ‘छक्का पञ्जा’मा हुन र नहुन पनि सक्ने उनले बताएका थिए । तर, त्यसयता दीपक–दीपाले उनीहरूका चलचित्रमा जितुलाई लिएका छैनन् । कुनै पनि चलचित्रमा सँगै काम गरेका छैनन् ।

पानी बाराबारको अवस्था हो ?
सँगै काम नगरे पनि उनीहरूबीच पानी बाराबारको अवस्था छैन । उनीहरू सार्वजनिक कार्यक्रममा सँगै देखिन्छन् । एकले अर्कालाई उनीहरूका चलचित्र हेरेर शुभकामना पनि दिन्छन् । सँगै काम भने गरेका छैनन् ।

“हामी सँगै हिँड्छौँ, विभिन्न विषयमा कुरा हुन्छ । म दीपकजीको घरमै पनि पुगेको छु । अरूअरू विषयमा कुरा हुन्छ । चलचित्रका विषयमा भने कुरा हुँदैन,” जितुले केही समयअगाडि बाह्रखरीसँग भनेका थिए, “म पनि चलचित्रका बारेमा कुरा गर्दिनँ, उहाँहरूले पनि गर्नु हुन्न ।”

दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेले चलचित्र ‘वडा नम्बर–६’ र ‘६ एकान ६’ देखि नै सहकार्य गर्दै आएका थिए । तर, एउटै घटनाले उनीहरूबीचको सहकार्य टुटाइदियो । ‘मुन्द्रेको कमेडी क्लब’ प्रकरण त्यसको कारक थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro