site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जसले श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाइदिए...

काठमाडौं । २०७७ चैत २१ गते । घडीको सुईले रातिको साढे ९ बजेको जनाउ दिइसकेको थियो । अप्सरा भनिने जमुना बस्ताकोटी ललितपुरको लगनखेलस्थित घरमा एक्लै थिइन् । श्रीमान् हिक्मत श्रेष्ठ घर बाहिर थिए । प्रेम विवाह गरेका हिक्मत र अप्सराबीच विवाहको केही समयदेखि नै सम्बन्ध समधुर हुन सकेको थिएन ।

हिक्मतको बेलुका घर फर्किने खासै ठेगान नै हुँदैनथियो । चैत २१ गते त्यसैको निरन्तरता थियो । अप्सराको माइतीपक्षको आरोपअनुसार हिक्मतले बिहेको एक वर्षदेखि नै दाइजोको नाममा पटक–पटक विवाद गर्दैै आएका थिए ।

अप्सराले श्रीमान्‌को दबाब झेलिरहे पनि घर छोड्न चाहिनन् । बरु बेलुका घर फर्किने ठेगानै नभएका श्रीमान्का लागि खाना पकाएर राखेकी हुन्थिन् ।

चैत २१ को बेलुका पनि श्रीमान् हिक्मतका लागि भनेर खाना बनाएकी थिइन् । तर, हिक्मतले त्यो राति खाना चिसो भएको भन्दै अप्सरासँग निहुँ खोजे । त्यसै निहुँमा विवाद भयो । विवादले उग्र रूपमात्रै लिएन, हिक्मतले भान्सा कोठामा भएको मट्टितेल अप्सराको शरीरभरी खन्याएर आगो नै लगाइदिए ।

मट्टितेल छर्केर आगो लागेका अप्सरा गम्भीर घाइते भइन् । हिक्मत आफैँले अप्सरालाई उपचारका लागि पाटन अस्पतालसमेत पुर्‍याए । तर, पाटन अस्पतालले भने उपचार सम्भव नहुने भन्दै कीर्तिपुरस्थित वर्न अस्पताल रिफर गर्‍यो ।

घटनाबारे माइतीपक्ष कसैलाई जानकारी थिएन । एक कान दुई कान हुँदै अप्सराकी बुवा भक्तबहादुर बस्ताकोटीले थाहा पाए । उनी आत्तिदै घटनाको १० दिनपछि चैत ३१ गते पाटन अस्पताल पुगे । पाटन अस्पतालले कीर्तिपुर वर्न अस्पताल रिफर गरेको जानकारी गराए । भक्तबहादुर कीर्तिपुर अस्पताल हानिए । तर, उनले छोरी अप्सरालाई जीवित भेट्न पाएनन् । अस्पतालले अप्सराको त्यहीदिन बिहान ११ बजे मृत्यु भइसकेको जानकारी भक्तबहादुरलाई गराए ।

Apsara-1724065898.jpg
 

हिक्मतले श्रीमती अप्सरा आफैँले मट्टितेल खन्याएर आत्महत्याको प्रयास गरेको जानकारी प्रहरीदेखि अस्पताललाई गराएका थिए । तर, छोरीको आत्महत्या नभई ज्वाइँ हिक्मतले हत्या गरेको भन्दै भक्तबहादुरले  किटानी जाहेरी दिए । भक्तबहादुरको जाहेरी प्रहरीले पनि लियो । तर, अनुसन्धान नै अगाडि बढेन ।

चार वर्षपछि पक्राउ
श्रीमतीको हत्यापछि पनि हिक्मत पक्राउ परेनन् । प्रहरीले त्यतिबेला अप्सराको आत्महत्यालाई नै स्थापित गर्न खोजे । प्रहरीले त्यहीअनुसारकै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पठायो । तर, अप्सराको बुवा भक्तबहादुर निरन्तर छोरीको न्यायका लागि धाइरहे ।  

केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले पनि अप्सराको आत्महत्या नभई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई पुनः पत्राचार मात्रै गरेन्, पक्राउ पुर्जीसहित प्रहरीको पुरानो अनुसन्धान प्रतिवेदन फिर्ता नै गरिदियो ।

वकिल कार्यालयको पत्राचारपछि भने प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले हिक्मतलाई गएको शुक्रबार पक्राउ गरेको छ ।

जग्गाको कारोबार गर्दै आएका हिक्मतलाई प्रहरीको टोलीले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको कार्यालयका एसपी अंगुर जीसीले जानकारी दिए । हिक्मतविरुद्ध आइतबार ललितपुर प्रहरीले थुनामा राखी अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro