site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेसँग भदौ ७ गते बयान लिने तयारी, यी हुन् जेलबाट समितिमा झिकाइएका आरोपित

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग यही भदौ ७ गते बयान लिने तयारी गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएका लामिछानेलाई समितिले भदौ ७ गते बयानका निम्ति बोलाउन लागेको हो ।

“समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम दुरुपयोगमा संलग्न आरोपितहरूलाई बयान लिने क्रम अन्तिम चरणमा पुगको छ,” समितिका एक सदस्यले बाह्रखरीसित भने, “उहाँ (रवि लामिछाने)लाई (भदौ) ७ गते बोलाउने तयारी छ ।”

उक्त सहकारीबाट लामिछानेले पटक–पटक गरी साढे तीन करोड रुपैयाँ लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ । लामिछानेले आरोप अस्वीकार गर्दै आएका छन् ।

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरी गोरखा मिडियामा लगानीको आरोप लगाइएका रास्वपाकै सहमहामन्त्री विपीन आचार्यसँग समितिले आइतबार (हिजो) बयान लिएको छ । समितिले सहकारीका सबै आरोपितसँग सोधपुछ गरिरहेको छ ।

जसलाई कारागारबाट ल्याएर सोधपुछ गरियो... 
समितिले सहकारी ठगी आरोपमा जेल र थुनामा रहेका करिब २० जनासँग बयान लिएको छ । तीमध्ये आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी उप्रेती)लाई डिल्लीबजार कारागारबाट झिकाएर साउन २८ गते बयान लिएको थियो ।

समितिले सोही दिन सिभिल सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था)का अध्यक्ष इच्छाराज तामाङसँग बयान लिएको थियो । उनलाई पनि डिल्लीबजार कारागारबाट झिकाएर सोधपुछ गरिएको थियो ।

डिल्लीबजार कारागारबाटै झिकाएर समितिले कान्तिपुर सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था)का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीसँग सोधपुछ गरिसकेको छ ।

गएको साउन २९ गतेको समिति बैठकमा सूर्यदर्शन सहकारीका सचिव एवं गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलसँग सोधपुछ गरिएको थियो । उनलाई कास्की कारागारबाट झिकाएर सोधपुछ गरिएको थियो ।

कास्की कारागारमै रहेका सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे), पूर्वसञ्चालक एवं सफ्टवेयर डेभलपर भविश्वर अर्यालसँग समितिले सोधपुछ गरिसकेको छ ।

साउन ३० गते समितिले पोखराकै प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शंकर कार्की र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रमणि पौडेललाई कास्की कारागारबाट झिकाएर सोधपुछ गरेको थियो ।

सोही दिन पोखराकै बलिदानी बचत तथा ऋण सहकारी संस्था र ललितपुरको सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठलाई कास्की कारागारबाट झिकाएर समितिले बयान लिएको थियो ।

साउन ३० गते नै पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेललाई कास्की कारागारबाट समितिको बैठकमा ल्याई सोधपुछ गरिएको थियो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बुटवलस्थित प्रधान कार्यालयमा क्यासियर पदमा कार्यरत रोशनी गुरुङसँग साउन ३१ गते सोधपुछ गरिएको थियो । उनी ०८० वैशाखमा दुई लाख रुपैयाँ धरौटीमा रुपन्देही जिल्ला अदालतको आदेशमा छुटेकी थिइन् ।

सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भैरहवा कारागारबाट झिकाएर समितिले सोधपुछ गरिसकेको छ । समितिले साउन ३१ गते सुप्रिमकै पूर्वसचिव दिपेशकुमार पुनसँग बयान लिएको थियो ।

साउन ३२ गते समितिले छिपछिपे, नवलपरासी (सुस्ता पूर्व), सनराइज, चितवन र नमस्ते बर्दियालगायत सहकारी संस्थाका सञ्चालक र अध्यक्ष रहेका नागेन्द्रबहादुर रिमाललाई चितवन कारागारबाट झिकाएर बयान लिएको थियो ।

ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई नख्खु कारागारबाट झिकाएर समितिले सोधपुछ गरिसकेको छ ।

ललितपुरकै मानभवनस्थित कल्याण उपकार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष लीलाबहादुर (एलबी) गुरुङलाई नख्खु कारागारबाट झिकाएर समितिले बयान लिइसकेको छ ।

ललितपुरकै कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय र भक्तपुरको गट्ठाघरस्थित कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापालाई नख्खु जेलबाट झिकाएर समितिले सोधपुछ गरिसकेको छ ।

समयावधिभित्रै प्रतिवेदन बुझाउने तयारी 
सहकारीको रकम ठगीका आरोपितलाई कारबाहीको माग गर्दै संसद्को काम–कारबाही प्रभावित भएपछि गएको जेठ १५ गते संसदीय समिति गठन गरिएको थियो । नेकपा (एमाले)का सांसद सूर्य थापा सभापति रहेको समितिले तीनमहिने कार्यावधि पाएको थियो ।

एमालेकै सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य रहेको समिति गठन गरिएको हो । कांग्रेसका पाण्डे पर्यटमन्त्री बनेपछि उनका ठाउँमा हाल सांसद दिलेन्द्र बडू समिति सदस्य छन् ।

समितिका सदस्य दाहालले समायावधिभित्रै सभामुखसमक्ष प्रतिवेदन बुझाइने बताए । “आरोपितहरूको बयान लगभग अन्तिम चरणमा पुगेको छ । समयभित्रै प्रतिवेदन बुझाउँछौँ,” उनले भने ।

समितिले प्रतिवेदनको ‘ड्राफ्ट’ पनि तयार गर्दै छ । प्राप्त प्रमाणका आधारमा जस्ताको त्यस्तै प्रतिवेदन बुझाउने समितिको तयारी छ ।

“ड्राफ्ट तयार गरिरहेका छौँ । प्राप्त प्रमाणका आधारमा जहाँजहाँ जे समस्या छन्, जस्ताका त्यस्तै प्रतिवेदन पेस गर्ने भन्ने तयारी छ,” समिति स्रोतले भन्यो ।

आरोपमा प्रमाण पुगेका व्यक्तिहरूको नाम प्रतिवेदनमा किटान गर्ने तयारी छ । समितिले मुख्यतः तीन विषयलाई प्राथमिकता दिएको छ । पहिलो, नीतिगत समस्या । दोस्रो, नियतजन्य समस्या के हो, क–कसमा देखियो ? तेस्रो, परिस्थितिजन्य समस्या के रह्यो ?

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro