site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोटीहोम समापनमा भएको के हो ? किन पुगेको थियो प्रहरी टोली ?

काडमाडौं ।  विजयकृष्ण मूर्तिका रुपमा चिनिएका गुल्मीका विजय भण्डारीले पशुपतिमा एक महिना लामो कोटीहोम चलाए ।  साउनभर चलेको कोटीहोम साउन ३१ गते सकिएको थियो । साउन ३२ मा भने कोटीहोम आयोजकले हंसमण्डपमा धार्मिक कार्यक्रम गरे ।

तर, त्यहीँ साँझ कोटीहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिमाथि सोधपुछ गर्नुपर्ने देखिएपछि प्रहरी उनलाई भेट्न कोटीहोम सञ्चालन गरिएको ठाउँमै प्रवेश गर्‍यो । समापन भइसकेको कोटी होममा केही उनका समर्थकसहित उनी थिए । जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी निरीक्षकको नेतृत्वमा सादा पोसाकको टोली गएको थियो ।

तर, विजयकृष्ण मूर्तिले उनीहरूलाई प्रवेश दिएनन् । उल्टै विजयकृष्ण मूर्तिले आफ्नो फेसबुक लाइभमार्फत प्रहरीले कोटीहोममै प्रवेश गरेर प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको भन्दै अवस्था नै तनावपूर्ण बनाए ।

अवस्था कुटपिटसम्मै पुगेपछि परिसरबाट खटिएको टोलीलाई उद्धार गर्न प्रहरी वृत्त गौशलाकै टोली नै कोटीहोम पुग्नु पर्‍यो । तर, अवस्था बिग्रदो थियो । वियजकृष्णका समर्थकले गौशालाको टोलीमाथि नै कुटपिट गरे ।

विजयकृष्ण मूर्तिको निर्देशनमा उनका समर्थकले कुटपिट गर्दा प्रहरी वृत्त गौशालाका प्रहरी सहायक निरीक्षक घाइते भएको प्रहरीले जनाएको छ । विजयकृष्णका समर्थकले प्रहरीविरूद्ध नै नाराबाजी र हुलहुज्जत गरेको प्रहरी दाबी छ ।

विजयकृष्णले फेसबुक लाइभमार्फत् भनेका छन्, “म गिरफ्तार हुन तयार छु । तर, मेरो गिरफ्तारीले आन्दोलन चर्किन्छ । देश अशान्त बन्छ । विदेशीको इसारामा ममथि षडयन्त्र भइरहेको छ ।”

उनी त्यतिमै रोकिएनन्, उत्तेजित हुँदै भने, “अब देश बंगलादेशको बाटोमा गयो । केपी ओलीको सरकारले मेरो गिरफ्तारी गर्न खोज्यो । सबै हिन्दू धर्म मान्ने र समर्थकहरू सबै पशुपति उपस्थित होऔँ ।”

किन पुगेको थियो कोटीहोममा प्रहरी ?

विजयकृष्णलाई प्रहरीले यसअघि पटक–पटक पक्राउ गर्दै आएको थियो । धार्मिक कार्यक्रमका लागि विदेश लैजाने नाममा उनीमाथि ठगीको उजुरी परेपछि उनी पक्राउ परेका थिए । त्यही आरोपमा उनी चार वर्षअघि करिब दुईवर्ष जेल नै बस्नुपर्‍यो । त्यसबाहेक उनी अन्य ठगी आरोपमा समेत पक्राउ पर्दै छुट्टै आएका थिए ।

तर, उनले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै पहिला आफूमाथि लागेको सबै आरोप गलत सावित भइसकेको र प्रहरीले दिएको रिपोर्टमा समेत आफ्नो कुनै कैफियत उल्लेख नभएको दाबी गरेका थिए ।

त्यही विषयमा अदालतको फैसलाको कपी र प्रहरी रिपोर्टबारे सोधपुछ प्रहरी उनलाई भेट्न गएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।  उनले भने, ‘‘हाम्रो टोली सामान्य सोधपुछ गर्न मात्रै गएको हो । पक्राउ गर्न धरपकड गर्न गएको थिएन । यसबारे छानबिन गर्न समिति नै बनेको छ । अब समितिको छानबिनका क्रममा केही खुल्ने नै छ ।’’

विजयकृष्णले प्रहरी रिपोर्टमा आफ्नो नाममा कुनै कैफियत नभएको दाबी गरेका थिए ।  तर, प्रहरी प्रधान कार्यालयको रेकर्डमा भने उनी अनेक घटनामा संलग्न रहेको उल्लेख छ । 

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग स्रोतका अनुसार, उनको नाममा समय–समयमा प्रहरीमा उजुरी दर्ता र ठगीमा संलग्न भएको उल्लेख गरिएको छ । प्रहरी रिपोर्ट बन्दा पनि संलग्न भएको अपराधहरू उल्लेख हुने गर्छ ।

छानबिन समिति गठन

शुक्रबार कोटीहोममा प्रवेश गरेका प्रहरीमाथि हातपात र विवादको घटनाबारे भने छानबिन थालिएको छ । समितिलाई १५ दिनको समय अवधि तोकिएको छ । छानबिनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा सात सदस्यीय टोली बनेको हो । 

सदस्यमा काठमाडौं प्रहरीका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद रायसमेत छन् ।

त्यस्तै, कोटीहोम आयोजक मानवसेवा फाउन्डेसनका विष्णुकुमार थापा र पत्रकार महासंघका सचिव गोविन्द चौलागाईं छन् । समितिले तत्कालै काम थाल्ने तयारी गरेको संयोजक ढुंगानाले जानकारी दिए ।

‘‘हामी तत्कालै छानबिनका काम थाल्छौं । त्यसका लागि कसरी जाने भन्नेबारे हामी आन्तरिक बैठक बसी निणर्य गछौं,’’ ढुंगानाले भने । 

तस्बिर– विजय कृष्णमुर्तिको फेसबुकबाट 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro