नेपाल प्रहरीले पशुपतिको कोटीहोम स्थलमा एकजना कथावाचकलाई पक्रन खोज्दा शुक्रवार भिडले प्रतिवाद गर्यो । प्रहरी घटनास्थलमा पुग्नेबित्तिकै कथावाचकको आह्वानमा समर्थकले उनलाई घेरा हाले । भिडसँग सामान्य झडपपछि अन्ततः प्रहरी फर्क्यो ।
कुटपिटको घटनामा गम्भीर घाइते भएका नुवाकोटको ककनीका एक युवकलाई प्रहरीले साउन २१ मा पक्रेर २३ गते छाड्यो । हिरासतमा राखिएका बेला घाइते युवकको उपचार भएन । साउन २८ गते ती युवकको मृत्यु भयो ।
कोटीहोम स्थलमा ‘तनाव’ भएको भन्दै सरकारले घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ । सरकारले कानुन व्यवस्थामा ठूलै समस्या उत्पन्न भएजसरी शनिवारै छलफल गरेर समिति गठन गर्यो ।
ककनीका युवकको मृत्युका सम्बन्धमा भने सम्भवतः कुनै छानबिन हुनेछैन । हिरासतमा लिएको घाइतेको उपचार गराउने दायित्व प्रहरीको हो । कुटपिटमा संलग्न नभए पनि उपचार गराउने कर्तव्यमा भने प्रहरी चुकेको देखिन्छ ।
कोटीहोम स्थलमा भिड थियो । यसैले प्रहरी भिडसँग डरायो । कोटीहोम स्थलमा भएको घटनाको छानबिन गर्न बनाइएको समितिलाई स्थलगत अध्ययन र छानबिन गरी प्रतिवेदन दिन १५ दिनको समय दिइएको छ ।
ककनीका युवाको मृत्यु कुटपिटका कारण वा अरू कारणले भएको भए पनि घटनाको विशेष अनुसन्धान हुनुपर्थ्यो । यद्यपि, कुटपिटको घटना भएकाले प्रहरीले नियमित अनुसन्धान पक्कै गरेको होला ।
कोटीहोम स्थलमा प्रहरीसँग प्रतिवाद गर्न समर्थकलाई उक्साउने काम प्रचलित कानुनको परिभाषामा ‘गुन्डागर्दी’ हो । गुन्डागर्दी गर्नेलाई पक्रेर कानुनबमोजिम अदालतमा पेस गर्नुको साटो सरकारले कम्तीमा १५ दिनका लागि कारबाही टार्यो ।
यी दुवै अहिलेको सरकारी अभ्यासमा अस्वाभाविक वा नौला घटना नमानिएलान् । तर, एउटा लोकतान्त्रिक राज्यमा समाज र सरकारका लागि भने यस्तो अभ्यास सह्य र स्वीकार्य पक्कै हुन सक्तैन ।
कोटीहोम स्थलमा प्रहरीको प्रतिवाद गर्नेमाथि कानुनबमोजिम कारबाही गर्नुको साटो सरकार यसरी भाग्ने हो भने प्रहरीको मनोबल त कमजोर हुन्छ नै अराजकता पनि बढ्छ । समितिले यस्ता विषयमा ध्यान देला कि ?
ककनीका युवकका पक्षमा भिड जम्मा नहोला । कमजोरका पक्षमा उभिनुपर्ने त राज्यले हो । प्रहरीले हिरासतमा लिएको घाइतेको उपचार नगर्दा भएको दुर्घटनाबाट पनि नेपाल प्रहरीले सिके हुन्थ्यो कि ?