सिडनी । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए, आईसीसी) को बैठक शनिबार बसेको छ ।
संघका महासचिव गौरीराज जोशीका अनुसार बैठकले आगामी अक्टोवर महिनामा काठमाडौंमा हुने एनआरएनए डे ‘एनआरएनए दिवस’ तथा वार्षिक साधारणसभालाई भव्य रुपमा सम्पन्न गर्न संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा संघको केन्द्रीय पदाधिकारीहरु, आईसीसी सदस्यहरु, सल्लाहकार र राष्ट्रिय समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।
बैठकले संस्थाका अध्यक्ष डा. केसीको संयोजकत्वमा संस्थाभित्र एकता कायम गर्नको लागि छलफल गर्न एकता समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्ने अधिकांश वक्ताहरुले सर्वोच्च अदालतले संघको ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने फैसलाको स्वागत गर्दै संस्थाका गतिविधिहरुलाई तीव्र पार्ने विषयमा आ–आफ्ना भनाइहरु राखेका थिए ।
बैठकले आगामी १५ दिनभित्र संघका कार्यदलहरुलाई पूर्णता दिने निर्णय गरेको छ ।
यस्तै, बैठकले गैरआवासीय नेपालीहरुलाई राष्ट्रिय खेलकुदमा सहभागी गराउने उद्देश्यले संघका उपाध्यक्ष रोशन थापाको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
वक्ताहरुले गैरआवासीय नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, संघका क्षेत्रीय सम्मेलन, राष्ट्रिय समितिका गतिविधिलगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।
बैठकले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुमा पञ्जिकृत सदस्यता वितरण सुरु गर्ने निर्णय गरेको छ ।
बैठकले संघको ११औं महाधिवेशनको वैधानिकताको माग गर्दै सर्वोच्च अदालतमा रिद दायर गर्ने संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङ र सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सिनालाई धन्यवाद दिने निर्णय गरेको छ । बैठक सञ्चालन संघका महासचिव गौरीराज जोशीले गरेका थिए ।