
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री, मन्त्री र सत्तापक्षका सांसद प्रतिपक्षमाथि गालीगलौजमा उत्रने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै बिहीबार (जेठ १) उनले लोकतन्त्रमा प्रतिपक्षले खबरदारी गर्दा सत्तापक्ष जाइलाग्नु शोभनीय नभएको टिप्पणी गरे ।
सत्तापक्षले काम र प्रतिपक्षले खबरदारी गर्नुलाई लोकतान्त्रिक प्रक्रियाका रूपमा स्वीकार गर्न उनले आग्रह गरे । प्रतिपपक्षको खबरदारी र जनताको असन्तुष्टिलाई कामबाट सम्बोधन गरिनुपर्नेमा उनले जोड दिए ।
“काम गर्छु भनेर जिम्मा लिएको सत्तापक्षका माननीय, मन्त्री र प्रधानमन्त्रीले मुख चलाउने होइन, काम गर्ने हो,” उनले भने, “सरकारले कामबाट जवाफ दिएदेखि हामी केही पनि बोल्नेवाला छैनौँ । हाम्रो आवाज त्यसै कमजोर भएर जान्छ । दुनियाँमा प्रतिपक्ष या जनताको खण्डन गेरर कहीँ पनि लोकतन्त्र बलियो हुँदैन ।”
सत्तापक्षका सांसदले सम्बन्धित मन्त्रीले दिनुपर्ने जवाफ दिने गरेको भन्दै उनले आपत्ति जनाए । “सत्तापक्षका माननीयज्यूहरू अप्ठ्यारोमा हुनुहुन्छ । उहाँहरूले मन्त्रीले दिने जवाफ दिइरहनुभएको छ,’ पूर्वअर्थमन्त्री समेत रहेका सांसद पुनले भने ।
डेढ महिनाअघि नै सबै मन्त्रालयले बजेट प्रणालीमा आफ्ना योजना ‘इन्ट्री’ गरिसकेको भए पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेल औपचारिकताका निम्ति संसद्मा बस्नुपरेको पुनले बताए । त्यसलाई उनले अर्थमन्त्रीको दुःखका रूपमा अर्थ्याए ।
नीति तथा कार्यक्रममा युवापुस्ता (जेनजी)का भावना र आवश्यकता सम्बोधन हुने गरी कार्यक्रम नल्याएको भन्दै उनले सरकारको आलोचना गरे । “सबैभन्दा असन्तुष्ट अहिले जेनजी पुस्ता छ । त्यो पुस्ता अविवाहित छ, करियरको खोजी गर्दै छ । त्यो भन्दापछिको जेनेरेसन अल्फा, जेनेरेसन बिटा आइसकेको छ,” उनले भने, “भर्चुअल दुनियाँमा भएको पुस्ताका बारेमा हामीले अहिल्यै सोच्नुपर्ने होइन ?”
उनले स्वास्थ्य र शिक्षाको दायित्वबाट सरकारले हात झिक्ने नमिल्नेमा जोड दिए । लगानीकर्ताका निम्ति एकैखालको प्रतिस्पर्धी नीति र ‘प्ले ग्राउन्ड’ दिनुपर्नेमा सरकारले फरक व्यवहार गरेकाले बिचौलिया वर्गको उदय भएको उनले आरोप लगाए ।