काठमाडौं । नेपाली चलचित्र उद्योगमा आफैँ लगानी गरेर सिनेमामा खेल्नु नौलो होइन । सुरुआती दिनदेखि नै धेरैले आफैँ लगानी गरेर चलचित्रमा खेल्दै आएको पाइन्छ । यो क्रम आजसम्म रोकिएको छैन ।
यसको पछिल्लो उदाहरणका रूपमा चलचित्र ‘मोदीबेनी’ र ‘नम्बरी सुन’लाई लिन सकिन्छ । ‘मोदीबेनी’मा अमरप्रताप श्रेष्ठ नायक थिए । उनका दाइ चलचित्रका निर्मातामध्येका एक हुन् ।
यही सिनेमाका अर्का निर्माता हुन्, दिलीप केसी । दिलीप यो चलचित्रका मुख्य कलाकारमध्ये एक हुन् । अमरप्रतापले यही चलचित्रमार्फत डेब्यु गरेका हुन् ।
‘नम्बरी सुन’ त्यस्तै चलचित्र हो, जसका प्रस्तुतकर्ता कलाकार पनि हुन् । नारायण खाती यो चलचित्रका प्रस्तुतकर्ता हुन् । यो सिनेमामा उनको पनि अभिनय छ ।
केहीअघि रिलिज गरिएको चलचित्र ‘चित्रा’मा नायकको भूमिकामा थिए, सन्तोष अधिकारी । यो सिनेमाका निर्माता पनि उनै हुन् । उनले अर्को चलचित्र निर्माणको घोषणा गरिसकेका छन् ।
केही समयअगाडि मात्र रिलिज गरिएको ‘पर्खि बसेँ तिमीलाई’की नायिका रक्षा बुढाथोकी हुन् । यसमा उनका बुवा राजाराम बुढाथोकीले लगानी गरेका थिए ।
अघिल्लो वर्ष रिलिज गरिएको चलचित्र ‘बगान’को निर्माता सुरेश वाग्ले थिए । यो चलचित्रमा नायिका थिइन्, प्रमिला कार्की । प्रमिला सुरेशकी श्रीमती हुन् ।
यी त भए पछिल्ला केही उदाहरण । यस्ता थुप्रै चलचित्र छन्, जसमा आफैँ लगानी गरेर अभिनय गर्ने कलाकार छन् । अथवा, छोरोछोरीले अभिनय गर्ने रहर गरेपछि लगानी गरेर चलचित्र बनाइदिने अभिभावक पनि थुप्रै छन् ।
त्यसो त यो अभ्यास नेपालमा मात्र होइन, संसारभर नै छ । हलिउड होस् वा बलिउड, आफैँ वा आफन्तलाई लगानी गर्न लगाएर सिनेमा खेल्ने चलन छ । बलिउडमा १९८० को दशकमा आफैँ लगानी गरेर चलचित्र बनाउने चलन उत्कर्षमा थियो । सन् १९८० देखि १९८५ सम्म यो प्रचलन हाबी थियो । अहिले भने केही कम भएको छ ।
लगानी गरेर आफैँ सिनेमा खेल्नु राम्रो हो कि होइन ? स्क्रिप्ट र अभिनय अब्बल भए केही फरक नपर्ने तर रहर मात्र गरे त्यसले राम्रो नतिजा नदिने निर्देशक तथा कलाकार दीपाश्री निरौलाको भनाइ छ ।
“राम्रो स्क्रिनप्ले लिएर राम्रो सिनेमा बनाउँछु भनेर आउनेलाई त नयाँ वा पुरानो भन्ने कुराले असर गर्दैन,” दीपाश्री भन्छिन्, “लगानी गरेर आउने पनि राम्रो आइदिऊन् भन्ने हाम्रो सोच हुन्छ । तर, यो सधैँ पूरा हुँदैन ।”
जो जसरी आए पनि चलचित्र बनिरहेका छन् र सिनेमा उद्योग चलायमान भइरहेको छ भन्ने पाटोबाट बहस हुने गरेको दीपाश्री बताउँछिन् । तर, पर्याप्त तयारी, बिनाअध्ययन र मिहिनेत नगरी आउँदा राम्रा सिनेमा नबन्ने उनी सुनाउँछिन् ।
“राम्रो कथावस्तु र राम्रो स्क्रिनप्ले हुँदा कहिलेकाहीँ नजरअन्दाज गरिएका कलाकार पनि हिट हुने गरेका छन् । स्क्रिनप्ले कमजोर हुँदा आफैँ लगानी गरेर आउनेहरू पछि परिरहेका छन्,” उनी भन्छिन्, “राम्रो सिनेमा बने यही उद्योगमा टिक्छन् । राम्रो काम भएन र राम्रो चलचित्र बनेन भने पलायन हुनुपर्ने अवस्था छ ।”
सिनेमा उद्योग चलायमान हुन्छ भनेर सन्तुष्ट हुनु एउटा पाटो भए पनि मुख्य कुरा चलचित्र नै राम्रो हुनुपर्नेमा दीपाश्रीको जोड छ । लगानी गर्न आउने व्यक्तिले कम्तीमा सिनेमा उद्योग, यसको बजार, वितरण र रिटर्न्सबारे बुझ्नुपर्ने उनी बताउँछिन् ।
“पैसा लगाउने मान्छेसँग सिनेमाबारे न्यूनतम ज्ञान हुनुैपर्छ । यसबारे जानेबुझेरै आउनुपर्छ,” उनी भन्छिन्, “आफैँ लगानी गरेर सिनेमा बनाउने र खेल्ने हो भने पनि कस्तो विषयवस्तु उठाइरहेको छु, लहडबाजीमा तेरो फिल्म बबाल हुन्छ भनेकै भरमा विश्वास गर्नु हुँदैन ।” वास्तविकता के हो भनेर आफैँले अध्ययन गर्नुपर्ने उनको धारणा छ ।
दुईतीन करोड लगानी गर्ने व्यक्तिले जसरी अरू क्षेत्रमा काम गर्दा त्यसबारे अध्ययन गरेको हुन्छ, त्यस्तै रिसर्च सिनेमा उद्योगका विषयमा पनि गर्न उनको सुझाव छ ।
“सिनेमामा लगानी गरेर खेल्ने हो भने अभिनय सिकेर आउँदा राम्रो हुन्छ । आफूलाई पूर्ण रूपमा तयार गरेर म सक्षम छु भन्ने लागेपछि आउनुपर्छ,” दीपाश्री भन्छिन्, “पैसा छ, ल म सिनेमामा लगानी गर्छु भनेर कसैको बहकाउमा लाग्नु हुँदैन । दुइटा गीत र दुइटा फाइट राखेपछि सिनेमा हिट हुन्छ भन्ने गलत बुझाइ छ । यो प्रस्टसँग देखिइसकेको छ ।”
फाइट र गीतभन्दा पनि कथावस्तु र स्क्रिनप्ले नै राम्रो चाहिने र त्यसलाई न्याय गर्ने व्यक्ति स्क्रिनमा आउनुपर्नेमा उनी जोड दिन्छिन् । “होइन भने पैसा पनि डुब्छ, नाम पनि हुँदैन ।”
सिनेमामा ग्ल्यामर र चार्म रहेकाले युवापुस्ताको आकर्षण भएको र सोही कारण उनीहरू लगानी गरेर चलचित्रमा अभिनय गर्न आइरहेको निर्देशक प्रमोद कँडेल बताउँछन् । सिनेमाको प्रोडक्सन हाउस नहुँदा नेपालमा यो समस्या रहेको उनको बुझाइ छ ।
“सिनेमामा लगानी गर्ने ठूलठूला प्रोडक्सन हाउस भएको भए अडिसनबाट कलाकार छानिन्थ्यो,” प्रमोद भन्छन्, “तर, हाम्रो प्रोडक्सन हाउस त छन्, तर सानासाना प्रोडक्सन हाउस हुँदा सीमित चलचित्र बन्ने भएकाले यी प्रोडक्सनबाट धेरैले अवसर पाउँदैनन् ।”
त्यसैले चलचित्रमा अभिनय गर्न चाहने व्यक्तिले आफू स्वयं वा आफन्तलाई गुहारेर प्रवेश गर्ने गरेको उनी बताउँछन् ।
“१९८० देखि १९९५ सम्म भारतमा इन्डिभिजुअल प्रोडुसर थिए । इन्डिभिजुअल प्रोडुसर हुँदा उनीहरू कसरी सिनेमा राम्रो बनाउने भनेर क्रिएटिभ हुन्थे,” केही समयअगाडि अनुराग कश्यपले एउटा अन्तर्वार्तामा तपाईंको जस्तै प्रश्नको जवाफ दिइरहेका थिए भन्दै प्रमोद सुनाउँछन्, “तर, अहिले कम्पनी प्रोडुसर हुँदा उनीहरू कसरी पैसा डबल गराउने भन्ने सोचले काम गर्दा क्रिएटिभिटी कम हुँदै गयो भन्ने उहाँको भनाइ थियो ।”
कसैले लगानी गरेर चलचित्र बनाउने र आफैँ वा आफन्त अभिनय गर्ने भए कम्तीमा यसबारे पर्याप्त ज्ञान लिएर आउँदा राम्रो चलचित्र बन्नेमा उनी जोड दिन्छन् । अन्यथा, सिनेमाको क्वालिटी खस्किने प्रमोद बताउँछन् ।
निर्देशनमा पनि यस्तै अवस्था आउँदा चलचित्र विकास बोर्डले पढेको हुनुपर्ने वा केही सिनेमामा निर्देशकको असिस्टेन्ट भएर काम गरेको हुनुपर्ने मापदण्ड बनाएको उनी स्मरण गर्छन् । अभिनयमा पनि केही मापदण्ड बनाउनुपर्ने उनको धारणा छ ।
निर्माता दिपेश खत्री (म्याक्स) आफूलाई एक्सपेरिमेन्ट गर्ने नाममा दर्शक ठग्ने काम भइरहेको टिप्पणी गर्छन् । लगानी गरेर आफैँ हिरो हुँदाको परिणाम अहिले देखिइरहेको उनी बताउँछन् ।
“आफैँ लगानी गरेर हिरो हुँदाको परिणाम के भइरहेको छ भन्ने अहिले देखिइरहेको छ । दर्शकलाई इन्सल्ट गर्ने काम भइरहेको छ,” दीपेश भन्छन्, “आफूलाई एक्सपेरिमेन्ट गर्ने नाममा दर्शकको समय बर्बाद गर्ने काम भइरहेको छ, जुन गलत हो ।”
यसले असल कोसिस गर्ने नयाँलाई भने कठिन हुने उनी बताउँछन् । “क्वालिटी छ भने बेग्लै कुरा हो । होइन भने आफ्नो रहर पूरा गर्ने नाममा दर्शकलाई इन्सल्ट गर्नु हुँदैन,” उनी भन्छन्, “हुन त यस्ता सिनेमा हेर्न धेरै जानु हुन्न । तर, चारपाँच हजार जति जानुहुन्छ, उहाँहरूको समय खेर गइरहेको छ । यसले समग्र सिनेमा उद्योगलाई ब्याकफायर गर्छ ।”
सिनेमा बनाउने प्रोसेस नै बग्लै हुने भन्दै कस्तो कथा केका लागि भन्नेजस्ता विषयको ज्ञान हुनुपर्नेमा दिपेशको जोड छ । चलचित्र हिरोले नबनाउने भन्दै उनी निर्देशक र प्रोडुसरले बनाउने सत्यलाई स्वीकार गर्नुपर्ने बताउँछन् । नयाँ निर्देशकले आफूलाई परीक्षण गर्दा पनि समस्या आइरहेको उनको भनाइ छ ।
“नयाँ निर्देशकले सिनेमा बनाउनुपर्यो, प्रोडुसर नपाएपछि उनीहरू कसले सिनेमा बनाउँछ भनेर खोजेर बसिरहेका हुन्छन्,” उनी भन्छन्, “उनीहरू आफैँ खेल्ने वा आफन्तलाई खेलाउने सर्तमा आउने व्यक्तिलाई निर्देशकले सिनेमा खेलाइरहेका छन् ।”
त्यसैले राम्रो चलचित्र कसरी बनाउन सकिन्छ भनेर अध्ययन गरेर मात्र लगानी गर्न आवश्यक रहेको उनी औँल्याउँछन् । अन्यथा, सिनेमाको गुणस्तर खस्किने क्रम नरोकिने र नेपाली चलचित्रलाई ब्याकफायर पनि भइरहने दिपेश बताउँछन् ।