साहित्य
सागर फुयाल
प्रभाती किरणको स्पर्शसँगै
नवीन ऊर्जा समेटेर
चिरबिर गर्छन् चराहरू
हतारहतार हिँड्छन् स्कुल जाने नानीहरू
लम्कन्छन् उत्साहित पाइलाहरू
थपिन्छन् सडकमा गाडीहरू ।
त्यही बिहानीमा
वर्षौँदेखि पुलमुनि
सडकको पेटीलाई बास बनाई
सुतेको एउटा मान्छे उठ्छ सधैँजस्तो
र फेरि मन्दिर जान्छ
केही आशा बोकेर
केही भरोसा बटुलेर सधैँजस्तै ।
तर, फर्कंदै गर्दा आज मन्दिरबाट
हिजोसम्म उसको अनुहारमा देखिएका
केही आशा अनि उत्साह बिलाएका छन्
ऊ सोच्न थाल्छ–
सायद वरदान दिने भगवान् पनि
भक्तअनुसार फरकफरक हुन्छन्
मलाई वरदान दिने भगवान् भने
सायद मैजस्तो
बेवारिस रहेछ
निरीह रहेछ
त्यसैले होला, असमर्थ छ मेरो भगवान्
मेरो आशा र भरोसाको
मधुरो दियो जोगाउन ।
(बर्लिन, जर्मनी)
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१ ०६:००
प्रतिक्रिया दिनुहोस्