site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘यस्तै मानसिकता लिएर खेले स्वर्ण पदक भित्तामै छ, झुन्ड्याउन पाइन्छ’

काठमाडौं । घरेलु कोर्टमा जारी काभा महिला भलिबल नेसन्स लिगमा मंगलबार इरानविरुद्धको दोस्रो सेमिफाइनल नेपालका लागि केही फरक थियो । लिग चरणमा इरानसँग २–३ को हार बेहोरेको ४८ घण्टामात्रै पुग्दै थियो । यही बदलाको भावना नेपाली टिमका हरेक खेलाडीमा छरपस्टै थियो ।

मध्यपूर्वी प्रतिद्वन्द्वी इरानलाई ३–० को सोझो सेटमा जित्दै बदला पूरा गरेपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा ‘नेपाल’, ‘नेपाल’को आवाजले गुन्जयमान बन्यो ।

Nepal-vs-Iran-Vollyball-(66)-1722952985.jpg

Dabur Nepal
NIC Asia

यो सेमिफाइनलको अघिल्लो दिनमात्रै ‘सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराउँछौँ’ भन्ने प्रतिक्रिया थियो, नेपाली टिमका प्रशिक्षक जगदीश भट्टको । प्रशिक्षकको प्रतिकृयामा मंगलबार नेपाली टिम अडिग रह्यो । भट्टले भनेझैँ नेपाल सोझो सेटमा जितसहित प्रतियोगिताको फाइनलमा पुग्यो ।

“इरानसँगको हारले आज सफलता पाएको जस्तो मलाई लाग्छ । मेरो सिक्थ सेन्सले सोझो तीन सेटमा जित्छौँ भन्ने थियो । त्यसैअनुसार खेलाडीलाई काउन्सिलिङ गरेका थियौँ । नेपाल भलिबल संघले घरेलु कोर्टमा यति ठूलो प्रतियोगिता गरेको छ । हामीलाई आज जित्नैपर्ने दबाब थियो,” खेलपछि प्रशिक्षक भट्टले यसरी विजयी भावना पोखे ।

नेपालले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा राखेको थियो । पहिलो सेटको पहिलो अंक इरानको नाममा रह्यो । सुरुआती अंकपछि आक्रामक बनेको इरानले ५–१ को अग्रता बनाएपछि नेपाली टिमका प्रशिक्षक भट्टले पहिलो टाइमआउट लिए । टाइमआउटबाट इरानको लय भंग गर्ने रणनीतिमा सफल पनि बने ।

Nepal-vs-Iran-Vollyball-(47)-1722952973.jpg


पहिलो टाइमआउटपछि नेपाली टिमले लगातार पाँच अंक जोड्दै स्कोर ६–५ ल्यायो । लगातार अंक गुमाएपछि दबाबमा आएको इरानले लगत्तै पहिलो टाइमआउट लियो । तर, यसपछि पनि नेपाली टिमको अंक रफ्तारमा कमी आएन ।

पहिलो सेटमा १६–१० ले पछि परेपछि इरानी टिमले दोस्रोपटक टाइमआउट लियो । दोस्रो टाइमआउट पछि इरानी टिमले नौ अंक जोड्दा नेपालले ६ अंकमात्रै स्कोरबोर्डमा थप्न सक्यो ।

स्कोर २२–१९ हुँदा नेपाली टिमका प्रशिक्षक भट्टले दोस्रो टाइमआउटको प्रयोग गर्दै इरानको यो लय रोक्ने प्रयास गरे । उनी यो रणनीतिमा पनि सफल बने । दोस्रो टाइमआउटपछि इरानले एक अंकमात्र जोड्दा नेपालले तीन अंक जोड्दै सेट आफ्नो पक्षमा राख्यो ।

पहिलो सेटमा नेपाली टिमले सर्भिसबाट दुई अंक इरानलाई दियो । नेपालकी सुमित्रा रेग्मी पहिलो सेटमा सर्भिसबाट पाहुना टिमलाई अंक दिने एकमात्र खेलाडी बनिन् । यता, इरानी टिमले भने पहिलो सेटमै सर्भिसमा भएको गल्तीबाट नेपाललाई चार अंक दिएको थियो ।

Nepal-vs-Iran-Vollyball-(80)-1722952957.jpg


दोस्रो सेट खेलकै सबैभन्दा रोमाञ्चक र तनावपूर्ण बन्यो । दोस्रो सेटमा पनि पहिलो अंक इरानी टिमले नै लिए । तर, सुरुआतमा ४–६ ले पछि परेपछि इरानी टिमले पहिलो टाइमआउट लिने निर्णय लियो । दोस्रो सेटमा १५–१२ ले अघि रहँदा नेपाली टिमका प्रशिक्षक भट्टले पहिलो टाइमआउट लिने निर्णय गरे । तर, यसपछि नेपालले तीन अंक जोड्दा इरानले पाँच अंक जोड्दै दबाब थपेपछि प्रशिक्षक भट्टले दोस्रोपटक टाइमआउट लिए ।

खेलको कुनै समय १६–१२ को स्कोरसहित चार अंकको अग्रता लिएको नेपालविरुद्ध यसपछि भने इरान टिम हाबी बन्दै गयो । यसपछि नेपालले दुई अंक जोड्दा इरानले पाँच अंक जोड्दै दबाब थपेपछि प्रशिक्षक भट्टले दोस्रो टाइमआउट लिए । तर, यसपछि पनि इरानी टिमको अंक आउने क्रम रोकिएन । 

स्कोरबोर्डमा नेपालले २१ अंक जोड्दा इरान २४ अंकसहित सेट जित्न एक अंकमात्र पछि थियो । तर, यसपछि नेपाली टिमकी स्पाइकर उषा भण्डारीले आक्रमणबाट लगातार तीन अंक जोडेपछि नेपालले स्कोर २४–२४ को बराबरीमा ल्याएको थियो । यसपछि पनि इरानले दुई पटक सेट प्वाइन्टको अवसर बनाएको थियो । तर, दुवै अवसरमा इरानी टिम सफल बन्न सकेन । नेपाल २५–२६ ले पछि पर्दा लगातार स्पाइकर निरुता ठगुन्नाले लगातार तीन अंक जोडेपछि नेपाली टिमले उत्कृष्ट पुनरागमनसहित दोस्रो सेट जितेको थियो ।

दोस्रो सेटमा इरानी टिमको सर्भिस खेलकै सबैभन्दा खराब रह्यो । यो सेटमा इरानले सर्भिस ‘मिस्टेक’ बाट कुल ६ अंक नेपाललाई दिएको थियो । नेपालले दोस्रो सेटमा सर्भिस गल्तिबाट दुई अंक इरानी टिमलाई दियो । यो सेटमा नेपालकी कप्तान अरुणा शाही र सुमित्राले समान एक पटक सर्भिसमा ‘मिस्टेक’ गरे ।

तेस्रो सेट २५–२० ले जितेपछि नेपाली टिमले उपाधि भिड्न्तमा चिरप्रतिद्न्दी भारतसँगको भेट पक्का गरेको हो । तेस्रो सेटको पहिलो अंक लिएको इरानले सुरुआती १० अंक जोड्दा नेपालले सात अंकमात्रै जोडेको थियो । अंकमा ७–१० ले पछि परेपछि नेपाली टिमका प्रशिक्षक भट्टले पहिलो टाइमआउटको प्रयोग गरेका थिए ।

यसपछि भने नेपालले १८ अंक जोड्दा इरानले १० अंकमात्रै थप्न सक्यो । प्रशिक्षकले पहिलो टाइमआउटको प्रयोग गर्दासम्म इरानले १६–१७ को स्कोरसहित एक अंकले मात्र पछि थियो । तर, यसपछि इरानले चार अंक जोड्दा नेपालले आठ अंक जोड्दै सेट आफ्नो पक्षमा राख्यो ।

अब उपाधि भिड्न्तमा बुधबार अपराह्न ५:१५ बजे नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्ने छ । लिग चरणमा भारतलाई ३–२ को सेटमा हराउँदै इतिहास रचेको नेपाल फाइनलमा अझ उत्कृष्ट जिते निकाल्ने लक्ष्यमा छ । प्रशिक्षक भट्ट फाइनल नजिते भारत र इरानलाई हराएको कुराले महत्त्व नराख्ने बताउँछन् ।

“राष्ट्रिय खेलको गरिमा बढाउन टिमले उपाधि जित्नपर्ने नै हुन्छ । हामीले हिजो इन्डियालाई हरायौँ, इरानलाई हरायौँ भन्ने कुराले सरोकार राख्दैन,” प्रशिक्षक भट्टले भने, “सेकेन्ड सेटमा हामी २१–२४ ले पछि थियौँ । यस्तो मानसिकतासहित खेलाडीले खेले भने गोल्ड मेडल भित्तामा छ, झुन्ड्याउन पाइन्छ ।”

Nepal-vs-Iran-Vollyball-(49)-1722952974.jpg


नेपाली टिमकी कप्तान अरूणा सेमिफाइनलमा इरानविरुद्ध हाबी बनेर खेल्ने रणनीतिअनुसारको नै प्रदर्शन भएको बताउँछिन् ।

“आज हाम्रो मानसिकता नै डोमिनेट गरेर खेल्नुपर्छ भन्ने थियो । त्यसले पनि हामीलाई सहयोग गर्‍यो । यही मानसिकताले गर्दा दोस्रो सेटमा २१–२४ ले पछि पर्दा पनि जित्न सफल बन्यौँ,” अरूणा भन्छिन् ।

उनी भारतसँग फाइनल खेल्न नेपाली टिम सधैँ उच्च उत्साहमा हुने बताइन् । “अरू टिमसँग भन्दा भारतसँग खेल्न हाम्रो टिम नै बढी एक्साइटेड हुन्छ । यी दुई टिमबीचको प्रतिद्वन्द्वत्माक सम्बन्धले पनि राम्रो खेल्नुपर्छ भन्ने मानसिकता हुन्छ । फाइनलमा भारत अझै बलियो बनेर आउँछ जस्तो लाग्छ ।”

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro