site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
हिरोइन बचाउन नै आउने कि क्यारेक्टरप्रधान कथामा काम गर्ने ?
SkywellSkywell

काठमाडौं । अभिनेता राजेश हमालले आइतबार राति ९ बजेतिर सामाजिक सञ्जालमा एउटा स्टाटस पोस्ट गरे । पाँच तस्बिरसहित उनले लेखे– लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दै छु

तस्बिरमा निर्देशक दिवाकरसँग छन् उनी । राज कट्वाल पनि छन्, राजेश र दिवाकरसँग ।

राजेशले पोस्ट गरेकै समयको सेरोफेरोमा दिवाकरले पनि फेसबुकमा लेखे, “महानायक (राजेश हमाल)सँगको यो तस्बिरले ममा एउटा विशेष चुनौती थपिएको छ । यो विश्वास र भरोसालाई एउटा उचाइ दिनेछु । आभारी छु महानायक राजेश हमालप्रति, मलगायत मेरो टिमलाई विश्वास गर्नुभएकोमा । केही विशेष पक्कै हुनेछ ।” 

Dabur Nepal
NIC Asia

राजेशले चलचित्रमा अभिनय नगरेको थुप्रै भइसकेको छ । ‘शकुन्तला’ उनले अभिनय गरेको अन्तिम चलचित्र हो । त्यो करिब आठ वर्षअगाडि रिलिज भएको थियो । दिनेश श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रमा उनी तेस्रोलिंगी महिलाको भूमिकामा थिए । ठूलो अपेक्षा र विश्वाससहित त्यो सिनेमा रिलिज गरिए पनि चालचित्रले दर्शकको मन जित्न सकेन । दर्शक ‘शकुन्तला’ हेर्न हल गएनन् ।

त्यसअघि, बिग बजेट र ठूलो प्रचारसहित राजेशको चलचित्र ‘वाग्मती’ आएको थियो । त्यसले पनि न राम्रो समीक्षा पायो न त दर्शकको साथ । राजेशको कमब्याक भनेर पब्लिसिटी गरिएका ती चलचित्र समीक्षात्मक र व्यापारिक दुवै हिसाबले असफल भएपछि उनले सेतो पर्दाबाट नै ब्रेक लिए । त्यसपछि उनले आठ वर्ष ब्रेक लिएका हुन् ।

अपेक्षा गरिएका चलचित्र लगातार नचलेपछि बाह्रखरीसँगको एक अन्तर्वार्तामा राजेशले भनेका थिए, ‘मैले काम गरेका केही चलचित्रमा सायद सेलेक्सन सही भएन । अब यसमा मैले ध्यान पुर्‍याउनुपर्छ ।’

उनले समय परिवर्तन हुँदै गएको र दर्शकको रुचि पनि बदलिएकाले त्यसतर्फ आफूले ध्यान दिएको बताएका थिए । उनको भनाइको तात्पर्य थियो, समयानुकूल परिवर्तनको विकल्प छैन । बाह्रखरीसँगको कुराकानीमा उनले नयाँ सिनेमा आफैँ बनाउन सक्ने पनि बताएका थिए ।

‘शकुन्तला’ रिलिजपछि राजेशले सिनेमामा काम गर्ने धेरै हल्ला चल्यो । तर, उनले काम गरेनन् । यहीबीचमा उनले आफैँ चलचित्र बनाउने उद्घोष गरे । उनले राम्रो कथामा मात्र काम गर्ने बताए । चर्चाको केन्द्रमा रहे पनि आठ वर्षसम्म उनले सिनेमाको काम गरेनन् । न अर्काको चलचित्रमा काम गरे न आफैँले बनाए ।

कथा छानेर मात्र काम गर्ने बताएका राजेश खेल्न तयार भएको चलचित्रको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन । निर्देशक दिवाकरले अनटाइटल यो प्रोजेक्ट एक्सन ड्रामा हुने बताएका छन् ।

दिवाकर राजेश हमालको सानदार कमब्याक हुने जिकिर गर्छन् । राजेश स्क्रिप्ट सुनेर काम गर्न तयार भएको उनी बताउँछन् ।

“राजेश दाइको आफ्नै खालको सम्मान र व्यक्तित्व छ । त्यसैले उहाँलाई गर्विलो कमब्याकको जरुरी छ । उहाँले अब खेल्ने फिल्म धेरै किसिमले विशेष हुनुपर्छ,” दिवाकार भन्छन्, “राजेश दाइको पपुलारिटी र उहाँको व्यक्तित्वका कारण हिजोका सिनेमाभन्दा फरक हुनुपर्छ । त्यसैले हामीले त्यही खालको स्क्रिप्ट तयार पारेका छौँ ।”

नेपाली चलचित्र उद्योग र राजेश स्वयंका निम्ति पनि यो सिनेमाले फाइदा गर्ने उनको भनाइ छ । मेकिङका हिसाबले चलचित्र अब्बल हुने उनले बताए । यसमा तीन करोड रुपैयाँभन्दा बढी बजेट लाग्ने उनले जानकारी दिए ।

सिनेमाबाट ब्रेक लिए पनि काँचको पर्दामा राजेश छायामा परेनन् । आठ वर्षको बीचमा उनी गीतका भिडियो र टेलिभिजन कार्यक्रममा बेलाबेलामा आइरहे । टेलिभिजनबाट प्रशारित ‘को बन्छ करोडपति’, ‘जातको प्रश्न’ कार्यक्रम उनले होस्ट गरेका थिए ।

चलचित्रमा काम गर्छु भन्दै नगरे पनि काँचको पर्दामा उनको सक्रियता रहिरह्यो । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरे । लोकगीत होस् वा आधुनिक उनले म्युजिक भिडियोमा अभिनयलाई निरन्तरता दिइरहे । त्यसले उनलाई दर्शकमाझ पुर्‍याउन सहयोग गर्‍यो ।

गीतका भिडियोमा अभिनय मात्र गरेनन्, राजेशले आफैँ गीत पनि गाए । ‘मन बुढो भएन’ बोलको गीतमा उनी आफैँले स्वर दिए ।

‘युगदेखि युगसम्म’बाट करिब ३३ वर्षअघि नेपाली रजतपटमा डेब्यु गरेका राजेशले करिब २०० चलचित्रमा अभिनय गरिसकेका छन् ।

कुनै समय थियो, पोस्टरमा राजेशको तस्बिर मात्र भए पनि दर्शक सिनेमा हलसम्म पुग्थे । तर, समय फेरियो । आर्य फेसको सुगठित शरीर भएको व्यक्ति मात्र सिनेमाको हिरो भन्ने मानक भत्कियो । दयाहाङ राई, सौगात मल्ल, विपीन कार्की, विल्सन विक्रम राईलगायत कलाकार स्टार भए । सिंगल थिएटर बन्द भए । मल्टिप्लेक्स खुले । लार्जर देन लाइफ सिनेमा चल्न छोडे । विषयप्रधान सिनेमा दर्शकको रोजाइमा परे । राजेशका सिनेमा धेरै चल्न छोडे । त्यसपछि ब्याक भएका उनी अहिले कसरी चलचित्र खेल्न राजी भए ?

राजेशको कमब्याकको यो समय उचित भएको दिवाकर जिकिर गर्छन् । सिनेमाको ट्रेन्ड चेन्ज हुने समय भएको उनी बताउँछन् । राजेशको पालामा जस्ता सिनेमा थिए, त्यसपछि विषयप्रधान आएका र अब पुनः लार्जर देन लाइफ लाउड सिनेमा रोजाइमा पर्न थालेका उनको टिप्पणी छ ।

“हरेक १० वर्षमा सिनेमाको प्यार्टन चेन्ज हुन्छ । वर्ल्ड सिनेमा हेर्ने हो भने पनि यसलाई पुष्टि गर्छ,” उनी भन्छन्, “भारतमै हेर्ने हो भने ‘पठान’, ‘जवान’, ‘एनिमल’ चलिरहेका छन् । बलिउडमा जुन प्यार्टन चलिरहेको छ, नेपालमा त्यस्तै हावा चलिरहेको छ ।”

भारतमा ‘प्याड म्यान’ चल्दा नेपालमा ‘लुट’, ‘कबड्डी’जस्ता विषयप्रधान चलचित्र चलेका थिए । हाल लार्जर देन लाइफ सिनेमा चल्ने समय आएको उनको भनाइ छ । नेपालमा लार्जर देन लाइफ सिनेमा हेर्ने दर्शक रहेका र त्यसका निम्ति राम्रा चलचित्र आवश्यक रहेको आफ्नो निष्कर्ष उनी सुनाउँछन् ।

पछिल्लो समय नेपालमा पनि एक्सन सिनेमा बनाउन थालिएको र यसले चलचित्र उद्योगलाई लार्जर देन लाइफतर्फ डोर्‍याउने उनको भनाइ छ । यो प्यार्टनलाई राजेशले लिड गर्नुपर्ने उनको धारणा छ ।

राजेश हमालको जसरी सानदार आगमन भयो, एक्जिट पनि त्यस्तै हुनुपर्नेमा दिवाकर जोड दिन्छन् । “राजेश दाइले हिजोजस्तो भन्दा पनि क्यारेक्टर र कन्टेनमा बसेर काम गर्नुपर्छ । हिजो हिरोइन बचाउन आउने मात्रै क्यारेक्टर थियो,” उनी भन्छन्, “अब फरक विषयमा काम गरेर आफूलाई क्यारेक्टरमा ढाल्न सक्नुपर्छ । यो चलचित्रमा राम्रो काम गर्न सकियो भने चलचित्र उद्योगसँगै मलाई र राजेश दाइलाई पनि फाइदा हुनेछ ।”

यदि, चलचित्र सफल नभए त्यसको सबैभन्दा ठूलो अपजस आफूले लिनुपर्ने उनी बताउँछन् । त्यसका लागि समेत आफू तयार रहेको उनी सुनाउँछन् । राजेशको दोस्रो इनिङ्सको सुरुआत सानदार बनाउन सक्नु आफ्ना निम्ति ठूलो चुनौती रहेको उनी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu