site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शर्मालाई राजदूत नियुक्त गर्न नहुने भन्दै संसद्‌मा उठ्यो आवाज 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूत नियुक्ति प्रक्रिया नियम संगत नभएको भन्दै संसद्‌मा आवाज उठाएको छ । संसद्को शून्य समयमा बोल्दै रास्वपा सांसद शिशिर खनालले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका समेत वर्तमान गठबन्धन सरकारले ख्याल नगरेको भन्दै विरोध गरेका हुन् । 

उनले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाको दफा २१ को नियमविपरीत भारतका लागि सिफारिस राजदूत डा. शंकर शर्माको सिफारिस निर्देशिका विपरीत भएको उल्लेख गरे । “दुई महिना अगाडि मन्त्रिपरिषद्ले केही राजदूतलाई फिर्ता बोलायो । उक्त गठबन्धनको प्रमुख अंशियासहित बनेको यो सरकारले फिर्ता बोलाइसकेका राजदूतलाई राजदूत नियुक्तसम्बन्धी निर्देशिकाको दफा २१ को नियमविपरीत  फेरि नियुक्त गरेको छ । विधि मान्नु नपर्ने नागरिकको सुरक्षा गर्न नसक्ने कस्तो कमजोर दुई तिहाइको सरकार,” उनले भने । 

मन्त्रिपरिषद् बैठकले अघिल्लो सोमबार (साउन १४ गते) एक साथ १८ देशका लागि नेपाली राजदूतको नाम सिफारिस गरेको थियो । सिफारिस सूचीमा डा. शर्मा पनि छन् । मन्त्रिपरिषद् बैठकले उनलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो । 

सरकारले सिफारिस गरे पनि उनी भारतका लागि राजदूत हुन नमिल्ने देखिएको छ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा राखिएको एउटा प्रावधानले उनलाई पुनः भारतको राजदूत हुनबाट रोक्ने देखिएको हो । निर्देशिकामा राजदूतको पुनर्नियुक्तिका सम्बन्धमा स्पष्ट लेखिएको छ । “राजदूतको रूपमा हाल कार्यरत मुलुकमा अर्को पदावधिको निरन्तरता हुने गरी पुनर्नियुक्ति गरिने छैन,” निर्देशिकामा भनिएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७८ कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. शर्मालाई भारतका लागि राजदूत सिफारिस गरेको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मालाई २०७८ चैत ६ गते नियुक्त गरेकी थिइन् । 

त्यसपछि उनी जिम्मेवारी सम्हाल्न भारत गएका थिए । सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिँदै एमालेले प्रवेश भयो । त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८१ जेठ २४ गते एकसाथ ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । यसमा भारतका लागि नेपाली राजदूत डा. शर्मा पनि परेका थिए । 

राजदूत फिर्ता बोलाउने निर्णय गरेको केही दिनमै प्रचण्ड नेतृत्वको सरकारले भारतलगायत आठ देशका लागि नेपाली राजदूत सिफारिस गर्‍यो । सरकारले २०८१ असार ७ गते भारतका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस गरेको थियो । डा. शर्मा फर्किने तयारी गरिरहेका बेला नेपालमा सत्ता गठबन्धनमा फेरबदल भयो । सत्ताबाट माओवादी बाहिरियो भने कांग्रेस र एमालेको संयुक्त सरकार बन्यो । 

गत असार ३१ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भयो । लगत्तै डा. शर्मालाई १५ दिन भारतमै रहन आग्रह गरिएको थियो । त्यसपछि साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. शर्मालाई पुनः भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गर्‍यो । अर्थात् सरकारले उनलाई भारतका लागि नेपाली राजदूतमा पुनर्नियुक्ति दिने निर्णय गरेको छ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा पुनर्नियुक्ति दिन नमिल्ने स्पष्ट उल्लेख छ । 

शून्य समयमै बोल्दै सांसद खनालले पशुपतिनाथ क्षेत्रमा भैरहेको होम तथा कथा–वाचनभित्र पत्रकारलाई प्रश्न सोधेकै आधारमा ‘केही लठैतहरूले मरणासन्न हुने गरी कुटपिट गरेको’मा गृह प्रशासन मौन भएको र वाक स्वतन्त्रता र नागरिक सुरक्षा कसले गरिदिने ? भन्दै प्रश्न गरे ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro