काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुट जन्मिन खोजेको स्वीकार गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनले गुटलाई पार्टीमा कुनै ठाउँ नदिने चेतावनी दिए ।
उनले आफूलाई पार्टीमा गुटबन्दी स्वीकार्य नभएको अडान देखाए ।
‘‘डेमोक्रेसीका नाममा जब गुटबन्दी सुरु गरिन्छ, पार्टी उभो लाग्दैन । संसारमा कुनै पनि पार्टी गुटबन्दीले उभो लाग्या छैन । कतिपयले आन्तरिक लोकतन्त्र भन्दै उचाल्न सक्छन् । पार्टीमा केही मात्रामा पनि गुटबन्दी स्वीकार्य छैन,” ओलीले कार्यक्रममा भनेका छन् ।
उनले गुटबन्दी रोक्न नसक्दा यसअघि पार्टी विभाजन भएको बताए । एमालेको साउन १७ गतेको सचिवालय बैठकले नेताहरूको कार्यविभाजन गरेको छ ।
कार्यविभाजन ओली र महासचिव शंकर पोखरेलले एकलौटी गरेको भन्दै पदाधिकारीहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् । उनले तिनैलाई लक्षित गर्दै बैठकमा भनाभन नै नभए केको डेमोक्रेसी भन्दै मानिसहरूले उचाल्न सक्ने समेत बताए ।
ओलीले पार्टीका जिल्ला अधिवेशनमा पनि गुटबन्दी नगर्न चेतावनी दिँदै आएका छन् । एमालेमा स्थायी गुट जन्मिसकेको देखिँदैन । एमाले विभाजन हुनुपूर्व तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल र ओलीको धार प्रष्ट थियो । विभाजनपछि नेपाल धार छिन्नभिन्न भयो । कतिपयले भने पार्टीमा केन्द्र्रीय रुपमा नै गुट जन्माउने प्रयास भएकोतर्फ ओलीले संकेत गरेको विश्लेषण गरिरहेका छन् ।
एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी गुटबन्दीको क्रियाकलाप हुन खोजे रोक्नुपर्ने आशय अध्यक्षको रहेको बताउँछन् । पार्टीमा गुटबन्दी नभएको जिकिर उनको छ ।
“गुटबन्दी हुनुहुँदैन । गुटबन्दीपूर्ण क्रियाकलाप कहीँ हुन खोज्यो भने पनि रोक्नुपर्छ भन्ने सन्दर्भमा अध्यक्षले भन्नुभएको हो,” उनी भन्छन्, “पार्टीमा गुटबन्दीको स्थिति त हाम्रो नीतिको कारणले पनि छैन । नेतृत्वको कारणले पनि छैन । गुटबन्दीका लागि कुनै आधार नै छैन ।”
तर, गुटबन्दीका लागि पार्टीमा प्रयास भइरहेको भने उनले नकारेनन् । “जहाँ पनि स्वार्थ केन्द्रित समूहबन्दी, सेटिङ त हुन खोजिहाल्छ नि !,’’ अधिकारीले भने, “घरमा त ठूलो परिवार भयो भने समूह हुन खोज्छ । त्यो प्रयास त संस्थाहरूमा हुन्छ नै । तर, एमालेमा समस्याको रुपमा ठूलो चुनौतिको विषय भएर अध्यक्षले अपिल गर्नुभएको होइन ।”
तर, कतिपय नेता स्थायी गुट जन्माउने गृहकार्यमा देखिन्छन् । ११ आंैं महाधिवेशनसम्म पुग्दा स्पष्ट रुपमा केन्द्रीय गुटबन्दी हुने चर्चा एमाले वृत्तमा नै छ ।
एमाले पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी पदबाट नबाहिरिँदै सक्रिय राजनीतिमा होमिने चर्चा चलेको थियो । शीतल निवासबाट बाहिरिएपछि पनि उनले आफू सक्रिय राजनीतिमा आउने/नआउने स्पष्ट पारेकी छैनन् ।
तर, उनी निकटस्थहरूले सक्रिय हुने योजना रहेको दाबी छाडेका छैनन् । भण्डारीको आगमनको आकांक्षा रहेको अनौपचारिक रुपमा नेताहरूको बोलीले देखाउँछ । “विद्या भण्डारी सक्रिय हुने कुरा निश्चित छ । उहाँ आउनैपर्छ । तर, कुन र कस्तो अवस्थामा भन्ने निश्चित भइसकेको छैन,” उनी निकट नेता भन्छन् ।
उता, पार्टीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच द्वन्द्व स्पष्टै देखिन्छ । एमालेको प्रदेश अधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीचको गुटगत द्वन्दव देखिएको थियो ।
लुम्बिनी प्रदेशमा महासचिव पोखरेलले साथ दिएका हरि रिजाल पराजित भएका थिए । त्यहाँ उपाध्यक्ष पौडल निकट राधाकृष्ण कँडेल चुनिएका थिए । हालै पनि त्यसको बदला पोखरेलले लिएका छन् । त्यहीकारण लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीमा दोहोरिन पाएनन् ।
गिरीको नाम काटेर केन्द्रको ठाडो निर्देशनमा चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाइयो । दलको नेतालाई पाखा लगाएर उपनेतालाई मुख्यमन्त्रीको उपहार दिइएको थियो । गिरीले दलको नेताको पदबाट राजीनामा दिइसकेका छन् । त्यसको असर केही ठाउँमा पनि देखिएको थियो । दुई नेताबीचको लडाँईले अध्यक्ष ओलीलाई नै चुनौती दिने गरी गुट बन्न नसक्ने विश्लेषण हुँदै आएको छ ।
एमालेलमा मन्त्री, अन्य नियुक्ति, पद कार्यविभाजनमा नेता विशेषले आफ्नो भाग खोज्दै आएका छन् । जसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरू छन् ।
उता, पार्टीमा निष्क्रिय रहे पनि भण्डारीले आफू निकटहरूको व्यवस्थापन गर्दै आएकी छिन् । ओली आफू प्रधानमन्त्रीको शपथ लिएपछि असार ३१ गते विद्या निवास चपली पुगेका थिए ।
भण्डारीलाई निवासमा भेटेपछि मात्रै उनले मन्त्रीको नाम टुंग्याउन केही पदाधिकारीहरूलाई बालकोट डाकेका थिए । भेटपछि ओलीले केही आफू निकटका नाम मन्त्रीको लिस्टबाट काटेको नेताहरू बताउँछन् । भण्डारी राष्ट्रपति हुँदा पनि पार्टीमा गुट चलाएको आरोपबाट मुक्त हुन सकेकी थिइनन् ।
एमाले उपाध्यक्ष युवराज ज्ञवाली पार्टीमा पहिलेजस्तो गुट नभएको बताउँछन् । उनी अध्यक्ष ओलीको विकल्पमा अर्को पात्र खडा हुने पनि देख्दैनन् । “केन्द्रीयस्तरमा पहिलेको जस्तो धार अहिले छैन । अध्यक्षको विकल्पमा खडा हुने अर्को व्यक्ति देखिँदैन । अन्तरविरोध त विभिन्न ठाउँमा हुन्छन् । स्थानीय रुपमा अन्तरविरोध छन्,” उनले बाह्रखरीसँग भने ।
उनका अनुसार, मन्त्री बन्नेदेखि पार्टीका विभिन्न पदमा पुग्ने कुरामा अन्तरविरोध रहेन नै भयो । अन्तरविरोधको क्रममा स्थानीय रुपमा निश्चित स्वार्थ प्राप्तिका लागि स्वार्थ समूह बन्छन् ।
उनी स्थायी गुटभन्दा पनि तीनै स्वार्थ समूहले थाँक्रो खोज्दा नेता जोडिन नहुनेतर्फ इंकित गरेको बुझाई ज्ञवालीको छ । “स्वार्थ समूहले माथि थाँक्रो खोज्ने, माथि जोडिन आउने, आशिर्वाद खोज्ने समस्या छ । स्वार्थ कता जोडिन्छ गुट बन्ने । स्वार्थ पूरा भएन भने निष्क्रिय हुने, आफूले भने बमोजिम भएन भने चुनावमा हराउन लाग्ने प्रवृत्ति बढ्दैछ । सायद, अध्यक्षले यस्तै कुरालाई ध्यानमा राखेर यस्ता क्रियाकलाप नगर्नूस भन्नुभएको होला,” उनी भन्छन् ।
ज्ञवाली पार्टीमा नै समस्या भएको भन्दै निष्क्रिय रहेकी भण्डारीप्रति चर्चाको औचित्य ठान्दैनन् । गुटले पार्टीलाई क्षति पुर्याउने भन्दै समय समयमा कामको समीक्षा, दण्ड, पुरस्कारको बेवास्ता गर्नुपर्नेमा उनको जोड छ ।
“मान्छेको मनोवृत्ति बिग्रिएको छ । एमालेको राजनीति त देश र जनताका सेवाका लागि हो । पैसा कमाउने अनेक उपाय छन् नि । पार्टीमा आएर कुर्सी प्राप्त गरेर पैसा कमाउने विकार मनोवृत्ति उत्पन्न हुन्छ बेला बेलामा । त्यसलाई धोइपखाली गर्ने काम भयो भने पार्टी सफा हुँदै जान्छ,” ज्ञवालीको भनाइ छ ।
एमालेले केन्द्रीय समिति बैठकबाटै शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउने निर्णय गरेको थियो । पार्टीलाई अझै एकताबद्ध बनाउने कुरामा नै जोड रहने संगठन विभाग प्रमुख अधिकारीको भनाइ छ ।
“निर्णायक रुपले पार्टीलाई बलियो बनाउन पार्टीमा शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउनुपर्छ भन्ने कुरा हो । महाधिवेशनको मूल नारा नै अवसरवाद र संगठनात्मक अराजकतावादलाई परास्त गरौं भन्ने छ । पार्टीलाई झनै एकताबद्ध बनाएर लैजानुपर्छ भन्नेमा जोड रहन्छ,” उनले बाह्रखरीसँग भने ।