आखिर जिन्दगी एक सपना । सपना एक जिन्दगी । तिनलाई विपनामा रूपान्तरण गर्न प्रयत्नरत । बादलका रंगीचंगी फूलबारीमा रमाउनुसम्म रमाउन सक्ने । तिनै बादलु तरंगहरूका छालहरूमा मायावी पाइला चाल्दै । फूलका अनेकौँ रङहरूको दृश्यानन्दमा लट्ठ परेर चुपचाप भावना खेलाउँदै ।
जीवन हिँडिरहेछ पाइला पछ्याउँदै आँखाहरू । आँखाहरू खोजिरहेछ सुन्दरताका खुराकहरू । मनले मनन–महसुस गरिरहेछ ग्रहणयोग्य कुराहरू । हृदयले छानिरहेछ दृश्य–स्वरूपका हृदयग्राही अवयवहरू । यीबाहेक फरक कुरा देख्नु, हेर्नु, बोल्नु र सोच्नु छैन । कस्तै कठिनतम् क्षणहरूमा पनि प्रफुल्ल रूप–लावण्यले वेष्ठित ।
बटुल्दै ऊर्जामय अनुभूतिका अवयवहरूलाई । देख्दै जिन्दगीका सुन्दर सपनाहरूलाई । सँगाल्दै भावनाका विम्ब–प्रतिविम्बहरूलाई । खोज्दै तिनै सपनाहरू पूरा गर्ने ठाउँहरूलाई । एक सुखद मिलनको व्यग्र प्रतीक्षामा रहरलाग्दा सपनाहरूको भारी बोकेर कल्पनाको वेगमा फड्को मार्दै छु ।
एक नवीनतम् उदय–उमंगको उपस्थितिलाई मनको क्यानभासमा उतारेर फुर्सदमा हेर्दै तिनमा भेट्नु छ जीवनका रङहरू । देख्नु छ खुसीका मूच्र्छनाहरू । हेर्नु छ जीवन्त स्पन्दनका स्पर्शले पारेका प्रभावहरू । घुमेका, पुगेका, देखेका, भेटेका र तिनमाथि अनुभूतिमा आकार दिन लायक परिच्छेदहरूको खोजखाज गर्नु छ ।
भेटेपछिको सन्तुष्टिले खुब रमाउँदै लेकाली पाटनहरूमा बुर्कुसी मार्नु छ । कालापत्थरको उकालोलाई पनि चुनौती दिनु छ । लोमान्थाङबाट कागबेनी झर्ने ओरालोलाई पनि पैतालाले लात मार्दै खुब टेक्नु छ । जोमसोमको हुरीबतास केही होइन, फिरिजेको हावासँग पौँठेजोडी खेलेको ज्यान हाजिर छ । मुगु करानभेगको गरिबीलाई यही आँखाले भेटेर ‘नेपालभित्रको अर्को नेपाल’ लेखेको याद ताजै छ ।
यस्ता अनेक कष्टलाई जीवनको अर्काे पाटो मानेर यायावरी सपना विपनाभरि यात्रा र यादमा चुर्लुम्म डुबेको हुन्छ । अनि, मिठो अनुभूतिको चखिलो स्वादमा खिरिलो आलेख लेख्नु छ । लेखनका लागि बग्रेल्ती विष र विम्बहरू छन् । तिनको छाँटकाँट गरी छरितो रूप–संरचनामा सिर्जनाको नयाँ आयाम दिनु छ ।
चमचम ताराहरू चम्केर जवानी आभास दिँदै । रातको शून्य सन्नाटामा पनि अनुभूतिको भीडमभीड गराउँदै । प्रकृति यसरी मनमोहक देखापर्छ कि जहाँ पुग्नुपर्ने गन्तव्य बिर्सेर पाइलाहरू त्यहीँ लर्बराइरहेका हुन्छन् । खोजेर आफैँलाई प्रकृतिमा हराउनुको, रमाउनुको आनन्द बेग्लै मजाको हुन्छ । त्यो मजाले जीवन–यात्रामा गतिलो पाठ दिन्छ । त्यही पाठ पढेर जीवन–यात्राको गति र गन्तव्यले निश्चित मोड लिन्छ । लेखनमा ऊर्जा पनि मिल्छ ।
एक हुल सपनाको साम्राज्यमा मृगतृष्णाका बिस्कुन फिँजाएर । समय लाठो लिएर दोबाटोमा ढुकिरहेको हुन्छ । छैन कतै निर्मल मुस्कानका खुसीले भरिपूर्ण सौगातहरू । तर, तिनमा जीवन खोज्न सक्नु पो सक्नु हो । तिनमा जीवनको सौन्दर्य भेट्न सक्नु पो सक्नु हो । काँडाको आँखामा पनि फूलको संसार देख्न सक्नु पो सक्नु हो । फूलको आँखाले हेर्दा त फूलै संसार देखिने भइगयो ।
कुरूप, विरूप, विध्वंशमा पनि सुन्दरताको सौजन्य–स्वरूप देख्न सक्नु ठूलो कुरा हो । जिन्दगी एक सपनाको सार्थक विपना त्यहाँ देख्न सक्नु प्रगतिको फड्को मार्नुजस्तै हो । हरेक पाइलामा प्रगति भेटिनु र हरेक हेराइमा सौन्दर्य देखिनु पनि त्यस्तै हो । हामीले देखेको सपना र भोग्न चाहेको विपना यस्तैयस्तै हो ।
छरपस्ट भावनाका भेललाई सँगालेर अभिलेखको आकार दिनुपर्ने हुन्छ । बेइमान मनका चतुर स्वभावसँग टाढिँदै यौटा अथक अनकन्टारको साहसिक यात्रामा प्रस्थान हुनु छ । यो क्रम जीवनको धड्कनभरि धर्मराउँदै भए पनि धानिएको हुन्छ ।
जिन्दगीले साँचेको सपनालाई विपनामा पूरा गर्न मान्छेहरू जीवनभर संघर्ष गरिरहेका हुन्छन् । कतिको जिन्दगी एक सपना अनेक विपनाहरूमा परिणत भएर साकार हुन्छ । कतिको सपना अधकल्चो र अनिदो बसेर जिन्दगी अधुरो सपनामा सकिन्छ । त्यहाँ आँसुले लतपतिएका दैनिकीहरू हुन्छन् । त्यहाँ हाँसो रित्तिएर शून्यताले राज गरिरहेको कठिनतम् जीवनशैली हुन्छन् ।
यस्तोमा स्वस्थ मानसिकता पनि अस्वस्थ हुन पुग्छ । सपना समेत देख्न नसक्दा जिन्दगी एकलासको एकलकाँटे बन्न पुग्छ । बिरामी आत्माले बेस्वादको मुख बनाइरहेको बेला मिष्ठान्न भोजन पनि तृप्तिदायक नहुन सक्छ । कल्पनातीत बादलु परिकल्पनाका यी व्याप्तिमा कति खोज्नु सौन्दर्य ? कति चाख्नु सुमधुर सुगन्ध ? कति आह्लादित हुनु विम्ब–प्रतिविम्बका सांगीतिक तरङहरूमा ?
खडेरीले खाएर खङ्ग्रङ्ङ भएको धर्तीमा पानीको अविरल बाढीले थिलथिलो पारेको बेला छ । झमझम पानीले रुझाउँदै, भिजाउँदै झरी पर्नुको पृथक् स्वाद चखाएको छ । यस्तो मौसममा जिन्दगीको सपना किसानको उन्नत बालीनालीको विपनामा हुर्किरहेको हुन्छ ।
मानिसको जीवनबाहेक दुःख र सुख अन्यत्र कहीँ पनि छैन, हुँदैन । मान्छेले मात्रै हो सायद दुःखको पीडा महसुस गर्ने र सुखको खुसी लिने । पशुपक्षीहरूले पनि केही मात्रामा गर्लान्, तर मानिसजत्तिको संवेदनशील र चेतनशील अनुभव अन्य प्राणीमा कहाँ पाइनु !
त्यसैले दुःखबाट मुक्त हुन चाहन्छ मानिसको जिन्दगी । सुखको खोजीमा भौँतारिरहन्छ जिन्दगी । मिठा–नमिठा सपनाहरू मनभरि सजाएर दौडिरहन्छ यही जिन्दगी । कठोर पनि हुन सक्ने । नरम पनि बन्न सक्ने ।
तथापि, सधैँ मिठो सपनाकै ध्याउन्नमा मरिमेट्दै । तर, सपनाहरू देखिन्छन् मात्र र विपनामा ती सबै बिर्सिन पुगिन्छ । सम्झिएका सपनाहरू विपनामा साकार नहुँदा लाग्छ, मान्छेका रहरहरू कहिल्यै पनि पूरा हुँदैनन् ।
कति वर्षसम्म बाँच्छु भन्नेहरू रोगै नलागी मरिरहेछन् । रोगले थला परेकाहरू भने आज मर्छु कि भोलि भन्दाभन्दै बाँचिरहेछन् रोग पालेर । यो पनि यौटा सपनाकै कुरा हो, जुन विपनामा परिणत हुन सक्दैन । सोचेको एउटा कुरा र भइदिन्छ अर्कै कुरा ।
जिन्दगी सपनाजस्तो पनि । जिन्दगी विपनाजस्तो पनि । परन्तु, हाँसो, खुसी, भेट अनि संयोग–वियोगका पलहरू । केवल बाँच्नुको नाम जिन्दगी ।
दुःख र सुखको अनुभूति नै जिन्दगी । रातको आराम र दिनको व्यस्तता नै जिन्दगी । हिँड्नु र हिँडिरहनु नै जिन्दगी । गन्तव्य प्राप्तिको पाइला जिन्दगी । यात्रा जिन्दगी, जिन्दगी यात्रा । हजार पाइला, लाखौँ अनुभूति !
‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय’ शीर्षक चित्रमा कलाकार नवीन्द्रमान राजभण्डारीले रङहरूबाट ज्योर्तिमय जीवनको अपेक्षा गर्नु भनेको पनि वस्तुतः सपना जिन्दगीकै एक सबल पक्ष हो ।
मायाको प्रेम । प्रेमको माया । एक अञ्जुली हावाको स्पर्श । एक थोपा पानीको प्यास । एकपल खुसीले बाँच्नुको आनन्द । एक नजर हेर्नुको आनन्द ।
जिन्दगी खुकुरीको धारमा टेकेर होसियारी अँगाल्दै हिँड्नुको विशुद्ध नाम हो । यस्तोमा सावधानी अपनाइएन भने मिठो सपना देखेर मात्र आनन्दित रहन सकिँदैन ।
मित्रताको चिनो लामो आयु । जिन्दगीको यात्रा फूलैफूलको ओछ्यान । काँडा टेक्दा पनि फूलको प्रेम । यो हो मायाको प्रेम । यही हो प्रेमको माया । जिन्दगीको माया र असीम प्रेम ।
हार्दिक भावले भरिएको मिठो मुस्कान । सद्भावले युक्त, स्नेहासिक्त, सप्रेम जीवनका खुसीहरू ।
मन आज कति फुक्का फकिर भइरहेछ । ऊर्जा उम्रिँदै यौटा बिछट्टको आयतनमा छु । विचारका बग्रेल्ती फाँटहरू छिचोल्दै छु । म यति बेला ‘जिन्दगी एक सपना’ शीर्षक सुन्दर निबन्धको आराधना गर्दै बिट मार्ने बिसौनीमा पुगेको छु ।