
काठमाडौं । जल तथा मौसम पूर्वानुमान माहाशाखाले आगामी तीन दिनसम्म विशेष गरी रातको समयमा मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । तर, केही दिनयता भएको भारी वर्षाले बाढी तथा डुबानजस्ता समस्या ल्याए पनि आजदेखि सुधारात्मक बन्दै जाने महाशाखाको भनाइ छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले आजदेखि नै शुक्रबार रातिसम्म नै रातको समयमा वर्षा हुने र मौसम सुधारात्मक बन्दै जाने बताए ।
“तीन दिन यताको अवस्था हेर्ने हो भने रातको समयमा धेरै पानी परेको थियो, डुबान र बाढीसमेत गयो, आगामी तीन दिन पनि पानी पर्छ । तर, सुधारात्मक बन्दै जानेछ,” उनले भने, “देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायजसो रातको समयमा पानी बढी परेको हो ।”
महाशाखाका अनुसार आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको स्थान साथै कोसी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । रासस