site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायल र हिजबुल्लाहबीच तनाव बढ्दै, लेबनानमा रहेका ११ सय नेपालीको अवस्था के छ ? 
फाइल तस्बिर

काठमाडौं । पछिल्ला दिनमा पश्चिम एसियामा तनाब बढ्दै गएको छ । इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच चलिरहेको युद्ध अब लेबनानमा सर्ने अनुमान धेरैले गरेका छन् । 

लेबनानको सिया इस्लामिक राजनीतिक पार्टी तथा लडाकू समूह हिजबुल्लाह र इजरायलबीच पछिल्ला दिन बढ्दो तनावले ठूलो युद्धका संकेत गरिरहेको छ । हमास र हिजबुल्लाह दुवै इरान समर्थित समूह हुन् ।
 
सन् २०२३ अक्टोबर ७ का दिन हमासले अचानक इजरायलमाथि आक्रमण गरेपछि हिजबुल्लाह पनि विस्तारै इजरायलसँगको युद्धमा तानिँदै आएको छ । 

गतवर्ष हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीसहित एक हजार ४ सय जना मारिएका थिए । त्यसपछि इजरायलले चलाएको कारबाहीमा साढे ३४ हजारभन्दा बढी प्यालेस्टिन मारिएका छन् भने करिब ७८ हजार घाइते भएका छन् ।

इजरायल र हमासबीच युद्ध चर्किएसँगै हिजबुल्लाहले इजरायलका दक्षिण भू–भागमा छिटफुट आक्रमण गर्दै आएको छ । इजरायलले पनि यसैगरी जवाफी कारबाही गर्दै आएको छ । दुवै पक्षबीच ठूलो आक्रमण भएको थिएन ।

तर शनिबार इजरायल नियन्त्रित गोलान हाइट्समा रकेट आक्रमण भएपछि इजरायल र हिजबुल्लाहबीच ठूलै युद्ध हुने आशंका गरिएको छ । रकेट आक्रामण बालबालिका खेलिरहेको मैदानमाथि भएको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार, आक्रमणमा परी १२ जना बालबालिकाको मृत्यु भएको छ भने ४४ जना मानिस घाइते भएका छन् । 

शनिबार गोलान हाइट्मा भएको आक्रमणलाई ‘अक्टोबर ७’ पछिको ठूलो आक्रमणको रुपमा चित्रण गरिएको छ । उक्त आक्रमणका कारण अमेरिका भ्रमणमा रहेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भ्रमण छोट्याएर स्वदेश फर्केका थिए ।

इजरायलले गोलान हाइट्समाथि हिजबुल्लाहले आक्रमण गरेको जनाउँदै यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । हिजबुल्लाहले भने उक्त आक्रमण आफूले नगरेको दाबी गर्दै आएको छ । यसले इजरायल र हिजबुल्लाहलाई युद्धको नजिक ल्याएको बुझाई धेरैको छ ।

सन् १९६७ भन्दा अगाडि गोलान हाइट्स सिरियाको थियो । सन् १९६७ मा भएको ६ दिने युद्धका बेला इजरायलले उक्त भूमिमा कब्जा जमाएको थियो । गोलान हाइट्समा २० हजार मुस्लिम र २५ हजार यहुदी छन् ।

इजरायलले गोलान हाइट्समा रहेका मुस्लिम समुदायलाई इजरायलको नागरिकता लिन दबाब दिँदै आएको तर उनीहरूले मानेका छैनन् ।
 
यसैबीच शनिबार गोलान हाइट्समा १२ जना बालबालिकाको ज्यान लिने गरी रकेट आक्रमण भयो, तर कसले र किन गर्यो कसैले जिम्मेवारी लिएको छैन । जिम्मेवारी कसैले नलिए पनि यो घटनाले इजरायल र हिजबुल्लाहबीचको सम्भावित युद्धलाई नजिक ल्याइदिएको छ । 

“हिजबुल्लाह यसका लागि जिम्मेवार छ र तिनीहरूले यसको मूल्य चुकाउनेछन् । हामी दुस्मनलाई कडा प्रहार गर्नेछौं,” इजरायलका रक्षामन्त्री योभ गैलान्टले चेतावनी दिएका छन् । 

इजरायलले जनुसुकै बेला हिजबुल्लाहमाथि ठूलो आक्रमण गर्ने सम्भावना छ । इजरायलको पछिल्लो अभिव्यक्तिले यही भन्छ । यो आक्रमण लेबनानको भूमिमा हुनेछ, जसले हिजबुल्लाहलाई मात्र होइन लेबनानलाई नै युद्धमा तान्ने छ । 

लेबनानका कार्यबाहक विदेशमन्त्री अब्दल्लाह बो हबिबलले यदि इजरायलले लेबनानको भूमिमा आक्रमण गरे यसले सम्पूर्ण क्षेत्रलाई युद्धमा धकेल्ने चेतावनी दिएका छन् । लेबनानविरुद्धको युद्ध ‘क्षेत्रीय युद्ध’ हुने उनले बताएका छन् ।
 
लेबनानमाथि आक्रमण गरे हिजबुल्लाह मात्र होइन हुथी, इराकी मिलिसिया, सिरियाका मिलिसिया, पाकिस्तान तथा अफगानिस्तानका मिलिसिया समेत इजरायलविरुद्ध लड्ने चेतावनी उनले दिएका छन् ।

युद्ध भैहाले लेबनान संलग्न नहुने तर हिजबुल्लाहको पछाडि उभिने समेत हबिबले अन्तर्राष्ट्रिय मिडियासँग बताएका छन् । 

“यदि युद्ध हुन्छ भने हामी हिजबुल्लाहको समर्थन गर्छौं । समर्थन विश्वासका कारण होइन, हाम्रो देशमा हुने आक्रमणको कारण हो । यसकारण हामी हिजबुल्लाहलाई समर्थन गर्छौं,” लेबनानका कार्यबाहक विदेशमन्त्री हबिबलले प्रतिक्रिया जनाएका छन् । 

पछिल्ला अभिव्यक्तिहरूले इजरायल र हमासबीच जुनसुकै बेला युद्ध सुरु हुने संकेत गर्छ । युद्ध भए त्यहाँ कार्यरत नेपाली प्रभावित हुनेछन् । 

“लेबनानमा ११ सय नेपाली रहेको जानकारी हामीलाई लेबनान सरकारले दिएको छ,” लेबनान समेत हेर्ने जिम्मेवारी पाएका इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले बाह्रखरीसँग भने, “हामी सबै नेपालीको सम्पर्कमा छौं ।” 

लेबनानको होटल तथा रेष्टुरेन्ट, उद्योगमा नेपालीहरू कार्यरत छन् । घरेलु कामदारका रुपमा पनि नेपाली महिला लेबनानमा काम गरिरहेका छन् । 

हालसम्म लेबनानमा रहेका नेपालीलाई कुनै अप्ठेरो नपरेको जानकारी राजदूत लम्सालले दिए । यदि आकस्मिक रुपमा उद्धार गर्नुपर्ने अवस्था आएमा पनि विवरणहरू रहेकोले कुनै अप्ठेरो नहुने उनले जनाए । 

लेबनानको काम गर्ने ११ सय नेपालीबाहेक संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा खटिएका ८७५ जना नेपाली शान्ति सैनिक (नेपाली सेना) लेबनानमा छन् । उनीहरू इजरायल र लेबनानको सीमामा राष्ट्रसंघीय मिसनअन्तर्गत खटिएका छन् । शान्ति सैनिक समेत जोड्दा लेबनानमा करिब दुई हजार नेपाली छन् । (एजेन्सीको सहयोगमा) 
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro