site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुर्मीलाई मन्त्रीबाट हटाउन माग, डा. केसीले दिए सत्याग्रहको चेतावनी
फाइल तस्बिर ।

काठमाडौं । चिकित्साशिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीलाई पदबाट हटाउन माग गरेका छन् । निर्मला कुर्मीको बलात्कार तथा हत्याका ‘मुख्य’ आरोपित तथा सरकारद्वारा गठित छानबिन समितिले कारबाहीको सिफारिस गरेका कुर्मीलाई मन्त्री बनाइएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

कुर्मीलाई मन्त्री बनाइएकामा उनले नेपाली कांग्रेस र त्यसको नेतृत्वप्रति रोष समेत प्रकट गरेका छन् । “...बादशाह कुर्मीलाई मन्त्री बनाएर देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक भनिने राजनीतिक दलले दण्डहीनतालाई अर्को उचाइमा पुर्‍याएको छ,” शनिबार उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कुर्मी हाल विनाविभागीयमन्त्रीको जिम्मेवारीमा छन् ।

संक्रमणकालीन न्यायलगायत विषयमा पनि उनले ध्यानाकर्षण गराएका छन् । उनले यसअघिका आफ्ना माग पूरा गर्न र सम्झौता कार्यान्वयन गर्न समेत ध्यानाकर्षण गराएका छन् ।

Dabur Nepal
NIC Asia

“यी मागहरू पूरा नभएमा कुनै पनि बेला सत्याग्रहसहितका कार्यक्रम सुरु गर्ने जानकारी गराउन चाहन्छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

डा. गोविन्द केसीको विज्ञप्ति पढ्नोस्–
प्रेस विज्ञप्ति
हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्युनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनका लागि निरन्तर लडिरहेका छौं ।

हालै देशमा नयाँ सरकार बनेको छ । तर अपराधीहरूलाई पुरस्कृत गर्ने र न्याय मार्ने पुरानो थिति भने ज्युँकात्युँ छ । केही दिन अगाडि लुम्बिनी प्रदेश सरकार गठनका बेला निर्मला कुर्मीको बलात्कार तथा हत्याका मुख्य आरोपी तथा सरकारद्वारा गठित छानविन समितिले कारवाहीको सिफारिस गरेका बादशाह कुर्मीलाई मन्त्री बनाएर देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक भनिने राजनीतिक दलले दण्डहीनतालाई अर्को उचाइमा पुर्याएको छ । यसमा देशका सबै जसो माफिया र अपराधीहरूसित साँठगाँठ राखेर पार्टीभित्रै शक्तिकेन्द्र बनाएकी प्रभावशाली नेतृ तथा हालको संघीय सरकारकी मन्त्रीको प्रत्यक्ष हात छ ।

त्यसैले तुरुन्त बादशाह कुर्मीलाई प्रदेशको मन्त्रीबाट हटाएर उनीमाथि चलिरहेको छानविन र अनुसन्धानलाई निष्पक्ष तथा तीव्र बनाउन हामी सरकारको तथा नेपाली काँग्रेस पार्टीको ध्यानाकर्षण गराउँछौं । अन्यथा काँग्रेसले अफताव आलमजस्ता अपराधीहरूको संरक्षण गरेबापत कमाएको बदनामी झनै चुलिएर जानेछ र देशको लोकतान्त्रिक भनिएको पार्टी बलात्कारी र हत्याराहरूलाई मन्त्रीजस्तो पदबाट पुरस्कृत गर्ने तथा देशमा विधिको शासन कुल्चिने पार्टीका रुपमा स्थापित हुनेछ ।

संक्रमणकालीन न्यायको प्रक्रिया टुंग्याउनेसम्बन्धी तीन प्रमुख दलहरूबीच सहमति हुन लागेको भन्ने समाचारहरू आइरहेका छन् । त्यस्तो सहमतिमा पीडितलाई न्यायबाट वञ्चित गर्ने तथा दुवै पक्षका अपराधीहरूलाई उन्मुक्ति दिने खतरा टड्कारो छ । त्यसैले अब यस विषयमा कुनै पनि प्रक्रिया अघि बढाउँदा पीडितहरूका लागि पूर्ण न्याय र क्षतिपुर्ति सुनिश्चित गर्न तथा जघन्य र मानवताविरोधी अपराधमा संलग्न जुनसुकै पक्षका दोषीहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइ दण्डित गर्ने व्यवस्था गर्न पनि सबै पक्षको ध्यानाकर्षण गराउँँछौं ।

न्यायालयमा कायम बेथिति र भ्रष्टाचारबारे हामीले बारम्बार आवाज उठाउँदै आइरहेका छौं । यसैबीच एउटा मेडिकल कलेजसम्बन्धी मुद्दामा गम्भीर न्यायिक विचलनयुक्त फैसला दिने न्यायधीश डा कुमार चुडालमाथि कानुनअनुसार छानविन र महाभियोगको कारवाही गर्न संसद्सित माग गरेकोमा त्यसतर्फ कुनै प्रक्रिया अघि नबढेकाले तत्काल प्रक्रिया अघि बढाउन पुनः जोडदार माग गर्दछौं ।

साथै हामीले यस अघि उठाउँदै आएका पदाधिकारी नियुक्तिको मापदण्डका लागि ऐन बनाउने, एकीकृत प्रतिष्ठानसम्बन्धी ऐन जारी गर्ने, गेटालगायत सबै प्रदेशमा सरकारी कलेज वा प्रतिष्ठान पुर्याउने, इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज पुर्याउने, निशुल्क औषधि उपचारको व्यवस्थालगायत अन्य मागहरू पूरा गर्न तथा हामीसित भएका सम्झौताहरू कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराउँछौं ।

यी मागहरू पुरा नभएमा कुनै पनि बेला सत्याग्रहसहितका कार्यक्रम शुरु गर्ने जानकारी गराउन चाहन्छौं ।

डा गोविन्द केसी

२०८० साउन १२

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro