site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने उनले बताए ।  

नेपाल पत्रकार महासंघ कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, “वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गर्नुभएको छ ।”

Argakhachi Cement Island Ad

मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताए । 

“संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ, हामीले पनि यसलाई अन्तिम विकल्पका रुपमा प्रयोग गरेका हौँ”, उनले भने, “यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ ।”

सरकारले अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, सुशासन र विकास गतिविधिलाई केन्द्रमा राखेर काम गर्ने मन्त्री गुरुङको भनाइ छ ।

डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने उनले बताए । सञ्चारसँग सम्बन्धित ऐन, कानुनलाई समयसापेक्ष परिमार्जन गरिने मन्त्री गुरुङको भनाइ छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्