site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपसभामुखको पत्र प्रकरण– के गर्दैछन् राजनीतिक दल ?

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा प्रमुख राजनीतिक दलहरुले आन्तरिक छलफल थालेका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले यो प्रकरणमा पहिला उपसभामुखले नै धारणा सार्वजनिक गरेर मार्ग प्रशस्त गर्न आग्रह गरेको हुँदा केही दिन पर्खिएको बताएका छन् ।

‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७औं सत्रमा भाग लिन जानका लागि उपसभामुख रानाले पाँचजनाको लागि अन्तर्वार्ताको मिति अघि सार्न लेखेको पत्रले सदन समेत तताएको थियो । 

२६ फेब्रुअरी २०२३ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तिमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि सार्न आग्रह गर्दै पत्र लेखिकी थिइन् ।

Dabur Nepal
NIC Asia

सोही पत्र केही दिनअघि सार्वजनिक भएपछि सञ्चारमाध्यम, सामाजिक सञ्जालले र सिंगो राजनीतिक वृत्त तंरगित नै बन्यो ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विज्ञप्ति जारी गर्‍यो ।  उपसभामुख रानाले करुणाभाव जागेर आफूले पत्र लेखेको विज्ञप्तिमार्फत् स्वीकार गरेकी थिइन् । 

सोही पत्रको विषयलाई लिएर आइतबारको प्रतिनिधिसभा बैठक गर्माएको थियो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघि विशेष समयमा सो विषय चर्किएको थियो ।  सत्ता पक्षका सांसदहरुले उपसभामुखलाई ‘मानव तस्कर’को आरोपसमेत लगाएका थिए । 

बैठकमा कांग्रेस सांसद रामहरि खतिवडा, नेकपा (एमाले)का सांसद दामोदर पौडेलले सभामुखको पत्रमाथि प्रश्न उठाएका थिए । 

“स्वयम् उपसभामुखको विज्ञप्ति पनि बोल्छ । मैले मानव तस्करी गरेको हो भन्ने बोल्छ त्यो पत्रले,” पौडेलले ठोकुवा गरेका थिए, “लेनदेन छ भन्ने विज्ञप्तिमा आयो । यस्तो उपसभामुख चाहिएको होइन । संवैधानिक परिषद्को सदस्य चाहिएको होइन । जसले मान्छे अनेक नाममा लेटरप्याडको प्रयोग गरेर अनेकौँ नाममा मान्छे बेचबिखन गर्ने । उहाँलाई करुणा जाग्यो...।”

बैठकमा सत्ता पक्ष र रास्वपाबीच सवाल जवाफ चलेको थियो । रास्वपाकी सांसद सुमना श्रेष्ठले मिडिया ट्रायल गरिएको र महिलाको चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएकी थिइन् । 

“संवैधानिक परिषद्मा अल्पमतमा परेको भए माग्नुहोस्, दिऊँला । तर, कसैको चरित्रहत्या नगर्नुस् । भएभरको जायजेथा अनाथ आश्रममा दिनेको चरित्रहत्या नगरौँ,” उनले भनेकी थिइन् । 

त्यस्तै, रास्वपका सभापति रवि लामिछानेले पनि आपत्ति जनाएका थिए । उनले सोचेरमात्रै बोल्न चेतावनी दिएका थिए । 

“आज सिंगो जीवन जेलमा परेका बाबुआमाका सन्तानलाई न्याय दिएर सयौँ, हजारौँ बालबालिकालाई जीवन दिने इन्दिरा रानामगरलाई एउटा विषय आउनेबित्तिकै यो सदनमा मानव तस्करको आरोप लगाउने गरी निर्मम भयौँ हामी । विरोध गर्न पाइन्छ,” लामिछानेले भनेका थिए, “कस्तो आरोप कसमाथि लगाइएको छ, एकपटक सोची त हेरौँ । विषय उठेको छ, प्रमाणित भएको छैन ।”

सोमबार र मंगलबार पनि प्रतिनिधिसभाको बैठक बस्यो । बैठकमा भने सो प्रकरणले खासै चर्चा पाएन । 

मंगलबारको बैठकमा कांग्रेस सांसद शान्ति विकले सुमनाले उपसभामुखबारे मिडिया ट्रायल गरेको भनि लगाएको आरोपबारे जवाफ दिइन् ।  उनले परराष्ट्रमन्त्री आरजु देउवाको यसअघि चरित्र हत्या गरेको बताइन् ।  

“आफू दायाँबायाँ जता बस्यो उतै मिडिया ट्रायल हुन्छ ? परराष्ट्रमन्त्री आरजु देउवा राणालाई आरोपित प्रमाणित भएझैँ यही संसद्मा बारबार कुरा उठेको होइन ? उहाँ पनि दुर्गम क्षेत्रमा महिला बालबालिकामाथि काम गर्ने व्यक्तित्व हो । तर, मिडिया ट्रायल गरि चरित्र हत्या गरिएको थियो,” विकले बैठकमा भनिन् । 

बैठकको विशेष समयमा एमालेका सांसद योगेश भट्टराईले उपसभामुखको पत्र ठिक कि बेठिक भन्ने विषयमा बहस भइरहेको बताए ।

उनले संसद्को समितिको बैठकमा एनजीओले खाजा खुवाएको, आइएनजीओले झोला बाँडेको कुरा ठिक कि बेठिक भनि प्रश्न उठे पनि कानुनी उपचार के हो भनी राम्रोसँग छलफल नभएको बताए । भट्टराईले स्वार्थको द्वन्द्व देखिने यस्ता प्रश्नहरुबारे एकीकृत कानुन ल्याउनुपर्ने आवश्यकता औल्याए । 

उता, रास्वपाले महामन्त्रीबाट निलम्बन गरेका मुकुल ढकालले भने कारबाहीको माग गर्दै आफूसँग प्रमाण भएको जिकिर गरेका छन् ।  उनले मंगलबार सामाजिक सञ्जालमार्फत आफूसँग उक्त घटनाका केही प्रमाण रहेको भन्दै राज्यले सोधपुछ र छानबिनका लागि बोलाए त्यो दिन तयार रहेको उल्लेख गरेका छन् । 

आफू पार्टीको महामन्त्री पदमा रहँदा उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी पार्टीमा आएको र त्यो कुरा नेतृत्वलाई दिइएको पनि लेखेका छन् । उपसभामुखको सचिवालयले ९ लाख लिएको र त्यो पीडित समक्ष रहेको मुकुलको भनाइ छ । 

“९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ,” उनले फेसबुकमा लेखेका छन् । 

उपसभामुखको पत्र प्रकरणबारे संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उजुरी परेको छ ।  समितिका सभापति रामहरी खतिवडा उपसभामुख आफैंलाई सो विषयले अफ्ठ्यारो लाग्नुपर्ने बताउँछन् । 

“यो विषय सेलाएको छैन । उपसभामुख आफैंलाई यस्तो विषय आएपछि अफ्ठ्यारो लाग्नुपर्छ । पब्लिकमा हिँड्दा, संसद्मा त्यत्रा सांसद्को अघि के भन्दा हुन् । तीनै सांसदले मेरा बारेमा के गरिरहेका होलान भन्ने सोच्नुपर्ने हो,” उनले बाह्रखरीसँग भने । 

उनले केही समयमा यस प्रकरणबारे निर्णय लिइने उनको दाबी छ । “हामी हेरिरहेका छौं । उहाँको बारेमा । केही समयमा के गर्ने भन्ने निर्णय गर्छौैं,” उनले भने । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro