site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी चार – जसको पछाडि दौडिरहेको छ नेपाली सांगीतिक क्षेत्र  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली सांगीतिक क्षेत्र अहिले केही सीमित व्यक्तिका पछाडि दौडिएको छ । धेरै गीतकार, संगीतकार तथा प्रोडुसर ती व्यक्तिका पछाडि दौडिएका हुन् ।

अग्रजदेखि अनुजपुस्तासम्मका गीतकार, संगीतकार, प्रोडुसरसम्मको पहिलो रोजाइमा केही सीमित व्यक्ति पर्ने गरेका छन् । पछिल्लो समय रचना रिमाल, समीक्षा अधिकारी, एलिना चौहान र शान्तिश्री परियार उनीहरूका रोजाइमा पर्ने गरेका हुन् ।

यी चार गायिकाका पछाडि पूरै नेपाली सांगीतिक क्षेत्र कुदिरहेको छ । उनीहरूका गीत पछिल्लो समय दिनहुँजसो रिलिज भइरहेका छन् । आधुनिक होस् वा लोक वा तिजगीत यी गायिकाको पहिला खोजी हुने गरेको छ । लोक फ्लेवरमा शान्तिश्री, लोक तथा आधुनिकमा समीक्षा, आधुनिकमा रचना र पप–आधुनिकमा एलिनाको अध्यधिक खोजी गरिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पुरानादेखि नयाँ पुस्ताका गायिकगायिकाको संख्या ठूलो रहे पनि सीमितको मात्र खोजी हुने गरेको संगीतकार अर्जुन पोखरेल बताउँछन् । बजारमा जो चल्छ, उसकै पछाडि लाग्ने ‘ट्रेन्ड’ रहेको उनी सुनाउँछन् ।

केही संगीतकारले आफैँ गीत गाउने र फिमेल भोकलका निम्ति बजारमा चलिरहेका गायिका खोज्ने गरेको उनको भनाइ छ । “बजारमा को चलेको छ, जसको हल्लीखल्ली छ । रचना, समीक्षा, एलिना र शान्तिश्रीलाई नै धेरैले खोजी गरिरहेका छन्,” अर्जुन भन्छन्, “त्यसबाहेक अञ्जु पन्तले केही गीत गाइरहनुभएको छ ।”

Royal Enfield Island Ad

सधैँ एकै व्यक्तिको पछि लाग्दा ‘आउटपुट’ राम्रो नआउने उनको अनुभव छ । यो टड्कारो समस्या भएको उनी बताउँछन् । “हन्ड्रेड पर्सेन्ट भ्वाइस म्याच नहुँदा पनि उसैलाई चलाऊँ, यसअघि उसको गीत चलेको थियो भनेर गायकगायिका खोज्ने चलन छ,” अर्जुन भन्छन्, “योभन्दा अगाडि उसको भ्वाइस म्याच भएर चलेको थियो होला, सबै गीत र कम्पोजमा सबैको भ्वाइस म्याच हुन्छ भन्ने हुँदैन । र, हुन आवश्यक पनि छैन ।”

आफूले प्रायः नयाँ गायकगायिकालाई नै लिने गरेको अर्जुन बताउँछन् । केही समयअघि रिलिज भएको चलचित्र ‘उपहार’मा पनि नयाँ गायकगायिकालाई लिएको उनको भनाइ छ ।

निर्माता–निर्देशकको दबाबका कारण पनि कतिपय संगीतकारले बजारमा चर्चामा रहेका गायकगायिकालाई नै लिने गरेको उनको तर्क छ । “ठूलो लगानी भएका कारण आफ्नो गीतमा टिकटक बनोस्, चर्चा होस्, सेयर र कमेन्ट होस् भन्ने लोभ हुन्छ,” उनी भन्छन्, “प्रोगाममा हाम्रो गीत गाइयोस् भन्ने हुन्छ । त्यसैले जो स्टेज प्रोगाममा धेरै हिँड्छ, उसैलाई आफ्नो गीत गाउन लगाउने चलन छ ।” 

गीतकारलाई पनि आफ्नो गीत चलोस् भन्ने लोभ हुने भएकाले चर्चामा रहेका गायकगायिकालाई नै गाउन लगाउने गरेको उनी बताउँछन् । “आफ्नो गीत र कम्पोज चलोस् भन्ने सबैलाई हुन्छ । तर, मेरो गीत यी चारजना गायिकालाई फिट छ कि छैन भन्ने पनि सोच्नुपर्छ,” उनी भन्छन्, “यसो भन्दैमा नयाँलाई अथवा अहिले चर्चामा रहेकालाई मैले नराम्रो भन्न खोजेको होइन । मैले पनि उहाँहरूसँग काम गरेको छु, उहाँहरूको गायकी राम्रो छ । तर, सबै गीत र कम्पोज सबैका लागि फिट हुँदैनन् ।”

संगत र संस्कार 
पछिल्लो समय सांगीतिक क्षेत्रमा आउनेमा संगीतको ज्ञान र संस्कार कम रहेको उनको टिप्पणी छ । मिडिया तथा सामाजिक सञ्जालमा ‘हिट’ भएर गायनमा आउने गरेको अर्जुन बताउँछन् ।

लामो समय संगीतको अध्ययन/साधना गरेर सांगीतिक क्षेत्रमा आए/नआएको विषयले ठूलो अर्थ राख्ने उनको बुझाइ छ । “पहिला संगीतको साधना गरेर आउने चलन थियो । त्यसले संगीतको संस्कार के हो भन्ने ज्ञान हुन्थ्यो,” उनी भन्छन्, “अहिले टिकटक र फेसबुकमा भाइरल भएर आउने चलन छ ।”

पछिल्लो समय गायकगायिकाले कम र टेक्नोलोजीले बढी साधना गरिरहेको उनको भनाइ छ । “स्टेजको गायकी र स्टुडियोको फाइनल रेकर्ड सुन्दा नै थाहा हुन्छ, व्यक्तिले साधना गरिरहेको छ अथवा टेक्नोलोजीले भन्ने । यो कसरी भयो भने गलाको साधना कम र टेक्नोलोजीको साधना बढी छ ।”

बजारमा चलिसकेपछि कतिपयले संगीत सिक्न जान लाज मान्ने गरेको उनी बताउँछन् । संगीतको सामान्य विषय पनि जानकारी रहेनछ भन्लान् भन्ने डरले सिक्न जान नचाहने अर्जुन सुनाउँछन् ।

“चलेको बेला छ, यही बेला हो मैले काठमाडौंमा घरगाडी जोड्ने, पछि जेसुकै होस् भन्ने मनोविज्ञानले पनि मिडियाबाट भाइरल भएर आएकालाई काम गरिरहेको छ,” उनी स्पष्ट पार्छन्, “सामाजिक सञ्जाल र मिडिया होइन, गायकगायिका संगीतका विद्यालय र इन्स्टिच्युटबाट आउनुपर्छ ।”

बजार र चर्चाका पछाडि लाग्दा राम्रो गायकी भएका प्रतिभा अवसर नपाएर छायामा पर्ने सम्भावना हुन्छ । विस्तारै राम्रा गीत र कम्पोज नै कम हुनेतर्फ उनी सचेत गराउँछन् । यसले समग्रमा संगीतको विकासको गति नै रोकिने उनी औँल्याउँछन् ।

संगीतको विकासका निम्ति गायकी राम्रो भएका गायकगायिका नै चाहिने उनी प्रस्ट पार्छन् । “नारायणगोपाल र भक्तराज आचार्य आउँदा त्यही खालको कम्पोज आयो होला,” उनी भन्छन्, “गोपाल योञ्जनको कम्पोज गाउने नारायणगोपाल नभएको भए सायद त्यो लेभलको गीत आउँदैन थियो होला ।”

हाइरेन्जको कम्पोज गाउने गायकगायिकाको संख्या कम रहेको उनी बताउँछन् । चाहेर वा नचाहेर हाइरेन्जको कम्पोज पनि अञ्जु पन्तलाई दिनुपर्ने उनको भनाइ छ ।

“किन यति लामो समयसम्म हाइरेन्जका कम्पोज गाउने प्रतिभा आएनन् भने साधना गर्ने बानी हट्यो,” उनी भन्छन्, “अहिले पनि हाइरेन्जका क्लासिकल गीत गाउन लगाउनुपर्‍यो भने शिव परियार र प्रमोद खरेलबाहेक अरू छैनन् ।”

साधकभन्दा सामाजिक सञ्जालमा भाइरल व्यक्तिलाई मिडियाले बढी स्थान दिने गरेको उनको गुनासो छ । दशकौँ साधना गरेका व्यक्तिले मिडियामा स्थान नपाउने तर टिकटक र फेसबुकमा भाइरललाई सञ्चारमाध्यमले प्राथमिकता दिनु पनि गलत भएको अर्जुन टिप्पणी गर्छन् ।

नेपालमा मात्र होइन, संसारभर ‘बलेको आगो ताप्ने’ चलन छ । नेपाली समाज पनि यसमा अपवाद नरहेको संगीतकार वसन्त सापकोटा बताउँछन् । व्यापारिक हिसाबले हेर्दा चलेको कलाकारलाई लिए फाइदा उठाउन सकिन्छ कि भन्ने गरिएको उनको भनाइ छ ।

“बजारमा को चलिरहेको छ, कसको स्वर सुनिन्छ, निर्मातालाई पनि लगानी उठाउन सकिन्छ कि भन्ने लागेर यसको स्वर हालौँ भन्ने हुन्छ,” उनी भन्छन् ।

अञ्जु पन्त, मेलिना राईलगायत कलाकारले पनि गीत गाइरहेका छन् । तर, पछिल्लो समय संख्यात्मक रूपमा उनीहरूका गीत कम रहेको वसन्त बताउँछन् ।

समीक्षा, एलिना, रचनाले दिनमै चारपाँचवटा गीत रेकर्ड गर्दै आएको बताउने गरेका छन् । तर, यो सम्भव नरहेकामा उनी जोड दिन्छन् । “रेकर्ड नै राख्न गाउने हो भने छुट्टै हो । हप्ता दिनका गीत संग्रह गरेर स्टुडियो बुक गरेर एकैदिन गाउँछु भनेर गाउने हो भने छुट्टै हो,” वसन्त भन्छन्, “होइन भने चारपाँचवटा गीत एकैदिन गाउन सम्भव छैन ।” 

एकैदिन पाँच गीत फरक–फरक स्टुडियोमा गएर गाउन सम्भव नरहेको उनको जिकिर छ ।

सांगीतिक क्षेत्रमा पनि अस्वस्थ प्रतिस्पर्धा रहेको उनी बताउँछन् । एकले दिनमै चार गीत गाए अर्कोले हप्ताभरिका सँगालेर पाँचवटा गाउनेजस्तो अस्वस्थ प्रतिस्पर्धा रहेको उनको बुझाइ छ । अस्वस्थ प्रतिस्पर्धाले नेपाली संगीतको क्वालिटी खस्किरहेको उनी टिप्पणी गर्छन् ।

“प्रत्येक व्यक्तिको भोकलको टेक्स्चरअनुसारको रेन्ज हुन्छ । कुन रेन्जमा कसको स्वर सुट हुन्छ भन्ने हुन्छ । टेक्स्चरअनुसार कसको भोकल सुट हुन्छ भन्ने हुन्छ,” वसन्त भन्छन्, “जो बजारमा चलेको छ, उसको भोकल सुट गरे पनि नगरे पनि गाउन लगाउने प्रचलन छ । सबै गीत सबैलाई सुट गर्दैन ।”

गीत गाउन पर्याप्त रियाज गर्नुपर्नेमा त्यो अभ्यास कम हुँदै गएको उनी औँल्याउँछन् । अर्को स्टुडियोमा टाइम लिएको भनेर हतारमा रेकर्डिङ गर्ने गरिएको उनी सुनाउँछन् ।

“गीत हो, गाउनुअगाडि पर्याप्त रियाज गर्नैपर्छ । टेक्निकल कुरा हो, कहिलेकाहीँ बिग्रिन्छ,” उनी भन्छन्, “कम्तीमा स्टुडियोभित्र पसेर अभ्यास गरेपछि नै कम्पोजमा भोकल सुट हुन आधादेखि एक घण्टा लाग्छ,” वसन्त भन्छन्, “तर, एक घण्टामा गीत नै फाइनल गरेर हिँड्दा भनेजस्तो स्वर आउँदैन । कतिले चलेको मान्छे रिसाउलान्, अर्कोपटक नआउलान् भनेर सेट नभएकै स्वरलाई फाइनल मानेर बजारमा पठाउने गरेका छन् ।” यसले नेपाली गीतसंगीतको गुणस्तर खस्किने उनको भनाइ छ ।

आधुनिक, लोक, चलचित्रको पार्श्वगायनको भोकल र टेक्स्चर फरक हुन्छ । तर, चलेका बेला आधुनिक गायकगायिकालाई लोकगीत पनि गाउन लगाउने प्रवृत्ति रहेको वसन्त बताउँछन् । “सबै त चलेकै गायकगायिकाको पछि लाग्दैनन्, तर ५० प्रतिशतजति यसरी चलेका व्यक्तिको पछि लाग्दा समस्या भइरहेको छ,” उनी भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro