site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेमाथि थप अनुसन्धान गर्ने तयारीमा प्रहरी, पर्खिदैछ संसदीय समितिको प्रतिवेदन 
फाइल तस्बिर

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणसँग जोडिएका तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले पुनः अनुसन्धान गर्ने तयारी थालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया ग्रुपमा सहकारीको रकम प्रयोग भएको खुलेको थियो ।  उक्त प्रमाणका आधारमा उनीमाथि अनुसन्धान अघि बढाउने तयारी प्रहरीले थालेको हो ।

गोर्खा मिडिया ग्रुपका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) हाल फरार छन् । जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया ग्रुपले ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याएको थियो । 
टेलिभिजनका प्रबन्ध निर्देशकमा रवि लामिछाने थिए । 

त्यही आधारमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गर्ने तयारी गरिरहेको प्रहरी उच्च स्रोतले जानकारी दिए ।

‘‘सहकारीको रकम हिनामिना अनुसन्धानमा केही राजनीतिकरण पनि भएको छ । पछिल्लो समय संसदीय छानबिन समिति बनेको हुँदा प्रतिवेदन दिएपछि हामी अनुसन्धानलाई तीव्र पार्ने छौं,’’ उच्च प्रहरी स्रोतले भन्यो ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका १९ जनाविरुद्ध जिल्ला अदालत पोखरामा मुद्दा चलिरहेको छ ।  सहकारीका मुख्य आरोपी जीबी राईबाहेक अधिकांश पक्राउ परिसकेका छन् ।

सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको थियो ।  जसमध्ये गोर्खा मिडिया ग्रुपमा मात्रै करिब १० करोडभन्दा बढी रकम सहकारीबाट आएको देखिएको छ ।

लामिछानेविरुद्ध कास्की प्रहरीमा ठाडो उजुरी परेको थियो । तर, त्यहीबीचमा लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेपछि अनुसन्धान प्रभावित बनेको थियो ।  सत्ता गठबन्धन परिवर्तन हुँदै लामिछाने गृहमन्त्रीबाट बाहिरिएपछि प्रहरीले पुनः अनुसन्धान गर्ने तयारी थालेको हो ।

सूर्यदर्शन सहकारीबाहेक प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा पनि लामिछानेको नाम मुछिएको थियो ।

सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड रकम जम्मा भएको प्रहरीको अनुुसन्धानबाट देखिएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोजनमै लामिछानेकै नाम उल्लेख गरी एक करोडमध्ये चार लाख सेवासुविधा कट्टी गरी ९६ लाख रुपैयाँ गोर्खा मिडिया ग्रुपमा ट्रान्सफर भएको थियो ।

के गर्दैछ संसदीय छानबिन समिति ?

उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने रहँदा कांग्रेसले उनीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने जोडदार माग राखेको थियो ।  कांग्रेस सदन अवरोध गरेको थियो । त्यसरी माग गर्नेमध्येका एक रमेश लेखक गृहमन्त्री बनेका छन् ।

कांग्रेसकै दबाबका कारण तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार लामिछानेको नाम उल्लेख नगरे पनि संकटग्रस्त सहकारीको छानबिन गर्ने भन्दै संसदीय विशेष छानबिन समिति बनाउन सहमत भएको थियो ।

एमाले सासंद सूर्य थापाको नेतृत्वमा गठित समितिलाई तीन महिनाको समयसीमा दिएइको छ । त्यही आधारमा समितिले पोखराको सूर्यदर्शन सहकारीको समेत छानबिन थालेको छ ।

छानबिन समितिले सहकारी र गोर्खा मिडिया ग्रुप तथा ग्यालेक्सी टेलिभिजनको सञ्चालक समितिको काजगात झिकाएको छ । आइतबार एक टेलिभिजन अन्तर्वार्तामा संयोजक थापाले सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका कोही पनि नजोगिने बताएका थिए ।

उनले भनेका छन्, “हामीले ग्यालेक्सी टेलिभिजनका सञ्चालकहरूको विवरण समेत मागिसकेको छैन । आवश्यक परे उनीहरू सबैसँग सोधपुछ गछौँ ।” प्रतिपक्षमा हुँदा लामिछानेमाथि प्रश्न उठाइरहेका कांग्रेसका तत्कालीन प्रमुख सचेतक लेखक गृहमन्त्री बनेपछि उनीमाथि चाँडै अनुसन्धान हुने अपेक्षा सहकारी पीडितहरूको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro