
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेलगत्तै ओलीले १६६ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।
पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि शुक्रबार पदमुक्त भएका थिए । संयोग नै हुनुपर्छ ओली तीन वर्षअघि असार २८ गते नै पदमुक्त भएका थिए ।
सर्वोच्च अदालतले ०७८ असार २८ गते संसद् विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो ।
ओलीले दोस्रोपटक जेठ ८ गते दोस्रोपटक सदन विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका थिए । त्यसअघि ०७७ पुस ५ गते पहिलो पटक संसद् विघटन भएको थियो ।
०७८ असार २८ गते पदमुक्त भएका ओली असार ३० गते निवास बालकोट फर्किएका थिए । बालुवाटारबाट बालकोटसम्म लैजान ओलीलाई युवा संघले स्वागत तथा स्कर्टिङ गरेको थियो ।
कार्यकर्ताहरूले हातमा राष्ट्रिय झण्डा बोकेका थिए भने ‘आई लभ यू केपी बा’, ‘केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।ओली अहिले नेपाली कांग्रेससँगको गठबन्धनमा प्रधानमन्त्री बनेका हुन् ।
एमाले र कांग्रेसबीच असार १७ गते राति सत्ता समीकरणको सहमति भएको थियो । ओलीले प्रचण्डसँगको गठबन्धन तोड्दै देउवासँग नयाँ सहमति गरेका थिए ।
नेकपा एमाले नेता प्रदिप ज्ञवालीले सामाजिक सञ्जालमा तीन वर्षअघिको त्यो दिन स्मरण गर्दै लेखेका छन्, “तीन वर्ष अगाडिको त्यो असार २८, अनि आजको यो असार २८ ! समय बलवान छ ।”