
काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ पूरक आदेशमार्फत दुवै आयोगको म्याद २०८२ साल असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।
बैठकले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागु गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय पनि गरेको छ । मुलुकको विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागु नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बैठकले स्थानीय तह राजस्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ भने सरकारी कोषको नगद व्यवस्थापन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।