
बागलुङ । अविरल वर्षापछि सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५, माझबौरमा पहिरो खसेर करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीका छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको उक्त आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेकोे बताए । वर्षा नरोकिँदासम्म सडक खुलाउन नसकिने उनले जानकारी दिए ।
उनले भने, “अहिले भारी वर्षा जारी रहेको हुँदा सडक खुलाउन सकिएको छैन । अहिले पनि सडकमाथिबाट लगातार पहिरो खसिरहेको छ ।”
यसैगरी, करिडोरको बागलुङ नगरपालिका–१०, दब्ल्याङमा पनि पहिरोले सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण सडक खुलाउन नसकिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ सिधा यातायताबाट बिच्छेद भएको छ । रासस