site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
महामन्त्रीको प्रतिवेदनपछि परीक्षण हुनेछ स्वतन्त्र पार्टी पुरानै चरित्रको कि नयाँ पद्धतिको

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल पार्टीको छवि र विश्वास के कस्तो छ भन्ने बुझ्न जिल्ला दौडाहामा गए । दलहरूले बेलाबखत यसरी नागरिक मत बुझ्नुपर्छ । त्यही क्रममा उनले पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरूबाट प्राप्त सुझाव संकलन गरे ।

उनको निष्कर्ष रह्यो, ‘बेलैमा पार्टीको अपरेसन नगरे पहिलेजतिकै सिट प्राप्त गर्न पनि मुस्किल हुन्छ ।’ उक्त प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाए । तर, त्यही प्रतिवेदनले त्यो पार्टीभित्र विग्रह ल्याउनेसम्मका टीकाटिप्पणी आएका छन् । जनमतलाई फरक तरिकाले अर्थ्याउन खोजियो भने ‘अनर्थ’ पनि सिर्जना गर्नेछ ।

संसारभरका राजनीतिक पार्टीको इतिहास हेर्दा पार्टीको छवि तीन कारणले सप्रिने र बिग्रने गरेको देखिन्छ । पहिलो, पार्टीका नेताहरूको सोचविचार, कार्यशैलीलाई ठानिन्छ । दोस्रो, नेताहरूको व्यक्तिगत आचरण र व्यवहार तथा नैतिकता र इमानदारिता हो । तेस्रो, जनता र राष्ट्रको आर्थिक, सामाजिकलगायत समग्र क्षेत्रमा हुने विकास र आर्थिक समृद्धिप्रतिको धारणा र काम–कारबाही ।

राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो स्थापनाको दुई वर्ष मनाउँदै गर्दा महामन्त्रीको प्रतिवेदनले झस्किएको हुनुपर्छ । गत प्रतिनिधिसभा चुनावमा चामत्कारिक रूपको मत प्रााप्त गरी प्रतिनिधिसभामा चौथो ठूलो पार्टी बन्न पुगेको थियो । स्थापित तीन पार्टीसँग दिक्क भएका मतदाताले विकल्पका रूपमा तिनलाई मत हालेका थिए । प्रतिनिधिसभाको चौथो पार्टी बनाउने श्रेय पार्टीका सभापति रवि लामिछानेलाई नै जान्छ ।

लामिछानेको नागरिकता, राहदानी मुद्दा लाग्दा र उनले खुसीसाथ राजीनामा दिँदासम्म पनि छवि पहिलेजस्तै कायम थियो । मानिस जति ठूलो पदमा पुग्छ, यसमाथि नेपालजस्तो देशमा अनेक मुद्दा र काण्ड लाग्छन् नै भन्ने रूपमा लिइएको थियो ।

यसमा दुईवटा कारण हाबी हुन्छन् भन्ने गरिन्छ । पहिलो, सम्बन्धित व्यक्तिले कानुनविपरीत केही काम–कारबाही गर्नु । दोस्रो, नेताका परिवारका सदस्य वा नजिकका सहयोगीबाट कानुनविपरीतका काम–कारबाही हुनु । पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लाग्न गयो । सहकारी – जहाँ गरिब नागरिकका दुःख–पीडा सहेर, गाँस काटेर जम्मा गरेको रकम हुन्छ । त्यस्तो रकम दुरुपयोग भएको टिप्पणीले पार्टीको छवि र विश्वासलाई धमिलो बनाउने काम गर्‍यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा छ । यसका सभापति लामिछाने उपप्रधान एवं गृहमन्त्री पदमा छन् । राहदानी र नागरिकता केसमा जुन हिम्मत र फुर्तीसाथ उनी बोल्थे, हिँड्थे, सहकारी प्रकरणपछि उनमा पहिलाको जस्तो हिम्मत र फुर्ती देखिँदैन । यसको असर इलामको प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टी उमेदवारको जमानत जफत हुनुबाट बुझ्न सकिन्छ । उक्त चुनाव जित्न स्वतन्त्र पार्टीले भएभरको शक्ति प्रयोग गरेको थियो ।

पार्टीका महामन्त्री डा। मुकुल ढकालको प्रतिवेदन चर्चाको शिखरमा छ । प्रतिवेदन बुझाएसँगै ढकालमाथि पार्टीभित्रबाटै दबाब परेको छ । त्यो पार्टीभित्र उत्पन्न खलबलले झन् छविमा खिया लगाउने काम गरेको छ ।

हिजोआज निजी र सार्वजनिक संस्थामा ‘रिसर्च एन्ड डेभलपमेन्ट विभाग’को व्यवस्था गरिएको हुन्छ । उक्त विभागको मुख्य काम नै संस्थाको संस्थाको लक्ष्य तथा उद्देश्य पूरा गर्न के कस्ता कठिनाइ छन् भन्ने पहिचान गरी त्यसको समाधानको उपाय पत्ता लगाउनु र आफ्नो वस्तु वा सेवाको उत्पादन र बिक्री–वितरणमा व्यापकता कसरी ल्याउने भन्ने उपाय पत्ता लगाउनु हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ जोस–जाँगरसहित नेपाली राजनीतिमा उदाएको पार्टी भएकाले महामन्त्री डा. ढकालको आलोचनात्मक प्रतिवेदनलाई स्वाभाविक रूपमा लिइएला भन्ने सबैले अनुमान गरेका थिए । महामन्त्री ढकाललाई संकटमा पारेपछि यो पार्टी पनि अरूजस्तै निरंकुश बन्न पुगेको टीकाटिप्पणी बढेको छ ।

एउटा लोकतान्त्रिक पार्टीले आफ्ना अगाडिका तमाम समस्यामाथि खुला छलफल र बहस गर्नुपर्छ । यसले पार्टीको ‘इमेज’ बढाउन राम्रै सहयोग गर्छ भन्नेमा दुई मत छैन । सभापतिको सोचविचार र दृष्टिकोणभन्दा भिन्न किसिमको प्रतिवेदन आउनु पनि राष्ट्रिय स्वतन्त्र पार्टीको लोकतान्त्रिक अभ्यासमा गहिरो आस्था र विश्वास रहेछ भन्ने देखिन्थ्यो ।

प्रायः सबै पार्टीका नेता, कार्यकर्ता र बुद्धिजीवीले महामन्त्री ढकालको प्रतिवेदनलाई बहसको विषय बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका लागि यो राम्रो कुरा पनि हो । अरू पार्टीका महामन्त्रीहरूले यस्तो साहसिक र यथार्थ रिपोर्ट दिएको देखिँदैन । यसै कारणले पनि महामन्त्री ढकालको रिपोर्ट बहस र छलफलको केन्द्रमा रहन गएको हो ।

पार्टीको ‘शल्यक्रिया’ गर्नुपर्ने कारण धेरै हुन सक्छन् । पहिलो, नेताको सोच, विचार, दृष्टिकोण र आचरण तथा व्यवहार हो । दोस्रो, सत्तालिप्सा देखाउनु हो । तेस्रो, पार्टीमा कुनै पनि समस्या वा विषयमाथि खुला छलफल र बहस नहुनु हो । दुःखका साथ भन्नुपर्छ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको सोचविचार, दृष्टिकोण र आचरण र व्यवहार पहिलाजस्तो देखिँदैन । महामन्त्री ढकालको प्रतिवेदन यसैको सेरोफेरोमा रहेर मतदाताका मत आएको हुुनुपर्छ ।

यो सत्य हो कि यसैले राष्ट्रिय स्वतन्त्र पार्टीको छवि र विश्वास घट्दो क्रममा जाँदै छ । महामन्त्रीको रिपोर्ट राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसरी चलायमान र गतिशील बनाउने हिसाबले आएको हो भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ । यो रिपोर्ट सबैले हेर्न पाउने गर्न सके अझ राम्रो हुने देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको त ‘अपरेसन’ अर्थात् ‘शल्यक्रिया’ गर्नुपर्ने देखियो भने अरू पार्टीहरूको त ‘मेजर अपरेसन’ नै गर्न जरुरी देखिन्छ । अरू पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हुन छाडेको छ । नेपाली कांग्रेसमा भने फरक विचार राख्ने छुट छ ।

तर, सभापतिको सोचविचारभन्दा भिन्न विचारले प्रश्रय पाउँदैन । अरू पार्टीमा त त्यति पनि स्वतन्त्रता र हैसियत पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई हुँदैन । के अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि त्यही ‘मोडेल’मा जान लागेको हो ? 

पार्टीको गठन दृष्टिकोण र विचार भएका व्यक्तिहरू मिली बन्छ । पार्टीको निर्णय सामूहिक हुन्छ । पार्टीको निर्णयले जनता र राष्ट्रको बृहत् स्वार्थ र हितमा काम गर्छ भन्ने गरिन्छ । सभापति वा अध्यक्षको निर्णय पार्टीको निर्णय हुन सक्दैन । केन्द्रीय समितिले त्यसलाई छलफल गरी समर्थन वा संशोधन गर्न सक्ने हैसियत राख्नुपर्छ । पार्टी पद्धतिको सबैभन्दा राम्रो विशेषता भनेको समूहगत छलफल र निर्णय गर्नु तथा सभापतिलाई पनि विचार र दृष्टिकोणका हिसाबले चुनौती दिनु हो ।

यसो गर्न सकिएन भने त्यस्तो पार्टी निजामती सेवाको हैसियतमा पुगेको मानिन्छ । आजकल धेरै पार्टीमा नेता, कार्यकर्ता नेताको गलत काम–कारबाहीको विरोध नगरी चुपचाप सुविधा र पद लिन व्यस्त हुन थालेको देखिन्छ । यसैले नेपालमा पद्धति, सिद्धान्त र विचारले भन्दा नेतृत्व निरंकुशतामा रमाउँदै गएको छ ।

अर्को कुरा के छ भने सत्तामा बस्दैमा पार्टीको ‘इमेज’ र जनविश्वास बढ्छ भन्ने पनि हुँदैन । भारतमा भारतीय जनता पार्टीले दश वर्षसम्म शासन गरेकै थियो, भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा ठूलो पार्टी मात्रै बन्ने हैसियतमा पुग्यो । दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको एनसी पार्टी सन् १९९४ पछि लगातार सत्तामा छ, खराब शासनका कारण भर्खरै सम्पन्न चुनावमा सत्ता चलाउने हैसियत गुमाउन पुग्यो । फ्रान्सको हालत पनि त्यस्तै देखिन्छ ।

भारतमा निकै कमजोर भइसकेको भारतीय राष्ट्रिय कंग्रेस सत्ताबाहिर रहँदा आफ्नो ‘इमेज’ र जनविश्वास बढाउनतिर लाग्यो । जसले गर्दा उसले उनान्सय सिट लोकसभामा पाउन सक्यो ।

यसले पनि के देखाउँछ भने बेलाबखतमा बिरामीको ‘शल्यक्रिया’ गरेझैँ हरेक पार्टीको शल्यक्रिया नगरे पार्टीको ‘इमेज’ र जनविश्वास घट्दै थाहा पाउन सकिँदैन । यसअर्थमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री ढकालको प्रतिवेदन यथार्थवादी हुँदै निष्कर्षमा पुग्नु नै उचित हुन्छ, त्यो पार्टीको हकमा ।

(लेखक संसद् सचिवालयका पूर्वसचिव हुन्)

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro