ढाका । बगलादेशमा सर्पदंशका बिरामी बढेपछि देशका विभिन्न भागमा रसेल भाइपर सर्प मार्ने क्रम बढेको छ । रसेल भाइपर भन्ने ठानेर अरू सर्पलाई पनि मार्ने क्रम बढेको जनाइएको छ । सर्पकाबारेमा त्यहाँ विभिन्न अफवाह पनि फैलिइरहेका छन् ।
त्यहाँको वन विभागका अधिकारीहरूका अनुसार बंगलादेशमा पाइने सर्पमध्ये ८५ प्रतिशतभन्दा बढीमा विष हुँदैन । रसेल भाइपर पनि विषालु सर्पमा ९ नम्बरमा पर्दछ । अहिले आतंकका कारण मानिसले जुन सर्प पनि मारिरहेका छन्, ती मध्ये धेरै विषहीन र पर्यावरणमा लागि चाहिने सर्प समेत परेका छन् ।
जीव विशेषज्ञका अनुसार सर्प जैविक विविधताको एक महत्त्वपूर्ण हिस्सा हो । पर्यावरण सन्तुलन बनाइ राख्नको लागि अरू जीवजस्तै सर्प पनि जरुरी छ । यसले गर्दा जसरी सर्पलाई कुनै सोचविचार नगरी मारिँदै छ, त्यसले पर्यावरणमा के असर गर्न सक्छ ?
बितेका केही सातादेखि मिडियामा रसेल भाइपरका बारेमा निकै समाचार आएका थिए । बंगलादेशमा यो सर्पलाई चन्द्रबोडा वा उलूबोडा भनिने गरेको छ । यो सर्पलाई कुनै बेला बंगलादेशमा लोप भएको मानिएको थियो । तर, करिब १२ वर्षअघि यसले डसाइबट मानिसको मृत्युको घटना सार्वजनिक भएको थियो । सर्पमाथि सोध गर्नेहरूको भनाइ अनुसार यो सर्प २०१३ देखि बढी देखिन थालेको हो ।
सन् २०२१ मा देशको उत्तर पश्चिमका केही इलाकामा खासगरी पद्माको तटवर्ती केही जिल्लामा यो सर्पले टोकेर दुईजनाको मृत्यु भएको थियो । साथै थुप्रै अन्य मानिस बिरामी पनि परेका थिए ।
सरकारी अधिकारीहरूका अनुसार यो वर्ष गएका तीन महिनामा मानिकगन्जमा सर्पको टोकाइबाट पाँचजनाको मृत्यु भएको छ । तीमध्ये धेरैजसो किसान थिए । त्यो समयमा धान काट्ने मौसम चलिरहेको थियो । खेतमा सर्पको उपद्रोलाई स्वाभाविक मानिने गरेको छ ।
चटगाउँ विश्वविद्यालयका प्राणी विज्ञान विभागका प्राध्यापक फरीद अहसानले जनाएअनुसार रसेल भाइपर पद्माको बेसीबाट मानिकगन्जको तटवर्ती इलाकामा पुगेका हुन् । यो हप्ता राजशाही विश्वविद्यालयका एक छात्रको पनि सर्पदंशबाट मृत्यु भएको थियो ।
फरिदपुर क्षेत्रका एक नेताले त रसेल भाइपर मार्नेलाई प्रतिसर्प ५० हजार टाका इनाम दिने नै घोषणा गरेका छन् । वन विभागका अधिकारीहरुका अनुसार जुन सर्पलाई अहिले पिटिपिटी मारिँदै छ, तिनमा शंखिनी, अजगर, घरगिन्नी, दाराज, ढोंढा र गुइसापका विभिन्न प्रजाति पनि परेका छन् ।
यीनै मध्येका केही सर्पले रसेल भाइपरलाई खाएर प्रकृतिको सन्तुलन बनाइराख्छन् । यद्यपि, यी काम लाग्ने सर्प पनि अहिले मार्न थालिएको छ । बंगलादेशको मेडिकल सर्भिसको आकडाअनुसार सर्पले टोकेर त्यहाँ वर्षमा करिब साढे सात हजार मानिसको मृत्यु भइरहेको छ । यसमध्ये १२० जनाको मात्रै रसेल भाइपरले टोकेर मृत्यु भएको हो ।
सर्प किन महत्त्वपूर्ण ?
विशेषज्ञहरुका अनुसार जैविक विविधताको रक्षाको लागि सर्पको भूमिका धेरै महत्त्वपूर्ण रहेको छ । सर्प मारेको अवस्थामा मुसाको बिगबिगी बढ्न सक्नेछ । यसले गर्दा अन्न उत्पादन १० देखि २० प्रतिशत घट्ने सम्भावना हुन्छ । जैविक विविधताको हिसाबले एक जातिको अनुपस्थितिको असर व्यापक रुपमा पर्न सक्दछ । बीबीसी