site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा चट्याङ लागेर दुईजनाको मृत्यु, ६ घाइते
प्रतीकात्मक तस्बिर ।

कैलाली । कैलालीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–३, भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८, एफगाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार डगौराको खेतमा आली बनाउने क्रममा चट्याङ लागेर घाइते भई उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो । चौधरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागि घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, घाइते हुनेमा जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीया रीता कठरिया, सोही ठाउँकी २३ वर्षीया सुष्मा डगौरा, भजनी नगरपालिका–६ का ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी का ९ वर्षीया सरस्वती भुल,  सोही ठाउँकी सात वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेको बताइएको छ ।

यसैबीच, लमजुङको क्व्होलासोथार गाउँपालिका–७ तल्लो केम्लीगाउँमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गएराति शौचालय जान बाहिर निस्कने क्रममा ६५ वर्षीय दानबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए ।

चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । प्रहरी निरीक्षक चापागाईंका अनुसार उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइरहेको छ । चट्याङका कारण बेँशीसहर नगरपालिका–६ शेराका स्थानीय मदन परियारको एउटा गोरु पनि मरेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्