site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बीआरआईबारे गलत बहस हुँदा चीनसँगको सम्बन्धमा असर पर्नसक्छ : सांसद खनाल 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले चीनसँग भएको बीआरआई सम्झौताबारे सदनमा औपचारिक छलफल नभएको बताएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गर्दै उनले सम्झौताबारे सदनमा छलफल नहुँदा बाहिर अनावश्यक र नकारात्मक चर्चा परिचर्चा हुने गरेको बताए । जसको असर चीनसँगको सम्बन्धमा पर्ने डर बढेको भनाइ उनको थियो ।

Argakhachi Cement Island Ad

“छिमेकी मित्रराष्ट्र चीनसँग सन् २०१७ मा बीआरआई फ्रेमवर्क सम्झौता हस्ताक्षर गरेको तर, उक्त सहमति सम्झौता यस सदनमा औपचारिक छलफल नभएको हुँदा यसले अनावश्यक रूपमा बाहिर बढी चर्चा परिचर्चा हुने गरेको छ । जसले छिमेकी मित्र राष्ट्रसँगको सम्बन्धमा समस्या आउने देखिन्छ,” उनले भने । 

यस्तै, उनले वैदेशिक अनुदानतर्फ हरेक वर्ष ५० अर्ब जति भित्राउने लक्ष्य राखे पनि पाँच, ६ अर्ब मात्र भित्रने गरेको भन्दै यसवर्ष कस्तो नीतिगत र संरचनात्मक परिवर्तन गरेर सबै अनुदान भित्राउन सकिन्छ भनेर प्रश्न पनि उनले गरे । साथै उनले परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय र भूराजनीतिक मामिलासम्बन्धी अध्ययन अनुसन्धान गर्न छुट्याएको रकम पाँच लाख कम भएको भन्दै यसलाई बढाउने नीति के छ भन्दै प्रश्न गरे । 


 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्