site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुन महानगरपालिकाको बजेट कस्तो ?

काठमाडौं । आगामी आर्थिक वर्षका लागि पाँच महानगरपालिकाले ५० अर्ब ७५ करोड ७ लाख ७ हजार बराबरको बजेट ल्याएका छन् । सोमबार पाँच महानगरपालिकाको नगरसभा बैठकमा महानगरपालिकाका उपप्रमुखहरूले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गरेका हुन् ।

वाग्मती प्रदेशका तीन, कोसी प्रदेशको एक र गण्डकीको एक गरी ५० अर्ब ७५ करोड ७ लाख ७ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा बचत बजेट र आन्तरिक स्रोत, राजस्व संकलन तथा केन्द्र र प्रदेश सरकारले दिने अनुदानसहितको स्रोत सुनिश्चिता आधारमा बजेट विनियोजन गरेका छन् ।

जनसंख्या र पूर्वधारको हिसाबले मुलुकै ठूलो काठमाडौं महानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।  सबैभन्दा सानो आकारको बजेट विराटनगर महानगरको छ ।

Dabur Nepal
NIC Asia

विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा ६१ करोड ४४ लाख रुपैयाँ बजेट घटाएर विनियोजन गरेको छ । यता काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा १६ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।

दोस्रो ठूलो बजेट पोखरा महानगरपालिकाले बजेट ल्याएको छ ।

काठमाडौं

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८१/८२ का लागि सोमबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले चालु आवमा २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको थियो । बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखिएको छ ।

महानगरपालिकाले आगामी आवको स्रोतका लागि स्थानीय सञ्चित कोषमा आर्थिक विकासमा १९ करोड ९ लाख रुपैयाँ खर्च हुने गरी विनियोजन गरेको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा तीन अर्ब ४९ करोड ४५ लाख विनियोजन भएको छ । पूर्वाधार विकासमा १४ अर्ब ८१ करोड, सामाजिक विकासतर्फ तीन अर्ब ८१ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि एक अर्ब ८९ करोड बजेट विनियोजन भएको छ । महानगरले आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।

यस्तै, राजस्वको स्रोतमा महानगरले ससर्त अनुदान संघबाट एक अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख अनुमान गरेको छ । संघीय राजस्व बाँडफाँटबाट एक अर्ब ९९ करोड प्रदेशको राजस्व बाँडफाँट ५५ करोड राजस्व अनुमान महानगरले गरेको छ । स्थानीय राजस्व बाँडफाँटबाट १० करोड र समानीकरण अनुदानतर्फ संघबाट ८० तथा प्रदेशबाट १० करोड रुपैयाँ आउने उल्लेख गरिएको छ ।

पोखरा

पोखरा महानगरपालिकाले आर्थिक २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले संघीय सरकार अनुदानबाट चार अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानबाट ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार बेहोरिने गरी बजेट विनियोजन गरिएको जनाइन् ।

त्यस्तै, संघीय राजस्व बाडँफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार बेहोरिने छ भने प्रदेश राजस्व बाँडफाँट ९ करोड ७२ लाख २० हजार बेहोरिनेछ । स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार प्राप्त हुने अनुमान गरिएको छ । नगर विकास कोष ऋणबाट चार करोड ४८ लाख ८० हजार बेहोरिने अनुमान छ ।

बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य शृंखला सवलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थता, सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवउद्यम (स्टार्टअप) प्रबर्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वस्थ्य र उत्पादनशील जनशक्ति तयार, वित्तीय सुशासन तथा राजस्व परिचालन विपन्न र सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ ।

ललितपुर

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोडको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख मञ्जली शाक्यले सोमबार प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।

ललितपुरले महानगरपालिकाले गत वर्षको तुलनामा १५ प्रतिशत बजेटको आकार बढाएर ल्याएको छ । चालु आर्थिक वर्षका लागि महानगरले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरेको छ ।

भरतपुर

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ । गत वर्षको ६ अर्ब ४८ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट पेस भएको थियो ।

आगामी आर्थिक वर्षका लागि आन्तरिक आय एक अर्ब ८० करोड रुपैयाँ हुने अनुमान बजेटमा गरेको छ । आन्तरिक आयमा घरजग्गा रजिस्ट्रेसन र खानी तथा खनिजजन्य पदार्थबाट प्राप्त हुने आयसमेत समावेश गरेको छ । पुँजीगततर्फ सबैभन्दा धेरै एक अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विराटनगर

सबैभन्दा कम बजेट ल्याउने विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजारको अनुमानित बजेट ल्याएको छ । सोमबार नगरसभामा उपप्रमुख शिल्पा निरौला कार्कीले चालु वर्षको संशोधित बजेट भन्दा १३ करोड ८१ लाख २१ बढी बजेट सार्वजनिक गरिन् ।

आगामी वर्षको कुल अनुमानित बजेटका लागि आन्तरिक आयबाट एक अर्ब १० करोड ८६ लाख ८५ हजार, वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट ३२ करोड ६६ लाख, प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार, राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार, अन्त:शुल्कबाट पाँच करोड ८५ लााख ४१ हजार, वन रोयल्टीबाट ५ लाख ८२ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट ३ करोड ८७ लाख एक हजार, मनोरञ्जन तथा विज्ञापन करबाट एक करोड आय गर्ने लक्ष्य राखेको छ ।

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाखको अनुमानित बजेट यस अगाडि नै ल्याइसकेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्था अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २१:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro