site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसीमा लेखा अधिकृतहरूको 'पेन डाउन'ले दैनिक ४० करोड भुक्तानी रोकियो

विराटनगर । कोसी प्रदेशका लेखा अधिकृतको आन्दोलनका कारण प्रदेश सरकारको विभिन्न निकायबाट दैनिक भुक्तानी रोकिएको छ ।

अरू महिनामा भएका कामको समेत असार महिनामा भुक्तानी हुने क्रम अधिक थियो । तर, आन्दोनलका कारण दैनिक ४० रुपैयाँ भुक्तानी रोकिन पुगेको छ ।

निजामती सेवा ऐन संशोधनको मागसहित पाँच दिनदेखि लेखा अधिकृतहरूले पेन डाउन गरेर सबै कामकाज ठप्प पारेका छन् । उनीहरूले आर्थिक मामिला तथा योजना मन्त्रालयमा धर्ना दिइरहेका छन् । तह वृद्धिका लागि निजामती सेवा ऐनले विभेद गरेको र यसलाई सुधार नगरेसम्म काममा नफर्कने लेखा अधिकृतहरूको अडान छ ।

अहिले मन्त्रालय र प्रदेश सरकार मातहतका कार्यालयमा सम्पन्न भएका कामको भुक्तानीका लागि आवेदनको चाङ छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लेखा अधिकृत भगवान श्रेष्ठले आन्दोलनका कारण हाल दैनिक झन्डै ४० करोड रुपैयाँको भुक्तानी रोकिएको जानकारी दिए ।

“सरकारले वार्ता समिति बनाएर समस्या समाधानमा पहल गर्ने आश्वासन दिएको छ,” उनले भने ।

संघबाट समायोजन भएका छैटौँ तहका अधिकृतको बढुवामा छुटेकाले मिलान गर्नुपर्ने उनीहरूको माग छ ।

समायोजन ऐन, २०७५ अनुसार नियुक्त भएका स्थानीय तहका कर्मचारी भने सातौँ तहमा बढुवा भइसकेका छन् । प्रदेशतर्फका भने छुटेकाले ज्येष्ठता कायम गर्दै सातौँ तहमा बढुवा गर्नुपर्ने लेखा अधिकृतहरूको माग छ । आठौँ तहका अधिकृतलाई नवौँ तहमा समूह नछुट्याउन पनि भनिएको छ । प्रशासन र लेखा समूह समान भए पनि प्रदेश ऐनले लेखा र प्रशासनलाई अलग राखेको छ । 

लोकसेवा आयोगले प्रशासन सेवाको समूहको नवौँ तहमा बढुवा गर्न विज्ञापन प्रकाशित गरेको छ । प्रशासनका मात्र प्रतिस्पर्धा गर्न पाउने भएकाले सबै समूहलाई प्रतिस्पर्धा गर्ने अवसर दिन पनि माग गरिएको छ ।

आन्दोलनमा कर्मचारी सम्बद्ध विभिन्न पाँचवटा कर्मचारी संगठनले पनि ऐक्यबद्धता जनाएका छन् । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro