site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मलाई हटाउन सजिलो छैन, जादु नम्बर छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका उनले सरकारको नेतृत्व लिएदेखि नै आफूलाई हटाउन खोजिएको उल्लेख गरे । आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको उनले बताए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको सुनाए । हट्छ कि भन्ने चिन्ता नलिन उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे ।

सरकारमा रहँदासम्म भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिका निम्ति आफूले काम गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

उनले सरकारमा रहँदासम्म सत्तारूढ दलहरूबीच भएको समझदारीलाई इमानदारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि दोहोर्‍याए । सरकार कायम रहने भन्दै उनले सोहीअनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए ।

उक्त कार्यक्रममा व्यक्त प्रधानमन्त्री प्रचण्डको भनाइ पढ्नोस्–
अब हामी छिट्टै केन्द्रीय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रूपले लैजाने । अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन । त्यसकारण अब यो अन्तिम समयसम्म साथीहरू, नेताहरू, कार्यकर्ताहरू कसैलाई पनि फुर्सद नदिने । आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न, कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रूपमा जाने सोचेका छौँ । र, तपाईंहरूले पनि जिल्ला–जिल्लामा अभियान बनाएर जानुस् । मैले पार्टीमा पनि यो सोच्दै छु । र, अहिलेको नयाँ परिस्थितिमा हुन त मिडियामा आजकाल यो सोसल मिडियाको जमाना छ, आईटीको जमाना त छँदै छ, त्यसले मानिसको दिमागभित्र विभिन्न खालको विचारहरू हुल्दिने गरेको छ । राम्राभन्दा नराम्रा, सकारात्मकभन्दा नकारात्मक कुराहरू हाल्दिने गरेको छ । त्यसले प्रभाव पार्ने गरेको छ । त्यसलाई चिर्नका लागि हामी जनताको बीचमा जाने, हामीले पनि त्यसलाई सकारात्मक उद्देश्यको निम्ति सोसल मिडियालाई, आईटीलाई प्रयोग गर्ने, आईटी दशक सरकारबाट घोषणा गरिएको छ । कृषि दशक भनेर घोषणा गरिएको छ । यो सबै उत्पादन र रोजगारीको नयाँ परिस्थिति बनाउने कुरा गरिएको छ । त्यसका निम्ति तपाईंहरूले पनि योजना र अभियान बनाउनुहोला । पार्टीको पूरै साथ रहने विश्वास पनि दिलाउन चाहन्छु । अन्तिममा हामीले यो बाहिर भनेजस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन ? विभिन्न कुराहरू आउँछन् । अर्कोले कुरा गर्दै छ रे– केही दिनपछि सरकार जाँदै छ रे भन्ने र तपाईं हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएको, मैले नै भन्थेँ– सायद मलाई सबै मिलेर धेरै दिन बस्न दिन्नन् होला, अब जति दिन बसिन्छ, भ्रष्टाचारको विरुद्ध पनि गतिविधि गर्ने हो, जति दिन बसिन्छ, सामाजिक न्यायको निम्ति पनि काम गर्ने हो, जति दिन बसिन्छ, समृद्धिको निम्ति पनि काम गर्ने हो भनेको अहिले डेढ वर्ष भयो । तर, म बसेकै छु । र, मैले जे देखेको छु सबै परिस्थिति । तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्क भएर काम गरे हुन्छ । सजिलो छैन हामीलाई । हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । जादु नम्बर छ हाम्रो । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाइहाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन । तैपनि, हामीले राजनीतिक दलसँग जे सम्झदारी गरेका छौँ, त्यो समझदारीप्रति हामीले जहिले पनि इमानदारिता अपनाएका छौँ । हामी इमान्दारपूर्वक नै भएका समझदारी कार्यान्वयन गर्नेछौँ । त्यसकारण आजै केही हुन्छ कि, भोलि केही हुन्छ कि भन्ने कुरा बेकारको कुरा हो । त्यतापिट्ट तपाईंहरूले दिमाग लानै पर्दैन । तपाईंहरू ढुक्कसँग आफनो काम गर्नुहोला । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro