नेपालको ग्रोविङ टाउन जहाँ भर्खरै संघीय सरकारको फास्टट्र्याक सडकको राष्ट्रिय परियोजना र अन्तर्राष्ट्रिय विमानस्थलको घोषणासँगै ग्रामीण परिवेश र कृषिमा आधारित जीवनशैलीमा एकाएक ठूलो परिवर्तन देखिएको छ ।
समाजका टाठाबाठाहरू बलिया हुँदै आएका छन् । रियलस्टेट व्यापार भन्दै जथाभावी प्लटिङ, जंगल, नदीजन्य सामग्रीको दोहन, चोरीपैठारी गर्नेहरू मौलाउँदै गएका छन् ।
यद्यपि, योसँगसँगै शिक्षा र पर्यटनलाई टेवा पुग्ने गरी होटेल र बैंक तथा वित्तीय संस्थाको बाक्लो उपस्थिति बढेसँगै म कार्यरत बैंकको प्रतिनिधित्व गर्दै यो नौलो सहरमा जोसका साथ आइपुगेको हुन्छु ।
व्यावसायिक लगानीको सम्भावनाबारे मिहिन तबरले बुझेर कृषि व्यवसायलाई उकास्न कृषक, विपन्न र किनारा पारिएको समुदायलाई लक्षित गरी साना लगानीमा जोर दिने नीति लिएर अघि म बढेँ ।
यता, नियमन गर्ने राष्ट्र बैंकले अनुदानमा आधारित कर्जालाई मौद्रिक नीतिबाटै उकास्ने लक्ष्य लिएकोले मलाई झन् सजिलोसँग अघि बढ्न कुनै बाधा भएन ।
यसरी त्यो समाजका ग्राहकहरू हामीसँग व्यापारिक सम्पर्कमा आउन थाले । हामीले आफ्ना ग्राहकलाई तिनको फाइल नम्बरले सहज रूपले चिन्छौँ ।
त्यस्तै यो कथा मेरो अफिसको फाइल नम्बर आठ सम्बद्ध ग्राहकको हो, जसले मलाई नराम्ररी झस्काएको थियो ।
एक दिन कहरसिंह मेरो चेम्बरमा आएर उभिए । मैले ‘के काम छ ?’ भनेर सोधेँ ।
उनले भने, “सर, मलाई चार–पाँच लाख मात्र ऋण दिनु भो भने केही गरेर देखाउँछु । म बाँचिरहन पनि यो जरुरी छ । मसँग धितो पनि छ सर ।”
“त्यसो भए फाइल लिएर आउनू,” म ऊबाट पन्छिन खोज्छु ।
भोलिपल्ट अफिस पुगेको मात्रै के थिएँ, कहरसिंह मेरा सामुन्ने आइपुगे । ‘सर, मैले फाइल ल्याएँ’ भन्दै फाइल दिए ।
मैले फाइल लिएर हेर्दै डकुमेन्टहरू केलाउँदै गएँ । तर, लालपुर्जा नै नभेटेपछि भनेँ, “खै त तपाईंको जग्गाधनी पुर्जा ?”
उनले तमसुक शैलीको पेपर देखाउँदै ‘यही हो’ भन्दै थपे, “पोहोर साल किनेको हो ।”
“यस्तो त लालपुर्जा हुन्न नि ! ऐलानी यसरी नै किनबेच हुन्छ र बैंकमा यस्तो ऐलानी जग्गाको मान्यता हुन्न । त्यसैले तपाईंलाई लोन दिन सकिन्न,” जवाफ दिएँ ।
कहरसिंहले भने, “सर, सिन्धुलीको गाउँमा अहिले लाखौँको जग्गा त छ नि, झन् धरान–चतरा हाइवेमा । तर, सानो रकमको लागि त्यति टाढाको जग्गा राख्नुहुन्छ भने त दिन्छु । मलाई व्यवसाय यहीँ गर्नु छ । त्यसैले नबुझेर मात्र हो । कुनै निर्णय सुनाउनुअघि बुझिदिनुहोला । यो मेरो जीवनयापनको नभई जीवनमरणको प्रश्न हो सर !”
“तपाईंसँग जग्गा छ भने त्यसको लालपुर्जा, नातासम्बन्ध प्रमाणित र के कति पैसा कुन व्यवसायको लागि चाहिने हो, खुलस्त पारेर निवेदन दिनुस् ।”
“सर, मैले त सुँगुरपालन यहीँ सुकुम्वासी टोल सिंगौलमा गर्ने भनेको हो । यहाँ बहिनी र ज्वाइँ हुनुहुन्छ, उहाँहरूको सहयोग हुन्छ । मेरो घरपरिवारमा कोही पनि छैनन्, म एक्लै छु ।”
अब भने कहरसिंहले बहाना बनाउँदै गरेको महसुस भयो । हेर्दा ५० वर्ष पुग्दै गरेको हट्टाकट्टा मानिसको परिवार छैन भनिरहँदा ढाँटेको भान भयो ।
“त्यसो भए लोन दिन सकिन्न ! तपाईंका श्रीमती, बालबच्चा खै ? बुवाआमा, दाजुभाइ कोही त होलान्, त्यो प्रमाणित गरेर आउनुस् ।”
“दाजुभाइ, बुवा सब छुट्टाछुट्टै हुनुहुन्छ । हाम्रो अंशबन्डा भइसकेको छ । अन्य जहान, बालबच्चा कोही छैनन् ।”
“त्यसो भए एकल पुरुषको सिफारिस र ग्यारेन्टीबिना ऋण दिन सकिन्न ।”
कहरसिंह निन्याउरो अनुहार बनाउँदै फर्किए ।
फेरि, भोलिपल्ट बिहानै कार्यालयमा कुरेर बसेको कहरसिंहले मलाई देख्नेबित्तिकै भने, “सर, बिहे गरेर आएँ भने मैले ऋण पाउँछु ?”
अप्रत्याशित र अस्वाभाविक प्रश्न सुनेर म छक्क परेँ । श्रुतिभ्रम हो कि ! नबुझेर, ‘के भन्न खोजेका हुन् !’ कहरसिंहलाई गिज्याउने शैलीमा मनमनै सोचेँ र हाँसे ।
“ऋण लिनलाई बिहे गर्ने ? प्रस्ट्याउनुस् त, मैले बुझिनँ,” हाँस्दै भनेँ ।
‘हजुर, म त सोझो मान्छे, सिधा मेरो व्यथाबारे बताउँछु’ भन्दै उनी आफ्नो कथा सुनाउन थाले ।
वास्तवमा, उसको जीवनको कथामा एक खण्ड यस्तो’नि आएको रहेछ जसले गर्दा मुख्य पात्र ऊ विचलित र कमजोर साबित भएको रहेछ । र, सोही खण्ड उसको कथाको सबैभन्दा विशेष, उत्तम खण्ड बन्न गइरहेको छ । तर, यो कथा भाग उसको जिन्दगीको कुनै खण्ड मात्र हैन, बरु पूरा कथा नै यसै खण्डको हो, जुन खण्डले आउँदो समयमा जात, धर्मभन्दा माथि कर्म प्रमाणित हुनेवाला छ ।
उनी सुनाउँदै थिए, “आमा बितेपछि बालककालमै म घर छाडेर भागेको थिएँ । भट्किँदै जाँदा पश्चिम अछाममा एउटा मनकारी बोहरा काकाले मलाई आश्रय दिएर घरको कामकाज गर्न राख्नुभयो । त्यो बेला मैले मेरो जात लुकाएर बसेँ र म पनि बोहरा बन्न पुगे ।
समय गुज्रिँदै गयो । काकाले आफ्नो सन्तानलाई झैँ माया गरेर पाल्नुभयो र बैँसमा एउटा खड्का थरकी केटी खोजेर बिहे गराउनुभयो । त्यसपछि मेरो जिन्दगी राम्ररी नै चलिरहेको थियो ।
म काकाको हेरचाह, गाईगोठ रेखदेख र ज्यालामजुरी गरेर जिन्दगी धानिरहेको थिएँ । एउटा छोरा र एउटा छोरीको बाउ पनि भएँ । खुसीसाथ जीवन बाँचिरहेको बेला समय बितेको पत्तो पाइनँ ।
छोरो आठ कक्षामा पुग्यो । फाराम भर्ने बेला छोराको जन्मदर्ता चाहिने कुराले आफूले छाडेर हिँडेको थातथलोको सम्झना आयो । दाजुभाइ, बुवा र छरछिमेक सबैको सम्झना आयो । म मेरो नागरिकता, छोराछोरीको जन्मदर्ता बनाउन भनेर आफ्नो गाउँ फर्किएँ ।
गाउँमा हल्ला फिँजियो, ‘कहर आएछ !’ छरछिमेकले नौलो मानेर हेरे । तिनका विस्मित आँखाहरूले अनेक प्रश्न गरिरहेका थिए । कसैकसैले ‘यो कहर हो कि हैन, निर्क्योल गर्नू है कमान सिंह’ समेत भने ।
कमान सिंहले भनेँ, ‘यो कहरे नै हो ।’ दाजुभाइ भने भावशून्य बसिरहेका थिए । सबैभन्दा कान्छी बहिनीको निजगढको सिंगौलमा बिहे भएको रहेछ ।
बेलुकी बुवालाई मेरो जीवन, विवाह, सन्तानको बारेमा जानकारी गराएँ । मोबाइलमा नातिनातिनाको फोटो घरपरिवारलाई देखाएँ । ‘अब मेरो नागरिकता बनाइदिनू, नातिनातिना पढ्दै छन्’ भनेँ ।
‘उनीहरूले उच्च शिक्षा हासिल गर्न जन्मदर्ता, नागरिकता सबै चाहिन्छ । अब म फर्केर गएपछि हजुरको बुहारी र नातिनातिना समेत लिएर भेट्न आउँछु ।’
‘त्यसो भए यसैपटक तेरो अंशबन्डा पनि गरेर जा’ भन्नुभयो बुवाले । ‘तँ त मरिस् होला भन्दै जेठा र कान्छाले अंश भाग लगाउन भन्दै थिए । अब तँ फर्किस्, बेइमानी हुनबाट पनि जोगियौँ । तँ आएको बेला अंशभाग लिएरै जा, म बाँच्छु कि मर्छु के ठेगान ? जेठाले भएको जग्गाको केही भाग बेचेर छोरीको बिहे र घरको छानो फेर्ने भन्दैथ्यो ।’
यसरी मैले चिताउँदै न चिताएको अंशभाग जग्गा पाँच धुर, घडेरी र पाँच कट्ठा खेत, त्यो पनि प्रस्तावित धरान–चतरा राजमार्गमा पाएँ । तर, खुसीसँगसँगै दुःख पनि समान गतिमा हिँड्दो रहेछ । नागरिकतामा मेरो नाम कहरसिंह बोहरा भन्दाभन्दै वडाको नाता प्रमाण र सिफारिसअनुसार कहरसिंह सार्कीको पहिचानसहित नागरिकता प्रमाणपत्र प्रदान गरियो ।
गह्रौँ मनले छोराछोरीको जन्मदर्ता र मेरो नागरिकता बोकेर अछाम फर्केँ । सम्पत्ति पाएको खुसी साटेँ र छोराछोरीको जन्मदर्ता र मेरो नागरिकता बुढीलाई देखाउँदै गर्दा म कामिरहेको थिएँ ।
छोराले थर ‘सार्की’ पढ्नेबित्तिकै रडाको मच्चियो ।
कुजात भनेर श्रीमती रुँदै कराउन थालिन् । छरछिमेक र काका सबै कुदेर आँगनमा भेला भए । सबै कुटूँलाझैँ गरी झम्टिँदै थिए । कसैकसैले काकालाई समेत दोष दिन थाले ।
विस्तारै कोही कसैले ‘भोलि पञ्चभलादमीसमक्ष कुरा राखेर फर्छ्योट गर्ने, जात नास्ने यसलाई गाउँ निकाला गर्ने’ भन्दै आ–आफ्नो घरतर्फ लागे । श्रीमतीले मलाई बाहिरै छोडी घरको ढोकाको चुकुल लगाइन् । म भने रात छिप्पिँदै जाँदा हातले खुट्टा समेटेर सकभर गुजुल्टिएर चिसो छल्न खोजिरहेको थिएँ ।
मैले आफ्नो जात र थर लुकाएर झुटको जगमा बसालेको घर अहिले बालुवाको थुप्रो ढलेझैँ ढलेको थियो । मेरो जातले प्रेम, सौहार्द्र, समर्पण सबै खरानी भएको थियो ।
मेरो नाम कहरको असली माने आफैँमाथि गुज्रिरहेको भयावह परिस्थितिले अर्थ्याएको थियो ।
म खुलेर रुन चाहन्थेँ, कराउन चाहन्थेँ र माफी माग्न चाहन्थेँ । तर, असमञ्जस परिस्थिति तब उत्पन्न हुँदो हो, जब तपाईंलाई आफ्नो छोराछोरीका कारण चुपचाप आँखामा रसाएको आँसु भित्रभित्रै निल्न विवश हुनुपर्दो हो । र, म विवश भएँ ।”
सामान्यतः यस्तो स्थिति त्यस्ता पुरुषहरूसँग धेरै हुन्छ, जो संवेदनशील हुन्छन् । सम्भावित परिस्थितिलाई महसुस गरिरहन्छन् । तर, एक शब्द पनि बोल्न सक्तैनन् । कहरसिंहको स्थिति ठिक त्यस्तै थियो ।
कहरसिंह बताउँदै थिएँ, “केही बेरपछि विस्तारै चुकुल सर्केको स्वर सुनियो । म उता फर्केँ । मेरो अबोध छोरीले विस्तारै सकी नसकी गुन्द्री घिसार्दै ल्याएर मलाई दिई र अपरिचितझैँ भागेर विस्तारै चुकुल लगाई ।
के भएको हो, बुवाले के अपराध गरेको समेत नबुझ्ने उसले बुवालाई सकभर सुत्न सजिलो होस् भनी गुन्द्री दिएर गई ।”
म उनको कथा – जो अब व्यथा बन्न पुगेको थियो, सुन्न तल्लीन थिएँ । ऊसँग सिन्धुलीमा जग्गा छ भन्ने बुझेपछि टोकन धितो राखेर दिन सकिन्छ भन्ने निष्कर्ष निकाल्दै भनेँ, “कहरजी, हिँड्नुस् तपाईंको सिंगौलतर्फ साइट भिजिट छ, तपाईंको कुरो’नि सुन्दै जाम । तपाईंले कहाँ व्यापार थाल्ने हो, त्यो पनि हेर्छु ।”
म कहरसिंहलाई पनि लिएर सिंगौलतर्फ लागेँ र सोधेँ, “तपाईंको सन्तानको जन्मदर्ता, घरजम गरेकी श्रीमती सबै हुँदाहुँदै अर्को बिहे गर्ने भन्नुहुन्छ त ?”
“सर, भोलिपल्ट मलाई गाउँलेलगायत श्रीमती र छोरा समेतले पिटेर लखेटे । काकाले बीचमा बचाउ गर्दा पनि सबै मिलेर उनकै पनि हुर्मत लिन थाले । त्यसैले म त्यहाँबाट यता आएँ ।
पछि आवेश समाप्त भएसँगै मलाई फोन गर्लिन् भनेर कुरेर बसेँ । पछि हारेर छोराछोरी र श्रीमतीको मायाले आफैँ फोन गरेँ । तर, कसैले उठाएनन् । सम्पर्कमा पनि आएनन् ।
काकासँग सम्पर्क हुँदा भने, ‘तँ उतै बस् । यता नआइज । यिनीहरू त बौलाएका छन् । छोरा पढ्न’नि जान्न, परीक्षाको फाराम’नि भरेन, बौलाहा भएर हिँडेको छ ।
बर्मा हेडसरले नवीनलाई खोज्दै आउनुभएको थियो । मैले सबै कुरा भनेपछि ‘यो त नराम्रो भो, अब जे हुने भैगो, ईश्वरको इच्छाअगाडि कसको के लाग्छ र ? बरु, नवीनलाई बुझाउने प्रयास गर्छु’ भन्दै हेडसर फर्किनुभयो ।’
यसरी आफ्नो झुटको महलमा थिचिएर म आफैँ मरिरहेको छु । आज ६ वर्ष भयो छोराछोरीको अनुहार हेर्न नपाएर तड्पिरहेको । बहिनीकोमा आएर ज्वाइँको सहयोगले स–सानो काम गरेर गुजारा गर्दै छु । छोरी पनि नौ कक्षामा पढ्छे । पढ्ने छोरो टेम्पो चलाएर गुजारा गर्दै छ । मेरो कुकर्मको बोझ मेरो सन्तान र जहानले भोग्नु परिरहेको पीडाले मलाई थिचेको छ ।
यसो बैंकबाट पाएको ऋणले केही गरेर पैसा कमाएँ भने छोराछोरीले मलाई नहेरे पनि उनीहरूको भविष्य सुनिश्चित गरिदिन पाए ढुक्कले मर्न पाउँथे । मैले बोकेको लक्ष्य र सोचेको सबै चकनाचुर भयो ।”
मैले सोधेँ, “कहरजी, यता तपाईंले आफ्ना छोराछोरी, श्रीमती त्याग्न सक्नुभएको छैन, तिनको साथको आशामा बाँच्दै हुनुहुन्छ, अनि बिहे गरेर भए पनि ऋण खान्छु भन्नुहुन्छ ?”
उनले जवाफ फर्काए, “हुन त हो, एकमनले बिहे गरेर आफ्नो छोराछोरी, जहानको हक किन मार्ने ? झन् अरू चेलीको जीवन पनि किन बर्बाद गर्ने भन्ने नसोचेको होइन । तर, इच्छा नहुँदा पनि बहिनीले समेत ‘अब तिनीहरू सम्झेर आफ्नो दिन किन बिगार्ने ?’ भन्दै अर्को बिहे गर्नलाई ढिपी गर्छिन् । तर, बैंकको ऋण पनि आफ्नो जहानबेगर नहुने रै’छ । त्यसैले मिल्ने हो भने मेरा सन्तानका लागि पनि भोलि नै बिहे गरेर आउँछु भनेको हो ।”
“तर, यसरी दोस्रो बिहे त कानुनले मान्दैन नि ? तपाईंको सन्तान र जहानले उजुरी हाले भने तपाईंलाई फसाद पर्छ । बरु, एउटा उपाय गर्न सकिन्छ । तपाईंको वडाले तपाईं र तपाईंको बुवाबीचको नाता प्रमाणित, तपाईं एकल रूपमा बसिरहेको सिफारिसको आधार र बुवा जमानीकर्ताको रूपमा बस्न मान्नुहुन्छ भने ऋण प्रक्रिया अगाडि बढाउन सकिन्छ । पछि तपाईंले माग गरेको अनुदानसहितको जम्मा लोनको आधा मात्र रकम पहिलो किस्तामा उपलब्ध गराई तपाईंको व्यवसायको प्रगति हेरेर मात्र कर्जा प्रवाह गरिने थियो ।” यति भनेर मैले प्रस्ट्याउन खोजेँ ।
“हुन्छ हजुर हुन्छ, यति गरिदिनुभयो भने मेरो घरपरिवार बिग्रन्न ।”
“ल त कहरजी, भोलि लालपुर्जा, तिरो, लिखत र अन्य आवश्यक कागजहरूबारे हाम्रो कर्जा अधिकृत रमेशजीले बताउनुहुनेछ, बुझेर कागज जम्मा गरेर आउनुस् । मिल्ने रहेछ भने ऋण दिने प्रयास गर्छु ।”
दुई दिन नबित्दै सारा डकुमेन्ट तयार पारेर कहरसिंह मेरासामु आइपुगे । कहरसिंहजस्तो निरक्षर व्यक्तिमा यस्तो लक्ष्यप्रति प्रस्ट निर्देशन, प्राप्तिको संकल्प र अविचलित प्रयासलाई देखेर म आश्चर्यचकित हुन्छु । र, रमेशजीलाई डाकेर कहरसिंहको प्रस्तावित कर्जाको फाइल खडा गर्न निर्देशन दिन्छु ।
रमेशजीले फाइल नम्बर आठको कर्जा निवेदन दर्ता गरी ‘टेन्टेटिभ कति समय लाग्छ भनेर भनौँ ?’ भन्दै मसँग सोधे ।
मैले जवाफ दिएँ, “अघिल्ला फाइलहरूमध्ये पाँचवटाजति फरवार्ड भइसकेको जस्तो लाग्छ, फाइल नम्बर आठलाई प्रायोरिटीमा राखेर यो हफ्ताभरमा सकाउने प्रयास गर्छौं भन्नुस् ।”
म एकैछिन घोरिएर सोच्छु र कसैले भनेको सम्झन्छु— सपना र लक्ष्यमा भिन्नता हुन्छ । सपनाको कुनै आभास हुँदैन । सपना चलायमान पनि हुँदैन । तर, लक्ष्य अटल हुन्छ । अडिग हुन्छ । तर, यही सपना मौन, शान्त, गतिशून्य रहेर हामीलाई स्तब्ध पारेर बिनागन्तव्यको सपनालाई लक्ष्य मान्न बहकाउँछ र मानिस यो मानेर पागलझैँ कुदेको देख्दा हुन् । हामीलाई भने आफ्नै क्रन्दन, उन्माद र पदचापले झकझक्याउँदो हो र यही भ्रममा हामी झन् तीव्र कुद्छौँ कि ठिक सामुन्ने लक्ष्य उभिएको छ, हाम्रो स्वागतमा । यता सपना भने मन्दमन्द मुस्कुराउँदो हो, परिहास गर्दै ।
ठिक यसरी त हो नि कहरसिंहले अटल रहेर आफ्नो परिवारलाई एक मात्र लक्ष्य मानेर ऋण लिएर केही गर्छु भन्ने सपना पछ्याउँदै परिवारसँग मिलनको लक्ष्य प्राप्त गर्छु भनेर प्रण गरेको । सपनाका पाइलाहरू पछ्याएको र हामी भने उसको सपनालाई भ्रम मानेर हिजो मात्रै त हो नि, मन्दमन्द मुस्कुराएको !
तर, उनको सपना सत्य साबित भएको छ । उनले सपना सजाएको ऋण प्राप्त गरिछाडेका छन् । परिवार पुनर्मिलनको लक्षित खुड्किलो पार गरेका छन् ।
ऋणको प्राप्तिपछि उनी धराने बंगुरको पाठापाठी किनेर कारोबार सुरु गर्न स्वीकृत सीमाको ५० प्रतिशत लोन रकम झिकेर लान्छन् ।
केही महिनापछि उनी ऋणको किस्ता तिर्न आउँछन् । खुसी हुँदै व्यवसाय फस्टाएको र अब बाख्राको खोर बनाउने र बाख्रा पनि किन्ने योजना रहेको बताउँदै बाँकी रकम पनि केही दिनमा लिन आउने जानकारी गराउँछन् ।
म तत्कालै भन्छु, “हैन, हामी पहिला तपाईंको व्यवसायको अनुगमन गर्छौँ । हामी आश्वस्त भएपछि मात्रै बाँकी रकम उपभोग गर्न पाउनुहुन्छ ।”
“हुन्छ सर । हजुर आउनुअगाडि खबर पाऊँ, म लिन आउँछु ।”
केही दिनपश्चात् म त्यो सुकुम्वासी टोलमा साइट भिजिटमा जाँदा उनले देखाएको ठाउँमा कुनै किसिमको व्यवसायको चिह्न समेत भेट्दिनँ । अनि, उसको बहिनीको घर खोज्दै पुगेर कहरसिंहका बारेमा सोध्छु ।
उनले भनिन्, “उनी त वाग्मतीमा नहर टोलमा बस्छन् । हिजोआज हाम्रो सम्पर्कमा छैनन् ।”
हामी कहरसिंहलाई फोन गर्छौं । तर, स्वीच अफ पाउँछौँ । त्यसपछि ऋण अपचलनको चिसो पस्छ ।
यद्यपि, केही दिन फोन सम्पर्कको प्रयास गरिरहँदा एक दिन रमेशजीले कुद्दै आएर भने, “सर, एउटा महिलाले फोन उठाएर ‘म कहरको श्रीमती हो, ऊ छैन’ भनेर फोन काटिन् ।”
त्यसपछि मैले सोचेँ– ऋण खानलाई बिहे गर्छु भन्नेले ऋण काढेर बिहे गरेछ । श्रीमती, बालबच्चाको मायाको कुरा फगत गफ मात्र रहेछ कहरसिंहको ।
एवम् प्रकारले समय बित्दै गर्दा एकाएक कोभिडका कारण लकडाउन सुरु भयो । हामीले कहर खोज्न समेत भ्याएका थिएनौँ । अल्टरनेट डेमा अफिस खोलेर काम भने सुचारु राखेका थियौँ ।
यातायात पूर्णतः ठप्प रहेको अवस्थामा पनि त्रैमासिक किस्ता मितिको अघिल्लो दिन झन्डै ३० किमि साइकल चलाएरै अफिसमा किस्ता बुझाउन आइपुग्छन् कहरसिंह । यो देखेर हामी खुसी हुन्छौँ ।
म उनलाई प्रश्न गर्छु, “यहाँ गर्ने भनेको व्यवसाय अन्यत्र बिनाजानकारी किन सार्नुभयो ? तपाईंले बैंकलाई जानकारी गराउनुपर्ने होइन ?”
कहरसिंह उत्तर दिन्छन्, “यता बहिनीज्वाइँले खोजेको चेलीलाई बिहे गरिनँ, मैले व्यवसाय गर्ने भनेर लिएको ऋण रकम उनीहरूलाई चलाउन दिइनँ भनेर मसँग रिसाए । उता काकाले मेरो अवस्था र व्यथा सम्झाएर बल्लतल्ल श्रीमतीलाई मसँग आउन तयार गराउनुभयो ।
आज बुढी मसँगै छे । उनलाई सहज हुने गरी मैले लिजमा लिएको जग्गामा उनका लागि बाख्राको खोर बनाइसकेको छु । अब उनका लागि बाख्रा किन्नु छ । म भने सुँगुरपालन नै हेर्छु ।
छोरी सदरमुकाममा बोहरा हजुरबासँगै बसेर पढ्दै छे । छोरा अझै मसँग बोलेको छैन । हेरम् । सर, लकडाउन हटेपछि आउनुस् न मेरो फार्म हेर्न ।”
लकडाउन सकिएर सहज हुनेबित्तिकै म कहरको फार्म हेर्न जान्छु । कहरसिंहको परिस्थितिजन्य उतारचढाव सुनेर मलाई एक किसिमको कौतूहल भएको थियो । उसको व्यापारभन्दा पनि उसको परिवार, श्रीमती हेर्ने इच्छा भएको थियो ।
त्यहाँ थोरै रकममा पनि जमेको व्यवसाय, तिनको प्रगति र लोग्नेस्वास्नीबीचको माया देखेर खुसीले आँखा रसायो ।
आज सन्तुष्ट हुँदै बुझेँ, जातीयताको अन्तद्र्वन्द्वमा जेलिएको सामाजिक पात्रहरूले कहरसिंहको जीवन जिउने भरोसा तोड्न कुनै कसर बाँकी राखेनन् । एक निश्चित अन्तरालपछि कहरसिंहको जिन्दगीबाट उनकी श्रीमती समेतले दिक्क मान्न थालेकी थिइन् । सम्भवतः त्यसबखत कहर सिंहको मुटु भक्कानिएको हुनुपर्छ । जिउँदै मरेतुल्य भएको हुनुपर्छ । त्यस्तो बेला धर्ती फाटोस् र त्यसमा भासिएर सीता बनाइदिए हुन्थ्यो जस्तो लागेको थियो होला कहरसिंहलाई ।
हरेस नखाई विविध प्रतिकूल परिस्थितिलाई चिर्दै केही कदम पछाडि हटेर फेरि डटेर सामना गर्नु नै जिन्दगी हो भन्ने कहर सिंहले साबित गरे ।