site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको गुनासो– नयाँ दलले पुरानालाई सम्मान गरेनन्
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको गुनासो गरेका छन् ।

नेपालमा राजनीतिक दलहरूले दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको उनको आरोप छ ।

Argakhachi Cement Island Ad

शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी संगठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरूले राख्न जरुरी रहेको बताए ।

"नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन, नेपालका पार्टी नेताहरू कोही पनि ठिक छैनन् । त्यसकारण नेपालमा बस्नुभन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञान वा मनोभावना वा त्यसलाई उत्प्रेरित गर्ने कोसिस भइरहेको छ । सच्चाइ त्यही बिल्कुल होइन," उनले भने ।

उनले अगाडि थपे, "सच्चाइ त्यसको ठिक उल्टो छ । नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको उनीहरूले नै हो । र, अहिले केही नयाँ नयाँ मानिसहरू हामी नयाँ, हामीले गर्छौं भन्ने ठाउँ दिएको पनि तिनै ठूला पार्टीहरूको त्याग, तपस्या र बलिदान हो । इमान्दारिता यही हुन्छ कि, नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन । नयाँ आएर बोल्नेहरूको जिम्मेवारी हुन्छ कि पुराना पार्टीहरूले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलडेको भए लोकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरू आउने वातावरण बन्न सम्भव थियो त ? बिल्कुल थिएन ।"

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्